६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

मोरङमा माओवादीको पुनरागमन : स्ववियु निर्वाचनमा सानदार जित

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

विराटनगर– मोरङमा २०६४ को संविधानसभा निर्वाचनपछि जनमत खस्कँदै जाँदा निरन्तर संघर्षरत नेकपा (माओवादी केन्द्र) पछिल्लो उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनपछि उत्साहित देखिएको छ ।

२०८१ मंसिरमा सम्पन्न ग्रामथान गाउँपालिका अध्यक्षमा शानदार जित निकालेपछि ’२०६४ को पुनरावृत्ति’ को दाबी गरिरहेको माओवादी केन्द्रले हालै सम्पन्न स्ववियु निर्वाचनमा प्रभावशाली उपस्थिति जनाएको छ । मोरङका ९ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले ३ आंगिकसहित ६ क्याम्पसमा विजय हासिल गरेको छ । यो नतिजाले प्रतिस्पर्धी दलहरूलाई स्तब्ध पारेको छ ।

छ वटा क्याम्पसमा विजय

क्रान्तिकारीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस, विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङ क्याम्पसमा जित दर्ता गरेको छ । अघिल्लो स्ववियु निर्वाचनमा केवल केराबारीको खदम क्याम्पसमा मात्रै जित निकालेको क्रान्तिकारी यस पटक प्रमुख खेलाडी बनेको छ । विशेषगरी अघिल्लो निर्वाचनमा उम्मेदवार समेत पाउन कठिन रहेको विराटनगर नर्सिङ क्याम्पसमा अध्यक्ष जित्नु क्रान्तिकारीको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

प्रतिस्पर्धी संगठनहरू

स्ववियुमा एमाले निकट अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पसमा जित निकाल्दा नेविसंघले लेटाङ क्याम्पसमा विजयी भएको छ । उर्लाबारी र पथरी क्याम्पसमा भने सबै पक्षको सहमतिमा नेविसंघको अध्यक्ष चयन भएको थियो ।

उपनिर्वाचनमा पनि प्रभावशाली उपस्थिति

गत मंसिरमा सम्पन्न ४१ स्थानमा भएको उपनिर्वाचनमा काँग्रेस–एमाले नै मुख्य प्रतिस्पर्धी रहने अपेक्षा गरिए पनि माओवादी केन्द्रले आफूलाई मजबुत रूपमा उभ्याएको देखियो । ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी भारी मतान्तरसहित निर्वाचित भएका थिए जबकि नेपाली काँग्रेस र एमालेले एकअर्कालाई प्रमुख प्रतिस्पर्धी ठानिरहेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो स्थानमा सीमित माओवादीले उपनिर्वाचनमा नेपाली काँग्रेस र एमालेलाई पछि पार्दै जित हात पार्न सफल भयो । यसै क्रममा कोशी प्रदेशभरि भएको ८ स्थानको उपनिर्वाचनमा माओवादी पहिलो दलका रूपमा उभिएको छ । यसले काँग्रेस र एमालेलाई थप चुनौती थपेको छ ।

लोकप्रिय मतमा माओवादी पहिलो

कोशीमा ८ स्थानमा सम्पन्न उपनिर्वाचनमा जम्मा २९ हजार ४ सय ५४ मत खसेको थियो जसमा माओवादी केन्द्रले ९ हजार ८ सय २२ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गर्यो । नेपाली काँग्रेसले ८ हजार ६४ मत ल्यायो भने एमालेले ७ हजार ५ सय ३० मत प्राप्त गर्यो । अघिल्लो स्थानीय निर्वाचनमा यी क्षेत्रमा माओवादीले जम्मा ४ हजार ५५ मत ल्याएको थियो भने काँग्रेसले १० हजार ६ सय ५१ र एमालेले ९ हजा ४ सय ५१ मत पाएका थिए ।

‘२०८४ मा २०६४ दोहोरिन्छ’ – माओवादीको दाबी

स्ववियु निर्वाचन र उपनिर्वाचनका नतिजालाई आधार मान्दै माओवादी केन्द्रले २०८४ को आमनिर्वाचनमा २०६४ को विजय दोहोरिने दाबी गर्न थालेको छ । पूर्वी नेपाललाई समाजवादी क्रान्तिको आधार क्षेत्र बनाउने रणनीति अन्तर्गत माओवादीले झापा, मोरङ, सुनसरी केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । हालै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पटक–पटक यी जिल्लाहरूमा भ्रमण गरी विभिन्न कार्यक्रममा सहभागिता जनाउनुले पनि माओवादीको रणनीतिक तयारी झल्किन्छ ।

संगठन सुदृढीकरण, निरन्तर जनसंपर्क र विद्यार्थी राजनीति हुँदै स्थानीय तहसम्मको जितले माओवादीलाई पुनः सशक्त बनाएको विश्लेषण गरिँदैछ । आगामी निर्वाचनमा माओवादीको स्थान कस्तो रहन्छ, त्यो भने आगामी राजनीतिक गतिविधि र जनमतले तय गर्नेछ । 
 

प्रकाशित : ११ चैत २०८१, सोमबार 13:29
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved