४ साउन २०८२, आइतबार 20 Jul 2025, Sunday

‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’

द नेप्लिज संवाददाता
१ साउन २०८२, बिहीबार

विराटनगर– नेपाल–भारत मैत्री युवा संघले विराटनगरमा आयोजना गरेको ‘नेपालको विकासमा भारतीय लगानीको भूमिका’ विषयक अन्तरक्रियागोष्ठीका वक्ताहरुले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न नसक्ने बताएका छन् । 

गोष्ठीमा नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँडले नेपाल–भारतबीचको सम्बन्ध नागरिक तहमा रहेकोले यसलाई कसैले तोडन नसक्ने बताएका हुन् ।  ‘नेपालको विकासका लागि भारत सरकारले देखाउनु भएको अभिरुचीका लागि धन्यवाद् दिन चाहन्छु,’ उनले भने, ‘नेपालको सडकहरु, विद्यालय, स्कूल भवन, आईसीपीलगायतका भौतिक संरचनाको विकासमा भारत सरकारको अभूतपूर्व योगदान छ ।’

नेपालमा धार्मिक पर्यटनको विकास गरेर समृद्धीको ढोका खोल्नु पर्ने नेता खाँडले बताएका छन् । ‘नेपालको धार्मिक पर्यटनको विकासका लागि भारतीय पर्यटक भित्र््याउन नेपाल सरकारले सुबिधाहरुको विस्तार गर्नुपर्छ,’ उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाइ नेपालको विकासमा भारतीय लगानी केन्द्रित गर्नुपर्ने अहिलेको आवश्यकता छ र भविष्यमा पनि रहनेछ ।’

भारतीय सांसद प्रदिपकुमार सिंहले भारत र नेपालबीचको समस्या समाधानका लागि कुराकानी, छलफल र संंवाद अपरिहार्य रहेको र हामीले नेपालतर्फको समस्यालाई दिल्लीसम्म र नेपालका सांसदले काठमाडौंसम्म पुर्‍याएर समस्या समाधानमा भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले नेपालमा देखिएको समस्याको बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले वार्ता गराउन तयार रहेकोले नेपाली नेताहरुलाई भारत आउन आह्वान गरेका हुन् । उनले भारतले नेपालको विकासका लागि सदैव तत्पर रहेको पनि बताएका छन् । सांसद सिंहले भारत सरकारले राम जन्मभूमि अयोध्यामा राम मन्दिर बनाइसकेकोले अब सीता माता जन्मेको सितामढीमा पनि सीताको मन्दिर निर्माण थालेको बताएका थिए । 

सांसद सिंहले नेपाल र भारतका नागरिकबीच वैवाहिक सम्बन्ध रहेकोले दुबै देशका नागरिक एउटै परिवार रहेको बताएका छन् । उनले एउटै परिवारमा कसैलाई कुनै समस्या पर्दा एकअर्कालाई सहयोग गरेर समाधान गर्ने परम्परा रहेको बताएका हुन् । त्यसैले नेपालको समस्या समाधानमा भारत सरकार तयार रहेको सांसद सिंहको भनाइ थियो । 

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नेपालमा आउने भारतीय पर्यटकहरुलाई नेपाली सुरक्षाकर्मीले जाँचको बहानामा पैसा थुत्न दिने दुःख तत्काल रोक्नु पर्ने बताएका छन् । उनले नेपाल र भारतको जनताबीचमा रोटीबेटीको सम्बन्ध भए पनि भारत र नेपाल सरकारबीच बिग्रेको सम्बन्ध सुधारमा जोड दिएका थिए । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको लामो समय बित्न लाग्दासम्ममा पनि भारत सरकारले भम्रणका लागि निम्तो नदिएको भन्दै आपत्ति जनाएका थिए । 

भारतका सांसद सिंहले नेपाल र भारत एउटै परिवार रहेको अभिव्यक्ति दिएकोबाट नेपाल र भारतबीचको पौराणिक सम्बन्धलाई उजागर गरेको यादवले बताएका छन् । उनले एउटै परिवारमा कोही कमजोर भएको अवस्थामा बलियोले सहयोग गर्नुपर्ने परम्परा भारतले निर्वाह गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । 

भारतको बिहारका बिधायक विद्यासागर केसरी (मन्जन केसरी)ले नेपाल–भारत मैत्री युवा संघ स्थापना गरेर नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि गरिरहेको प्रयास अत्यन्तै सराहनीय रहेको बताएका छन् । उनले नेपाल र भारतबीचको पौराणिक सम्बन्धलाई अझै मजबुत बनाइ राख्न सानो मसिनो समस्याहरुलाई वार्ता, छलफलमार्फत समाधान गर्नुपर्ने बताएका हुन् । 

बिहारकी पूर्वविधायक दैवन्तीदेवी यादवले नेपाल र भारतबीचको सम्बन्ध नागरिक स्तरको रहेकोले दुई देशका सरकारले चाहेर पनि तोड्न नसक्ने बताकी हुन् । उनले नेपाल र भारतको सीमावत्र्ती क्षेत्रमा लागूऔषधको बढ्दो प्रयोगले युवा पिढीको विनास भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले दुबै देशका सुरक्षा निकाय र नागरिकले मिलेर लागूऔषधको प्रयोगलाई निस्तेज पार्दै नियन्त्रण गर्नुपर्ने बताइन् । 

कार्यक्रममा संविधानसभा सदस्य तथा प्रदेश सांसद अमृत अर्याल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनिल साह, दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदारले भारत सरकारबाट भइरहेको समस्या समाधानमा राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

नेपाल–भार मैत्री संघका महासचिव कृष्णा सिंहले युवा संघको स्थापना र निर्वाह गर्दै आएको भूमिकाको बारेमा जानकारी गराएका थिए । यस्तै, नेपाल–भारत मैत्री युवा संघ मोरङका अध्यक्ष मो. नसरुलले युवाको काँधमा नै देश परिवर्तको अभिभारा रहेकोले युवाहरु मिलेर देश विकासमा लाग्नुपर्ने बताएका छन् । उनले कोशी प्रदेशमा पर्यटनको क्षेत्रमा कम गर्न सकेको अवस्थामा समृद्धिको बाटोमा अघि बढ्ने बताएका हुन् । उनले पर्यटन वर्षको नाममा कोशी सरकारले भारतीय गाडीमा स्टिकर टाँस्ने नाममा ५ सय रुपैयाँ थप सुल्क लगाएकोबाट भारतीय पर्यटक निरुत्साहित भएको बताएका थिए । 

कार्यक्रममा संविधान सभा सदस्य तथा उद्योग परि संघ कोशी अध्यक्ष पवन सारडा, संविधानसभा सदस्य आशा सरदार, जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साहको उपस्थिति रहेको थियो । यस्तै, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष तथा समाजसेवी राजेश गुप्ता, कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्द्या कार्की, प्रदेश योजना आयोग सदस्य प्रमिला गच्छदार, नेता प्रेम थापा,  उमेश यादव, रन्जित झा, सदिना खातुन, मृत्युंजय मिश्रा, सलिम अन्सारी, केशरमान गुरुङ, सत्यप्रकाश लुनिया, कुन्दन पौदार, अजय दुबे, पवन‌ सिंह, प्रभात सिंह, रुस्तम अलि, शंकर साह, श्याम मण्डललगायत नेपाल र भारतका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, व्यापारी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवीको उपस्थिति रहेको थियो । 

प्रकाशित : १ साउन २०८२, बिहीबार 23:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved