२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

बाँसको भवनमा मुन्दुमको आत्मा : खोटाङमा अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण हुँदै

द नेप्लिज संवाददाता
२४ जेठ २०८२, शनिबार

Advertisement

विराटनगर– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालयका लागि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संग्रहालय भवन निर्माणका लागि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्थापन गरेसँगै निर्माण प्रक्रिया अघि बढाइएको हो।

यस संग्रहालयको आधार २०८० असोज १७ देखि २० सम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा बनाइएका क्यानभास चित्रहरू हुन्। कार्यक्रममा ५० देशका ख्यातिप्राप्त चित्रकारहरूले विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको चित्रण गरेका थिए। उक्त प्रदर्शनीमा तयार पारिएका १ सय ८२ वटा क्यानभास चित्रलाई संग्रहालयमा समेटिएको छ।

दिक्तेलको रत्नपार्कस्थित सपिङ कम्प्लेक्सको पाँच वटा कोठामा यी चित्रहरू राखेर संग्रहालय सञ्चालनमा ल्याइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत पुस २९ मा संग्रहालयको औपचारिक उद्घाटन गरेका थिए। यसपछि सर्वसाधारणको निःशुल्क अवलोकनका लागि संग्रहालय खुला गरिएको छ।

नगरपालिकाका उपप्रमुख विशन राईका अनुसार भवन निर्माण कार्यको डिजाइन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पूर्वउपकुलपति प्रा. डा. जीवराज पोखरेलले गरेका छन्। अधिकतम बाँसको प्रयोग गरी भवन निर्माण गरिने योजना छ, जसले पर्यावरणीय सन्तुलन र मौलिकता दुवैलाई जोड दिने बताइएको छ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार संसारभर छरिएका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने, चित्रकलामार्फत खोटाङ र नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यले संग्रहालय स्थापना गरिएको हो।

यसअघि २०८० फागुन ५ देखि १७ सम्म बबरमहलस्थित नेपाल कला परिषद् काठमाडौँमा पनि संग्रहित चित्रहरूको प्रदर्शनी आयोजना गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए भने समापन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।

धनु आर्ट स्टुडियो काठमाडौँको सहकार्यमा आयोजना गरिएको उक्त चित्रकला कार्यक्रममा अमेरिकाकी चित्रकार एवं प्रोफेसर जोय वल्फ, लातभियाकी आन्दा पैकाने, नेपाली चित्रकार रतनकुमार राई, विजय थापा लगायत ५० देशका कलाकारले सहभागिता जनाएका थिए। उनीहरूलाई खोटाङका दसवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलमा लगेर स्थानीय जीवनशैली, संस्कार र परम्परालाई क्यानभासमा उतारिएको थियो।

यस संग्रहालयले न केवल खोटाङको सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्‍याउनेछ, साथै पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

#मुन्दुम

प्रकाशित : २४ जेठ २०८२, शनिबार 00:21
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved