१६ असार २०८२, मङ्गलबार 01 Jul 2025, Tuesday

‘आमनागरिकको आशा र भरोसाप्रति खरो उत्रेलान् डा. शेखर कोइराला’

नरेश कुमार यादव
१५ असार २०८२, सोमबार

मधेस– राज्य सञ्चालनका लागि उत्तम व्यवस्था ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को मुलुकमा अभ्यास भइरहेको छ । मुलुमा जनताद्वारा जनताका लागि जनताको उत्तम शासन व्यवस्था चलिरहेको छ । जनताले आवधिक निर्वाचनद्वारा जनप्रतिनिधिलाई निर्वाचित गराएर शासन सत्तामा पुर्याउँदै आएका छन् । तर जनप्रतिनिधि अर्थात् राजनीतिक नेतृत्वको कार्यशैलीले आम जनता मुलुकमा निराश छन् । मुलुकमा व्याप्त बेरोजगारीले युवा जनशक्ति दैनिक रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । मुलुकको अर्थतन्त्र धाराशायी बन्दै गएको छ । भ्रष्टाचार चरम सीमामा पुगिसकेको छ । दण्डहिनताले सामाजिक न्यायको अनुभूति आमनागरिकले गर्न पाएका छैनन् । मुलुकमा कानूनी राज्यको स्थापना हुन नसकेको सर्वविदितै छ । 

शासन सत्ताको बागडोर सम्हालेका राजनीतिक नेतृत्व आफ्ना नाता, सम्बन्ध, परिवारका सदस्यहरुलाई राज्य निकायमा स्थापित गर्दै भ्रष्टाचारमा लिप्त छन् । राजनीतिक संरक्षणमा दण्डहिनता मौलाएको छ । जसको फलस्वरुप आमनागरिकको असन्तुष्टि सडकमा पोखिन थालेको छ । राजनीतिक नेतृत्वहरुलाई भ्रष्ट, लुटेरा, अपराधीको दर्जामा राखेर हेरिरहेका छन् । राजनीतिक नेतृत्वको चरित्र नसुध्रिदा मुलुकको उत्तम शासन व्यवस्था नै धरापमा पर्दै गएको छ । त्यसैले अहिले मुलुकमा कुशल, योग्य, इमानदार राजनीतिक नेतृत्वको आवश्यकता छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पालैपालो मुलुकको शासन व्यवस्था सम्हाल्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले देशको बागडोर सम्हाल्दै आएका हुन् । देशको शासन सत्ता उहाँहरुको लागि ‘म्यूजिकल कुर्सी’ नै भएको छ । उनीहरुको कार्यशैलीले नै  आमनागरिक निरास बन्दै असन्तुष्ट र आक्रोशित छन् । मुलुकमा अहिले भएको शासन व्यवस्था नै उत्तम शासन व्यवस्था भएकोले यसको विकल्प आमनागरिकसँग छैन त्यसैले आमनागरिकले राजनीतिक दलमा नेतृत्व गर्दै आएका परम्परागत सोच भएका वृद्ध, पूरानो पुस्ताबाट नयाँ पुस्तामा दलको नेतृत्व आउनु पर्ने स्वर मुलुकभरि गुञ्जयमान भइरहेको छ । 

अहिले शासन सत्ता सम्हालेका मुलुकका सबभन्दा ठूला दल कांग्रेस र एमालेसँगै प्रमुख प्रतिपक्षी दल माओवादी पार्टीका नेतृत्वहरुलाई स–सम्मान पार्टी नेतृत्वबाट बहिर्गमन गरेर नयाँ पुस्ताको हातमा नेतृत्व पुर्याउने नेता, कार्यकर्ताहरुमा चर्को बहस भइरहेको छ । यसैको परिणस्वरुप एमालेमा पूर्वराष्ट्रपति विद्यादवी भण्डारी, माओवादीमा जनार्दन शर्मा, कांग्रेसमा शेखर कोइराला गायतका नेताहरुलाई पार्टीको नेतृत्वमा ल्याउन चर्को बहस भइरहेको छ । एमाले र माओवादी पार्टीको नेतृत्वमा ल्याउन खोजिएका पूर्वराष्ट्रपति भण्डारी र शर्मालगायतका नेताहरु देशको शासन सत्ता सञ्चालनमा पटक पटक सहभाागी भइसकेकाले उनीहरुबाट मुलुकमा सुशासन, रोजगारी, कानुनी राज्यको स्थापना हुन्छ भन्नेमा आमनागरिक सशंकित नै देखिएका छन् । 

तर कांग्रेसको नेतृत्वका लागि बहस भइरहेको नाम ‘डा. शेखर कोइराला’ प्रति आमनागरिकको ठूलो आशा, भरोसा र विश्वास देखिएको छ । कांग्रेसको सम्भावित नेतृत्वमा शेखर कोइरा भने निर्विकल्प नाम होइनन् । उनीसँगै कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला, वर्तमान उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको नाम पनि सँगै आइरहेको छ । तर शशांका कोइरालाले महामन्त्री हुँदा पार्टी सञ्चालनका लागि निर्वाह गर्नुभएको भूमिका प्रभावकारी नभएको भन्दै अनेकौँ प्रश्न उठिरहेको छ । उपसभापति खड्का र महामन्त्री थापा दुबै जना मन्त्री भइसकेका छन् । उहाँहरु मन्त्री हुँदा आमनागरिकमा आशाको सञ्चार गराउन नसकेको र परम्परागत शैलीमा नै थोरै प्रगतिशिल भएर मन्त्रालयको कामकाज अगाडि बढाएकाले पार्टीभित्रको नै नेता तथा कार्यकर्ता उत्साहित छैनन् । साथै उपसभापति खड्का र महामन्त्री थापा अहिले पनि पार्टीभित्र प्रमुख जिम्मेवार पदमा बसेर पनि परिवर्तनकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचित भइरहेका छन् । त्यसैले कांग्रेसको आउँदा १५ औँ महाधिवेशनबाट पार्टी सभापतिमा डा. शेखर कोइराला निर्विकल्प पात्रको रुपमा देखिएका छन् । 

वर्तमान परि‌वेशलाई हेर्दा नेपाली राजनीतिमा डा. शेखर कोइरा‌ला अग्रपंक्तीमा स्थापित हुँदै गइरहेको अवस्था पनि छ। नेपाली जनताले अबको राजनेताको रुपमा डा. शेखर नै हो भन्ने कुराको व्यापक चर्चा भैरहेको छ किनभने नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको राजनीतिक अवस्था पार्टीको विधान अनुरुप अन्ततिर गैसकेको छ । उहाँले पार्टी विधान अनुसार दुई पटक पार्टीको नेतृत्व के कसरी गर्नुभयो त्यसको बारेमा अब कांग्रेसीजनले बोलिरहनुको औचित्य रहेन । पार्टीका नेता तथा कार्यकर्ताले सभापति देउवालाई पार्टीबाट सम्मानजनक बहिर्गमन खोजेका छन् । सम्मानजनक बहिर्गमनका लागि सभापति देउवाले तोकिएको समयमा पार्टीको महाधिवेशन गराउनु पर्छ । समयमा महाधिवेशन गराउन नसकेको अवस्थामा उहाँको बहिर्गमन सुखद नहुने निश्चित छ । 

तर अब आउँदो १५ औँ महाधिवेशनबाट पार्टीको कमाण्ड सम्हाल्ने व्यक्तिमा डा. शेखर अग्रपंक्तिमा देखिएका हुन् । त्यसका पनि विभिन्न कारणहरु छन् । अहिलेसम्म डा. शेखर कोइराला एक मात्र नेता हुन् जो निष्कलंक छन् । उहाँले अहिलेसम्म पार्टीमा कार्यकारी पद र सरकारको मन्त्री पद सम्हाल्नु भएको छैन । तर उहाँले पार्टी, देश र जनताका पक्षमा निर्वाह गर्दै आएको भूमिका कसैबाट लुकेको छैन । त्यसलाई पार्टीका कार्यकर्ताहरुले गम्भीरतापूर्वक मनन गरिरहेका छन् । पदमा नै नबसेर पार्टी वा सरकारको गलत कामको बारेमा खुट्टा नकमाउने, आफ्ना बिचार प्रष्टसँग राख्ने, चाहे पार्टीका नेताले पार्टीभित्र गल्ती गरेका होस् वा सरकार सञ्चालनमा भएका त्रुटी होस्, उहाँले पार्टी र सरकारभित्र भएका गल्ती र कमीकमजोरीको बिरोधमा खुलेर निर्भिक्ताका साथ प्रष्ट धारणा राख्दै आउनुभएको छ । चाहे पार्टीमा स्पष्टीकरण सोध्ने चर्चा होस् वा कारवाहीको नै किन नहोस् त्यसबाट उहाँ कति पनि बिचलित हुनुभएको छैन ।  

त्यति मात्रै होइन उहाँको एउटा अर्को पनि निष्पक्षता के हो भने आफ्नै समूहका मान्छेलाई पनि गलत काम गरेमा गलत भैरहेको कुरा प्रष्ट साथ भनिहल्नुहुन्छ र गलत काम रोक्ने प्रयास पनि गर्नुहुन्छ । त्यसकारण यसबाट के प्रष्ट हुन्छ भने डा. शेखर सभापति भएमा सबै कार्यकर्ताको उचित मूल्यांकन हुनेछ । त्यसमा कुनै दुबिधा देखिदैनन् । यी सबै कुराको मूल्यांकन गरेर पार्टीको कार्यकर्ताहरु र देशवासीको आशा र भरोसाको केन्द्र उहाँ बन्न सफल भइसक्नु भएको छ ।

डा. शेखरले मुलुकको समृद्धिका लागि अघि सारेका कृषि क्षेत्रमा यान्त्रिकीकरणका साथै आधुनिक तरिकाले व्यवसायिक खेति, उत्पादन, प्रशोधन र प्रभावकारी बजारीकण, जलविद्युत र सोलर प्रणालीबाट विद्यत उत्पादन, पर्यटन क्षेत्रको विकास र गुणस्तरीय व्यवसायिक शिक्षा गरी चार सुत्रले पनि आमनागरिकलाई आशावादी बनाएका छन् । उहाँले मुलुकमा सुशासन, कानूनी राज्यको स्थापना र रोजगारीका लागि वकालत गर्दै आउनुभएको छ । 

उहाँले पार्टीभित्र सबैलाई सम्मानजनक रुपमा सम्बोधन गर्दै अघि बढ्ने रणनीति लिएको प्रति पनि नेता तथा कार्यकर्ता उत्साहित बन्दै गएका छन् । सभापति देउवाले पार्टीको नेतृत्व सम्हालेपछि निर्वाचनमा हार व्यहोरेको बेला होस् वा सरकारको नेतृत्वमा कांग्रेस पुग्न नसकेको बेला होस्, उहाँले पार्टीभित्र नेता तथा कार्यकर्ताहरुलाई निरास हुन नदिन देश दौड्हा गर्दै आउनुभएको सर्वविदितै छ । उहाले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दिँदै आउनु भएको आड र भरोसाले नै अहिलेसम्म पार्टीबाट नेता तथा कार्यकर्ताको पलायन हुने क्रम सुरु भएको छैन । डा. शेखरप्रति देशको नै आशा टिकिरहेको बेला उहाँलाई खरो उत्रिनु पर्ने चुनौति छ । 

डा. शेखरले पार्टीका नेता तथा कार्यकर्तालगायत आमनागरिकको आशा र भरोसका साथै देशको शासन व्यवस्था अक्षुण राख्न र समृद्ध मुलुक निर्माणका लागि पहिलो कार्य पार्टीको १५ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्नुको विकल्प छैन । उहाँले कुशलतापूर्ण तरिकाले नीति, रणनीति बनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनमार्फत पार्टीको नेतृत्वको कमान थाम्नु देश र जनताको लागि अपरिहार्य छ । उहाँको यो अभियानमा एकआपसमा हातेमालो गर्दै काँधमा काँध मिलाएर सबैलाई अघि बढ्नु आवश्यक छ । (लेखक मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य हुन्)

प्रकाशित : १५ असार २०८२, सोमबार 08:04
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved