६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

नेपाल र जापानबीच ऐतिहासिक सम्बन्ध छ : उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता
१७ फागुन २०८१, शनिबार

Advertisement

काठमाडौं– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबीच ऐतिहासिक, सामाजिक एवम् सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध थप घनिष्ट एवम् मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको बताएका छन् । 

उपराष्ट्रपति यादवले जाइका अलमनाई एसोसिएसन अफ नेपाल (जान)को ५१औं वार्षिकोत्सवलाई शनिबार उद्घाटनपछि नेपाल र जापानबीच ऐतिहासिक एवम् परम्परागत सम्बन्ध रहेको बताएका हुन् ।  ‘नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–साँस्कृतिक सम्बन्ध छ ’ उनले भने, ‘समय–समयमा दुई देशबीच हुने गरेका उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदानले हाम्रो सम्बन्धलाई थप मजबुत बनाएको छ ।’

उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा जापान सरकारलाई धन्यवाद दिँदै जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति लगायतको सहयोग रहेको बताए । ‘नेपालले जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको छ ’ उपराष्ट्रपति यादवले भने, ‘नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा जापानको सहयोग प्रशंसनीय छ ।’

उपराष्ट्रपति यादवले  ‘जान’का सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यो संस्था ५० वर्षयता सक्रिय रहेको जानकारी पाएर खुशी लागेको बताए । उनले यो संस्थाले नेपाल र जापानबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउँदै नेपालको विकास एवम् समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनु प्रशंसनीय कार्य भएको उल्लेख गरे ।
 
उपराष्ट्रपति यादवले  ‘जान’ले नेपाल र जापानको सुमधुर सम्बन्धलाई जनस्तरसम्म पुर्याउन र जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउने दिशामा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए । ‘यो संस्थाले ग्रामिण क्षेत्रमा सामुदायिक विकासका कार्यहरू पनि शुरु गर्नु सकारात्मक छ’ उनले भने,  ‘यी कार्यहरूलाई थप ग्रामीण भेगमा विस्तार गर्न सक्नुपर्दछ ।’
 
उनले जापानको विदेश मन्त्रीबाट ‘फोरेन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ प्राप्त गर्न सफल भएकोमा ‘जान’लाई हार्दिक बधाई दिँदै नेपाल र जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न संस्थाका पदाधिकारी तथा सदस्यहरूले थप महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उपराष्ट्रपति यादवले समारोहमा प्रशंसापत्र र मानार्थ सदस्यता प्राप्त गर्नु भएका सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलता र संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । 

प्रकाशित : १७ फागुन २०८१, शनिबार 17:21

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved