६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

चुनुकुमारीको ज्यान लिने ‘पारिवारिक अपराध सञ्जाल’ को भण्डाफोर

द नेप्लिज संवाददाता
५ वैशाख २०८२, शुक्रबार

एआई तस्बिर

Advertisement

विराटनगर— सुनसरीको धरानस्थित बाक्लो जंगलमा गत चैत २४ मा मृत अवस्थामा फेला परेकी धनकुटाकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या विदेशमा बसेका पतिकै निर्देशनमा परिवारका सदस्यहरुकै संलग्नतामा गरिएको पुष्टि भएको छ । 

कोरियामा रहेका प्रेमबहादुरले श्रीमती चुनुकुमारीमाथि परपुरुषसँग विवाहेतर सम्बन्ध रहेको शंका गर्दै पटकपटक सम्बन्धविच्छेदको माग गर्दै आएका थिए । उनले २०८१ मंसिर २७ मा कोरियाबाट नेपाल फर्किएपछि पत्नीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका थिए । तर चुनु मानिनन् । त्यसपछि ५ माघमा कोरियातर्फ फर्किएपछि उनले हत्या योजना बनाएका थिए ।

नेपाल प्रहरीको अनुसन्धानबाट खुलेअनुसार कोरियामा कार्यरत प्रेमबहादुरले  श्रीमतीको हत्या योजनाबद्ध रूपमा गराएका थिए । उनले प्रेमबहादुरले कोरियाबाट निर्देशन दिएअनुसार भाइ ढकेन्द्र बुढाथोकीसहित कम्तीमा ७ जनाको मिलोमतोमा हत्या भएको हो । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने भारतको आसामस्थित तेजपुरबाट भाडामा ल्याइएको राजु थापा मगर भने फरार छन् ।

भाइ, ज्वाइँ, भाउजु र भाँडाका हत्यारासमेत संलग्न
सुनसरी प्रहरीका अनुसार पक्राउ परेकामध्ये प्रेमबहादुरको भाइ ढकेन्द्र (मोरङ), ढकेन्द्रकी पत्नी सृष्टि, प्रेमबहादुरका कान्छा ज्वाइँ योगेन्द्र गौतम र योगेन्द्रकी पत्नी डेनु र साथै परिवार निकट केशवराज दाहाल रहेको पुष्टि भएको छ ।
हत्यामा प्रत्यक्ष संलग्न मानिएका भारतको तेजपुर निवासी राजु थापा मगर फरार छन् । उनी सृष्टि बुढाथोकीको फुपुको छोरा हुन् । प्रारम्भिक अनुसन्धान अनुसार राजुलाई हत्या गर्न रकम दिने सर्तमा बोलाइएको हो । प्रेम र राजुबीच रकमको मौखिक सहमति भएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

फोनमा बहकाएर जंगल लगियो, डोरीले घाँटी कसियो

२४ चैतमा प्रेमले कोरियाबाट फोन गरी चुनुलाई भाइ ढकेन्द्रलाई भेट्न केराबारी जान आग्रह गरे । त्यही बहानामा चुनुलाई भेट्न आएका ढकेन्द्र, योगेन्द्र र राजुले उनलाई मोटरसाइकलमा राखेर धरान–६ को पञ्चकन्या सामुदायिक वनतर्फ लगे । त्यहाँ घना जंगलभित्र लैजाँदा उनीमाथि निर्घात कुटपिट गरियो ।

चुनु बेहोस भएपछि उनले भिरेको झोलाको डोरीले घाँटी कसेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । हत्या पश्चात प्रेमबहादुरले भाइ ढकेन्द्रमार्फत कोरियाबाटै घटनाको नियमित ‘अपडेट’ लिइरहेको समेत प्रमाण फेला परेको छ ।

कसरी समातिए मुख्य आरोपी ?
प्रहरीले चैत २९ गते ढकेन्द्र, सृष्टि, डेनु र केशवराजलाई पक्राउ गर्यो भने ३० मा योगेन्द्र गौतम काँकडभिट्टा नाकाबाट समातिए । त्यसपछि परिवारको सहयोगमा प्रेमलाई कोरियाबाट नेपाल झिकाएर त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । राजुको खोजी जारी रहेको प्रहरीले भनेको छ ।

हत्या ‘फ्यामिली नेटवर्क’को झलक
यो घटना नेपालमा बढ्दो पारिवारिक आपराधिक संरचनाको ज्वलन्त उदाहरण बनेको छ जहाँ घरभित्रैका सदस्यले विदेशबाट निर्देशन लिँदै योजनावद्ध हत्यामा संलग्नता देखाएका छन् । आपराधिक मनोविज्ञानका विज्ञहरुले यसलाई ‘अनुशासित षड्यन्त्र’  भन्दै गम्भीर चिन्ताको विषय बताएका छन् ।

योजनाबद्ध, व्यवस्थित र नियन्त्रणमा राखिएको यस्तो षड्यन्त्रलाई गहन अनुसन्धानको भाषामा ‘अनुशासित षडयन्त्र’ भनिन्छ । यसमा अपराध योजनाबद्ध ढंगले गरिन्छ । कार्यान्वयनमा सहभागिहरूबीच स्पष्ट कार्यविभाजन हुन्छ । सूचना आदानप्रदान समेत गोप्य तथा अनुशासित ढंगले हुन्छ । यो शब्दले संवेदनशील र उच्च स्तरीय अपराध योजनाको संकेत गर्छ जुन सामान्य झगडा वा उत्तेजनामा भएको हत्याभन्दा धेरै गम्भीर र संरचित हुन्छ ।

न्याय माग्दै पीडित पक्ष : अपराधीलाई कडा सजाय दिन माग
पीडित परिवारले हत्यामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेका छन् । मृतकका छोराको भविष्य र समाजमा हिंसात्मक सोचको प्रवृत्ति न्यून गर्न यस्ता घटनालाई उदाहरणीय सजायमार्फत अन्त्य गर्नु पर्ने स्थानीयले आवाज उठाएका छन् । 
 

प्रकाशित : ५ वैशाख २०८२, शुक्रबार 11:37
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved