जोशीसँग जोडिएको यो पहिलो घटना होइन । ज्यान मार्ने उद्योगदेखि अपहरण, कीर्ते र अभद्र व्यवहारको कसुरमा पटकपटक मुद्दा दायर हुँदै धरौटीमा छुटेका जोशी अहिले प्रहरी कुटपिटको घटनामा जोडिएका छन् । प्रहरीमाथि आक्रमणको मुखियालाई सत्ताको दबाबमा प्रहरीले अनुसन्धान गर्न समेत असमर्थ भएको थियो ।
विराटनगर– काठमाडौंको ठमेलमा दुई प्रहरीसँग भएको कुटपिटमा संलग्न अनेरास्ववियुका नेता २९ वर्षीय कमलराज जोशीलाई घटनाको ६ दिनपछि बिहीबार नयाँबानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्यूटिमा रहेका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टलाई जोशी समूहले निर्घात कुटपिट गरेका थिए । घटना हुँदा विद्यार्थी नेता जोशीसँगै रहेका पाँच जना विरुद्ध पक्राउ पुर्जी जारी हुनु र उनलाई नछुनुले धेरै खाले सवाल खडा गरेको थियो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराका गन्यापधुरा गाउँपालिका–५ २२ वर्षीय रमेश फुलारालाई प्रहरीले पक्राउ गर्यो । आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । घटनामा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाही फरार छन् ।
घटनाको सिसिटिभी फुटेजमा देखिएका जोशीलाई पक्राउ नगरेकोमा सर्वत्र आलोचना भइरहेको थियो । प्रहरीले जोशीलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो । उनीहरूविरुद्ध सबैभन्दा कमजोर मुद्दा अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरिनुले एमाले नेतृत्वको सरकारको दबाब प्रहरी संयन्त्र माथि प्रष्ट देखिएको एक अवकाश प्राप्त उच्च प्रहरी अधिकारीले बताए ।
जोशीसँग जोडिएको यो पहिलो घटना होइन । ज्यान मार्ने उद्योगदेखि अपहरण, कीर्ते र अभद्र व्यवहारको कसुरमा पटकपटक मुद्दा दायर हुँदै धरौटीमा छुटेका जोशी अहिले प्रहरी कुटपिटको घटनामा जोडिएका छन् । प्रहरीमाथि आक्रमणको मुखियालाई सत्ताको दबाबमा प्रहरीले अनुसन्धान गर्न समेत असमर्थ भएको थियो ।
‘यो घटनाले फोहोर राजनीतिका कारण प्रहरी पनि असुरक्षित छन् भन्ने देखियो,’ एक प्रहरी अधिकृतले भने,‘यसलाई दुई प्रहरी माथिको मात्र आक्रमणको रुपमा बुझ्नु गलत हुनेछ, नेपाल प्रहरीलाई निरिह साबित गर्ने प्रयास भएको छ, ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्नेलाई माथिको आदेशले अभद्र व्यवहारमा कारबाही चलाउनु पर्छ ।’
दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति उच्छृंखल शैलीमा हिंडेपछि प्रहरीले उनीहरूलाई रोकेर केवल संझाइबुझाइ गर्न खोजेको थियो । तर उनीहरु उग्र हुँदै मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालियो । प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई कुटिएको थियो । जोशीले प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट छ ।
यो घटनाका मुख्य पात्र जोशीलाई आक्रमण विज्ञ भन्दा नि हुन्छ । बझाङको साविक मौलाली गाविस–३ हाल दुर्गाथली गाउँपालिका–४ का जोशीविरुद्ध २०७९ मा दुई वटा फौजदारी कसुरमा मुद्दा चलेको थियो । प्रहरीको रिपोर्टअनुसार जोशीको फौजदारी अपराधको श्रृंखला कीर्ते तथा लिखतसम्बन्धी कसुरबाट सुरु भएको थियो ।
२०७९ को २२ जेठमा अस्कल क्याम्पसका उपप्राध्यापक दिवाकर पाण्डेलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट क्याम्पसको चौघेराभित्रै कुटियो । उनी कुटिनुमा जोशीसँगै जोडिएको कीर्ते तथा लिखत अपराध थियो ।
बीएससी सीएसआईटीको प्रवेश परीक्षाको नतिजा कीर्तेसँगै हेरफेर गरेको आरोप जोशीलाई लागेको थियो । पाण्डेले यस विरुद्ध बोलेकाले कुटिएका थिए । क्याम्पसको छाप र लेटरप्याड दुरुपयोग गरेको आरोपमा जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट लिखत कीर्तेको कसुरमा मुद्दा चलाइएको थियो । उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार मुद्दा चलेको यो नै पहिलो थियो ।
लिखत कीर्तेको आरोप लागेको दुई महिनापछि जोशीसहितको समूहले २६ साउन २०७९ मा अस्कल क्याम्पसका विद्यार्थी विकास राईको हत्या प्रयास गरेको थियो । त्यतिबेला पनि जोशीसँगै हाल पक्राउ परेका सिग्देल र पक्राउ पुर्जी जारी भएर फरार रहेका गोपालबहादुर शाहीविरुद्ध पनि मुद्दा चलेको थियो ।
फलामको रड, इँटा, काठ, लट्ठी, हेल्मेट, सेरामिक टायल लगायतले टाउको तथा शरीरका विभिन्न भागहरूमा राईमाथि क्याम्पस परिसरकै बास्केट बल ग्राउण्डमा आक्रमण भएको थियो । शरीरभरि निलडाम परेको राईको टाउकामा ९ टाँका लगाउनु परेको थियो । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो ।
२०८० को १७ वैशाखमा जोशीसहितकाले अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित चार जनामाथि रड, खुकुरीर सिसाको बोतलले आक्रमण गरेको थियो । घाइते भएका सिंहसहित ओमप्रसाद पोखरेल, सुदीप पोखरेल, सागर पाण्डेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि नयाँबजारस्थित पिपल्स अस्पताल पु¥याएको थियो ।
त्यहाँका चिकित्सकले अन्यत्र लान भने पछि उनीहरूलाई अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालको आईसीयूमा राख्नु परेको थियो । जोशीसहित अहिले प्रहरी आक्रमणमा संलग्न भएको आरोप लागेका सौजन्य शाही, गोपालबहादुर शाहीसहित पाँच जनाविरुद्ध ७ जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
२०८० मै जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरको अनुसन्धान प्रतिवेदनबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको रेकर्ड भेटिएको छ । यो बाहेक २० माघ २०७९ मा अस्कल क्याम्पसका तत्कालीन प्रमुख लोकबहादुर बराललाई जोशीसहितकाले अपहरण गरेको आरोप लागेको थियो । तर यो घटनामा भने उनले उन्मुक्ति पाएका थिए ।
मुलुकी फौजदारी अपराध संहिताको दफा १८३ अनुसार ज्यान मार्ने उद्योगको कसुरमा जोशीविरुद्ध १० वर्ष कैद र १ लाख जरिवानाका दरले दुईटा कसुरमा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको माग गर्दै मुद्दा चलेको थियो ।
फौजदारी अपराध संहिताकै दफा २७६ अनुसार कीर्ते गर्न नहुने कसुरमा पनि उनीवरुद्ध मुद्दा दर्ता भएको थियो । सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अभद्रको कसुरमा बढीमा एक वर्षको कैद सजाय हुने व्यवस्था छ । जोशीविरुद्ध चार वटा फरक कसुरमा २८ वर्षसम्मको कैद मागदाबी गर्दै मुद्दा चलेको प्रहरी रेकर्डमा भेटिएको छ । तर शक्तिको आडमा उनी जहिल्यै उम्किएको एक प्रहरी अधिकृतले बताए ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares