५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

कान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना

विद्यार्थीलाई दुई वर्ष मोवाइल चलाउन निषेध
द नेप्लिज संवाददाता
४ साउन २०८२, आइतबार

विराटनगर– कान्तिपुर कलेज विराटनगरले कक्षा ११ मा एक हजार ६५ विद्यार्थी भर्ना लिएको छ । कलेजले सञ्चालन गरेको विज्ञान संकायमा ४०५, व्यवस्थापनमा ५१० र होटेल म्यानेजमेण्टमा १५० जना विद्यार्थी भर्ना भएको जनाएको छ । 

नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि सिटी प्यालेसमा आइतबार आयोजित अभिमुखीकरण तथा स्वागत कार्यक्रममा कलेजले दुई वर्ष विद्यार्थीहरुलाई मोवाइल चलाउन निषेध गरेको घोषणा गरेको हो । 

कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालले उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले भर्ना भएका विद्यार्थीहरुलाई पूर्ण अभिरुचीका साथ पूरा समय अध्ययनमा बिताउनु पर्ने भएकाले मोवाइल चलाउन निषेध गरिएको बताएका छन् । कलेजमा मधेस प्रदेशका सिरहा र सप्तरी र कोशी प्रदेशका विभिन्न जिल्लाबाट कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना भएका हुन् । नयाँ भर्ना भएका विद्यार्थीहरुमा ४ जीपीएसम्म ल्याएका विद्यार्थी छन् । 

‘एसईईमा ४ जीपीए ल्याएर प्रतिष्ठा कमाएका विद्यार्थीहरुको असली परीक्षा अब सुरु भएको छ,’ प्राचार्य नेपालले भने, ‘किशोरा अवथामा नै जीवनको भविष्य कोर्ने कक्षा ११ र १२ उतिर्ण गर्नुपर्ने भएको र यो शिक्षाले नै विद्यार्थीको उच्च शिक्षाको भविष्यसमेत निर्धारण गर्छ तर यो उमेरमा नै विद्यार्थीहरुमा अनेकौं इच्छा, आकांक्षा बढ्ने भएकोले पढाइमा मन लगाउन नसकिएको अवस्थामा बरालिएर जविन नै धारासायी बन्ने गरेको समाजमा अनेकौं उदाहरणबाट पाठ सिकेर अनुशासित भइ अघि बढ्नुपर्छ ।’ 

कार्यक्रममा प्राडा. तेजनारायण मण्डलले विद्यार्थीहरुलाई आफ्नो जीवनको भविष्य कोर्न र आमाबुवा, समाज र राष्ट्रको सपना पूरा गर्ने अभिभारा बोकेर विद्यार्थीहरु कक्षा ११ मा भर्ना भएको बताएका छन् । ‘विद्यार्थीहरु कलेजका शिक्षक तथा प्राध्यापकहरुको सल्लाह र सुझाब अनुसार अनुशासित भएर पूर्ण मनोयोगका साथ दत्तचित्त भएर कक्षा ११ र १२ अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘यो दुई वर्षको पढाइले नै स्नातक तहको कस्तो शिक्षा आर्जन गर्ने अवस्था निर्धारण गर्छ । राम्ररी अध्ययन गर्ने विद्यार्थीले चिकित्सक, इञ्जिनियर, चार्टर एकाउण्टेन्टलगायतका शिक्षा आर्जन गर्ने ढोका खोल्न सक्छ ।’

जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले शिक्षाको हबको रुपमा विकास भएको विराटनगरका विद्यालय र कलेजहरुले अनेकौं सपना बोकेर आएका विद्यार्थीहरुलाई पूर्ण शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरेर विराटनगरको शाख जोगाउनु पर्ने चुनौति रहेको बताए । उनले अहिलेसम्म कान्तिपुर कलेजलगायतका विराटनगरका कलेजहरुले अभिभावक र विद्यार्थीहरुको आशा र भरोसा जोगाउन सफल भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । अहिलेको एआई युगमा कलेजहरुले प्रविधिको उपयोग गर्दै आधुनिक शिक्षा प्रदान गर्नुपर्ने गड्तौलाको भनाइ थियो । उनले घोडालाई पानीमा लग्न सकिन्छ तर तिर्खा नलागेको अवस्थामा पानी खुवाउन नसकिने जस्तै पढाइप्रति ध्यान नदिने विद्यार्थीलाई जस्तोसुकै राम्रो शिक्षकले सिकाउन नसकिने भएकोले विद्यार्थीहरुमा जान्न चाहने, सिक्नुपर्ने, ज्ञान आर्जन गर्ने भोक मात्रै शिक्षक, प्राध्यापकले जगाउन सके पुग्ने बताएका थिए । 

कान्तिपुर एजुकेशनल फाउण्डेशनका अध्यक्ष खुशीराज श्रेष्ठले यस कलेजमा अध्ययनरत विद्यार्थीहरुमध्ये कानुन अनुसार ३ सय विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको र अहिले नयाँ भर्ना भएका विद्यार्थीहरुमध्ये पनि १० प्रतिशतलाई छात्रवृति प्रदान गर्ने बताएका छन् । कलेजको सुबिधा सम्पन्न आधुनिक भौतिक संरचना, गुणस्तरीय शैक्षिक वातावरण, विद्यार्थी केन्द्रित शिक्षण विधिमा भइरहेको पठनपाठनले अहिले भर्ना भएका नयाँ विद्यार्थीहरुको ज्ञानको भोक मेटाउन सक्षम रहेको उनको भनाइ थियो । कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई दक्ष शिक्षक, प्राध्यापकहरुबाट बढीभन्दा बढी ज्ञान आर्जन गरेर आफ्नो स्नातक शिक्षा आर्जनका लागि ढोका खोल्ने उद्देश्य पूरा गर्न उनले शुभकामना दिएका छन् । 

कार्यक्रममा कान्तिपुर माध्यमिक विद्यालयबाट ४ जीपीए ल्याएर एसईई उतिर्ण गरेका आयुसा कार्कीलगायतका विद्यार्थीहरुलाई सम्मान गरेका थिए । अवकास प्राप्त कलेजका चालकलाई ३१ हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गरेको छ । २०७२ सालबाट नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको कान्तिपुर कलेजले ११ औं अभिमुखीकरण कार्यक्रम आयोजना गर्न सफल भएको छ । कलेजबाट यस वर्ष कक्षा १२ को  एक हजार ६३ जना विद्यार्थीले परीक्षा दिएर विदा भएका छन् । 

प्रकाशित : ४ साउन २०८२, आइतबार 17:19
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved