३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

गहुँ काट्ने तरखरमा छौँ भने...

द नेप्लिज संवाददाता
२ वैशाख २०८२, मङ्गलबार

Advertisement

विराटनगर– मौसमविद्हरुले मंगलबार र बुधबार वर्षाको सम्भावना कम भए पनि बिहीबारदेखि आइतबारसम्म धेरै स्थानमा वर्षा हुने बलियो सम्भावना रहेको बताएका छन् ।

गहुँ काट्ने तयारीमा लागेका किसानका लागि यही दुई दिन (मंगलबार–बुधबार) सुरक्षित देखिन्छ । त्यसपछि आइतबारसम्म वर्षा हुने भएकाले हतार नगर्दा पनि अर्को साता राम्रो समय आउँछ । यति बेलामा मौसमको सटिक जानकारी र समयमै निर्णय नै किसानको लाभमा परिणत हुने देखिन्छ ।

यस्तो अवस्थामा गहुँ, तोरी र मसुराजस्ता बाली भित्र्याउने तयारीमा रहेका किसानहरूका लागि मौसम सतर्कता अत्यन्त आवश्यक बनेको छ । उनीहरुका अनुसार यदि गहुँ बाली काट्न र भित्र्याउन लागेका छौं भने  या त मंगलबार र बुधबार नै काम सक्नुस्, नत्र अर्को साता मौसम फेरी खुल्ने देखिएको छ ।

मौसम विज्ञान विभागले बिहीबारदेखि देशभर आंशिकदेखि सामान्य बदली रहने, पहाडी तथा उच्च हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने चेतावनी दिएको छ । उच्च स्थानमा हिमपातको सम्भावनासमेत रहन सक्ने जनाएको छ।

तराई र पहाडी भेगका किसान अहिले गहुँ काट्ने, दलहन र तेलहन भित्र्याउने चटारोमा छन् । यस्ता बेला आकस्मिक वर्षा वा असिनाले बालीमा ठूलो क्षति पुर्याउन सक्छ । गत वर्ष पनि यस्तो समयमा वर्षाका कारण धेरै ठाउँमा बाली नोक्सानी भएको स्मरणीय छ ।

कृषिविज्ञहरूका अनुसार मौसम सम्बद्ध सूचना किसानले दैनिक आधारमा बुझ्ने र अनुकूल समयमै बाली भित्र्याउने अभ्यासले उत्पादनमा हानि हुनबाट जोगाउन सकिन्छ । विभागले उपलब्ध गराउने क्षेत्रीय र दैनिक पूर्वानुमानको प्रयोग खेती प्रणालीमा जोडिनुपर्ने आवाज अझै बलियो हुँदैछ ।

देशका अधिकांश भागमा पश्चिमी र स्थानीय वायुको प्रभावले गर्दा आगामी दिनहरूमा मौसम परिवर्तनशील रहने प्रक्षेपण गरिएको छ । विभागका अनुसार हाल कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी स्थानमा आंशिक बदलीसहित घाम लागिरहेको छ ।

काठमाडौं उपत्यकासहित केही सहरमा मंगलबार दिउँसो घाम लागेको छ । ताप्लेजुङ, ओखलढुंगा, जिरी र पोखरामा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मंगलबार धनगढीमा सबैभन्दा धेरै तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने देखिएको छ भने जिरीमा रातको समयमा तापक्रम चार डिग्रीसम्म झर्ने अनुमान गरिएको छ । 

प्रकाशित : २ वैशाख २०८२, मङ्गलबार 13:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved