विराटनगर– भारत र पाकिस्तानबीचको तनाव चुलिँदा चीनका रक्षा कम्पनीहरूको सेयर मूल्य एकाएक उकालो लागेको देखिएको छ। विशेष गरी ती कम्पनीहरूको सेयरमा चाप बढेको हो जसले पाकिस्तानलाई लडाकु विमान तथा अन्य हतियार आपूर्ति गर्दै आएका छन्।
यस्ता कम्पनीमध्ये एक हो — जे–१०सी लडाकु विमान उत्पादन गर्ने 'एभिक छेङ्दु एअरक्राफ्ट कर्पोरेशन'। पाकिस्तानका विदेशमन्त्री इसहाक डारले वैशाख २५ मा संसद संवोधनमा भारतको रफाल विमान खसाल्न जे–१०सी प्रयोग गरिएको' दाबी गरेपछि सो कम्पनीको सेयर अझै चुलिएको थियो। भारतले भने यस विषयमा कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन।
चीनले औपचारिक रूपमा यसमा मौनता अपनाए पनि युद्धको समयमा आफ्ना हतियारको प्रभावकारिता परीक्षणका रूपमा यसलाई हेरिएको विश्लेषकहरूको भनाइ छ। ब्लूमबर्ग इन्केलिजेन्सका रक्षा विश्लेषक एरिक झूका अनुसार चीनमा उत्पादित अधिकांश आधुनिक हतियार अझै युद्धमैदानमा प्रयोग भएर परीक्षण भएका छैनन्। पाकिस्तानमा यस्ता हतियारको प्रयोगले तिनको निर्यात क्षमतामा ठूलो प्रभाव पार्न सक्छ।
चीनले विगत चार दशकदेखि कुनै ठूलो युद्ध लडे पनि राष्ट्रपति सी चिनफिङको नेतृत्वमा उसको सेना सुदृढ बनाउने र अत्याधुनिक हतियार उत्पादनमा कुनै कसर बाँकी राखिएको छैन। तीमध्ये धेरै हतियार पाकिस्तानले खरिद गर्दै आएको छ।
स्टकहोमस्थित अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था (सिप्रि) का अनुसार सन् २०२० देखि २०२४ सम्म पाकिस्तानले आयात गरेको कुल हतियारमध्ये ८१ प्रतिशत चीनबाट आएको छ। यो पाँच वर्षअघि २०१५–१९ को अवधिको तुलनामा पाकिस्तानले हतियार खरिदमा ६१ प्रतिशत वृद्धि गरेको देखिन्छ।
पाकिस्तानले चीनबाट जे–१०सी, जेएफ–१७ थन्डरजस्ता लडाकु विमान, पीएल–१५ नामक लामो दूरीको मिसाइल, एचक्यु–९ जस्ता हवाई सुरक्षा प्रणाली, विंग लुङ–दुई तथा सीएच–४ जस्ता ड्रोनलगायतका आधुनिक रक्षा सामग्री लिएको छ। यीमध्ये केही सामग्री पाकिस्तानमै बनाइएका भए पनि तिनमा चीनको प्रविधि प्रयोग गरिएको छ।
भारत सन् २०१५ देखि २०१९ को तुलनामा पछिल्लो पाँच वर्षमा ९.३ प्रतिशतले कम हतियार आयात गर्दै आएको छ। यद्यपि भारत अझै पनि विश्वकै दोस्रो ठूलो हतियार आयातकर्ता देश हो। पछिल्लो पाँच वर्षमा भारतले सबैभन्दा धेरै ३६ प्रतिशत हतियार रुसबाट आयात गरेको छ भने दोस्रो स्थानमा फ्रान्स (२८ प्रतिशत) छ।
सिप्रिका अनुसार एशिया र ओसियानिया क्षेत्र सन् २०२०–२४ को अवधिमा सबैभन्दा धेरै हतियार आयात गर्ने भूभाग बनिरह्यो। यसको प्रमुख कारण चीनप्रतिको आशंका रहेको विश्लेषण गरिन्छ।
पाकिस्तानले चीनसँगको सम्बन्ध सुदृढ गर्न भारत–पाक युद्ध (सन् १९६५) पछि रक्षा क्षेत्रमा सहयोग बढाएको हो। सन् १९६६ देखि चीनले पाकिस्तानलाई लडाकु विमान, ट्याङ्कर, तोपलगायत आपूर्ति गर्दै आएको छ।
वर्तमानमा पाकिस्तानसँग रहेका प्रमुख चिनियाँ हतियार यस्ता छन् :
लडाकु विमान : जे–१०सी, जेएफ–१७ थन्डर
मिसाइल : पीएल–१५ (लामो दूरीको हवाई मिसाइल)
ड्रोन : विंग लुङ–दुई, सीएच–४
हवाई सुरक्षा प्रणाली : एचक्यु–९, एचक्यु–१६, एफएन–१६
पनडुब्बी : हङगोर श्रेणीका आठ पनडुब्बी (सन् २०१५ को सम्झौता)
ट्याङ्क : अल–खालिद ट्याङ्क (संयुक्त निर्माण)
रक्षा विश्लेषक राहुल बेदीका अनुसार चीन–पाकिस्तान सम्बन्ध समयसँगै अझ प्रगाढ हुँदै गइरहेको छ। 'पछिल्लो झडपमा पाकिस्तानले प्रयोग गरेको पीएल–१५ मिसाइल पश्चिमी देशहरूसँग तुलनामा बढी उन्नत मानिन्छ,' उनले भने। साथै चीनको ‘वान बेल्ट वान रोड’ परियोजना र ग्वादर बन्दरगाहका कारण पनि पाकिस्तान उसलाई रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण देखिन्छ।
भारत र पाकिस्तानबीच सन् १९४७ पछि कश्मीर विषयमा तीन पटक युद्ध भइसकेको छ। तीमध्ये सबैजसो अवस्थामा चीनले पाकिस्तानको समर्थन गर्दै आएको देखिन्छ। पछिल्लो झडपमा पनि चीनले ‘शान्ति र संयम’ अपनाउन भारतलाई आग्रह गरेकै दिन पाकिस्तानका विदेशमन्त्रीसँग कुराकानी गर्दै आफ्नो अटुट समर्थन दोहोर्याएको थियो।
राहुल बेदीको भनाइमा, 'लडाइँ पाकिस्तानले गरे पनि वास्तवमा यो चीन र पश्चिमी हतियारबीचको युद्धको मैदानजस्तै बन्यो। पहिलोपटक पीएल–१५ मिसाइलको प्रयोग, चिनियाँ विमान र फ्रान्सेली रफालबीचको प्रतिस्पर्धा यसका प्रमाण हुन्।'
प्रेक्षकहरूका अनुसार चीन र अमेरिका नेतृत्वको शक्ति सन्तुलनको लहरमा अब भारत र पाकिस्तानबीचको द्वन्द्व पनि प्रभावित भइरहेको छ। भारतका रणनीतिक साझेदारहरू जस्तै अमेरिका, फ्रान्स र इजरायलबाट हतियार खरिद वृद्धि हुनु यसको एउटा संकेत हो।
#चीन
विश्व/प्रवास
अष्ट्रेलियाको नयाँ मन्त्रिमण्डलमा आधी महिला
द नेप्लिज संवाददाताअमेरिका–चीन सम्बन्ध सुध्रिने संकेतसँगै डलर र युआनको मूल्य उकालो
द नेप्लिज संवाददाताहमासद्वारा इदान एलेक्जेन्डरको रिहाइ
द नेप्लिज संवाददातायुद्धविराममा अमेरिकाको भूमिकामा मोदी मौन
द नेप्लिज संवाददाताचीनले पाकिस्तानलाई उक्साइ रहँदा...
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares