४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

अपराध

आफन्त र नजिककैबाट असुरक्षित

८० प्रतिशत जघन्य अपराध नजिकको आफन्तबाट
२५ माघ २०८१, शुक्रबार

विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्या पछि गाडिएको अवस्थामा शव भेटिए पछि घटनाको अनुसन्धान गर्दै प्रहरी ।

Advertisement

पारिवारिक किचलो र मायामा धोका हत्याको कारण 

विराटनगर– मान्छेले आफूलाई कहाँ सुरक्षित ठान्छ ? पक्कै पनि परिवार, आफन्त एवं निकटजनको माझ । तर पछिल्लो समय घरेलु विवादमा आफन्तबाटै मारिने घटनाले भने पारिवारिक अपराधको डरलाग्दो चित्र प्रस्तुत गर्छ । कोशी प्रदेशमा यस्तो अपराध ह्वात्तै बढेको प्रहरीकै तथ्यांकले भन्छ । 

भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दा आवेशमा यो जघन्य अपराधमा परिणत हुन्छ ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सुरक्षा अधिकारीहरूका अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ । 

चाँदनी यादवको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको बालिकाको आफन्तहरु । तस्बिर सौजन्य : मोरङ प्रहरी

हालै विराटनगर–५, विशालचोकमा किशोरी चाँदनी यादवको हत्या पछि आमाबुबा एवं मामलीतर्फका आफन्तले चारफिट गहिरो खाडल खनेर गाडेको खुल्यो । प्रेमिबाट छुटाउन परिवारले मिलेर उनलाई मारेको थियो । मामली घरदेखि १२५ मिटर उत्तर खाल्डोमा  शुक्रबार चाँदनीको शव फेला परेको थियो । उनको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो साता आमा राजकुमारी र दाजुसँग मावली विराटनगर आएकी थिइन् ।

आमा घर आएको एक महिना पछि ११ माघमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरुबाट घटनाका बारेमा थप तथ्य खुल्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले भनेका छन् । 

परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन 

‘भारतमा प्रेम सम्बन्ध रहेकासँग एक पटक भागे पछि चाँदनीको मातापिताले छुटाउने उद्देश्यले फकाएर मामाघर ल्याएका रहेछन् ।  तर, ती प्रेमीसँग छुट्न नसक्ने भने पछि रिसको झोंकमा परिवारले उनको इहलीला समाप्त गरे पछि यो अपराध लुकाउन शव गाडेको पाइयो,’ एक अनुसन्धान अधिकृतले भने ।

 अहिले चाँदनीको आमाबुबा, हजुरबुबा, हजुरआमा, मामा र माइजु समेत ६ जनालाई प्रहरीले पक्राउ गरी मोरङ अदालतमा आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

यस अगाडि ७ चैतमा मोरङको बेलबारी–१ मा घरायसी विवादमा श्रीमतीको हत्या गरेर श्रीमान ६५ वर्षीय बमबहादुर लिम्बूले पनि आत्महत्या गरे  । धारिलो हतियार (दाउ) प्रहार गरेर श्रीमती ४५ वर्षीया गीता लिम्बूलाई समाप्त पारे पछि उनले त्यसैले घाँटी रेटेर आत्महत्या गरेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ । 

उक्त घटनाको केही दिन अगाडि २ चैतमा विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत २५ वर्षीय नर्स चन्द्रिकाकुमारी दासलाई  उनकै प्रेमीले मारे । उनले पनि आत्महत्या गरे । सिराहाको लाहान नगरपालिका–२१ मोतिपुरका २२ वर्षीय शिवशंकर दासले उक्त घटनाको तीन दिन पछि आत्महत्याको मार्ग रोजेका थिए । प्रेममा धोका पाए पछि सहन नसकि शिवशंकरले यो अक्षम्य अपराध गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीका अनुसार उक्त जोडी चार वर्षदेखि प्रेममा थिए ।  उनीहरू नातामा सोल्टा–सोल्टिनी हुन् ।

गत वैशाखमा शिवशंकर रोजगारका लागि मलेसिया पछि चन्द्रिका सिराहाका सीएमए अमित धानुकसँग प्रेम सम्बन्ध कायम गरेको प्रहरीले जनाएको छ । प्रेममा धोका पाए पछि विक्षिप्त शिवशंकरले मलेसियादेखि आएर प्रेमिकाको ज्यान लिएको प्रहरीले जनाएको छ । शिवशंकर २७ फागुनमा काठमाडौं आए । घर नगइ सिधै  विराटनगर आए । मलेसिया बाट आएर पनि तीन दिन सँगसँगै बसेका शिवशंकरले अपराध गरेको दुई दिन सम्म भारतमा बसेर फर्कि आत्महत्या गरेका थिए ।

यस्तै गत फागुन २० मा सञ्जना नामले चिनिने १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्या पनि उनकै प्रेमीले गरे । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा बस्दै आएकी राईको हत्या बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने मोरङ ग्रामथान गाउँपालिकाका ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीले गरे । उनीहरू पनि केही समयदेखि प्रेम सम्बन्धमा थिए । विवाहित चौधरीका श्रीमती चार वर्षदेखि कतारमा रोजगार गर्दैछिन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभए पछि सामाजिक संजाल मार्फत किशोरीसँग चिनजान पछि नजिकिएको प्रहरीले जनाएको छ । बालिका राई मामाको छोराको घरमा बस्दै आएकी थिइन् । उमेर अन्तरका कारण मामा–माइजुले विहा गर्न नमाने पछि खाँले थुलुङको हत्या गरेका थिए । 

१४ जिल्ला रहेको कोशी प्रदेशमा पछिल्लो एक वर्षमा दर्ता भएका ८ हजार ७ सय २४ वटा मुद्दा मध्ये ३ हजार ८ सय १८ मुद्दा छिनोफानो भएको छ ।  प्रदेश प्रहरी कार्यालयका अनुसार आव २०७९/०८० मा १ सय ४३ वटा कर्तब्य ज्यान मुद्दामा ५५ वटामा परिवारको संलग्नता देखिएको छ । यो एक वर्षमा ५५ वटा हत्या घटनामा ५६ जना मारिएको उक्त कार्यालयको अभिलेखमा देखिन्छ ।

आव २०८०/०८१ मा कर्तब्य ज्यानका दर्ता भएको ११७ मुद्दाको अध्ययन गर्दा परिवारबाटै हत्या भएको घटना ५१ वटा रहेको प्रहरीले जनाएको छ । चालु आवको पुस सम्म ५० वटा कर्तब्य ज्यानको मुद्दा दर्ता भयो । तिमध्ये १९ वटामा आफन्तबाटै मारिएको घटना रहेको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले ८० प्रतिशत जघन्य अपराध नजिकको आफन्तबाट हुने गरेको पाइएको बताए । उनले पारिवारिक किचलो र मायामा धोका हत्याको कारण बनेको उनले बताए । परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्दा, एकअर्कामा विश्वास गुम्दा र आपसमा बेमेल उत्पन्न हुँदा घर एवं बन्द कोठाभित्र अपराधका घटना हुने गरेको उनले बताए । एसएसपी दाहालले भने,‘निराशा पछि आवेगमा आएर जघन्य प्रकृतिका अपराध हुन पुग्छ ।’ प्राथमिकता दिनुपर्ने पक्षभन्दा अरुतिरै बढी आकर्षित हुँदा, परिवारले सही गति र दिशा लिन नसक्दा, एकअर्कालाई शंकाको नजरले हेरिंदा एवं एकले अर्काको भावना बुझ्न नसक्दा यस्ता घटना हुने गरेको एसपी दाहालको ठम्याइ छ ।

सामाजशास्त्री प्राध्यापक डा.डिल्ली प्रसाइले पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक  र आर्थिक कारणले अहिले परिवार भित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ । ‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोंच हाबी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’ 

प्रकाशित : २५ माघ २०८१, शुक्रबार 16:01
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved