शिक्षक आन्दोलन
काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूको आन्दोलनप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई शीघ्र समाधान निकाल्न आग्रह गरेका छन् । उनले विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या समाधान गर्न र उनीहरूलाई काममा फर्काउने वातावरण बनाउन माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले लेखेका छन्,‘ ‘नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासंघबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।’
हाल शिक्षकहरू विद्यालय शिक्षा ऐनमा प्रस्तावित प्रावधानहरू प्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत छन् । उनीहरूको मुख्य मागहरूमा शिक्षक नियुक्तिको अधिकार संघीय सरकारले नै राख्नुपर्ने, सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने र शिक्षकका सेवा सुविधाहरू केन्द्र सरकारले नै व्यहोर्नुपर्ने रहेका छन् ।
शिक्षकहरूको आन्दोलनका कारण देशभरका विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ । शिक्षाविद्हरूले शिक्षकहरूको मागको गम्भीर विश्लेषण गरी समाधान निकाल्न सरकारलाई सुझाव दिएका छन् ।
डा. कोइरालाले शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको भन्दै सरकारलाई जिम्मेवार भएर समस्या समाधान गर्न आह्वान गरेका छन् ।
महासंघको आन्दोलन चर्किने संकेत देखेपछि कोइरालाले सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक महासंघले सरकारलाई थप दबाब दिन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ ।
२० चैतदेखि सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने रणनीति अनुरुप महासंघ अघि बढेको छ । आन्दोलनको यो नयाँ स्वरूपमा देशभरिका विद्यालय बन्द गरिनेछ । शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह पनि गरेका छन् ।
उक्त अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई भनेको छ । महासंघद्वारा आइतबार जारी विज्ञप्तिमा यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला पक्षसँग आग्रह गरिएको छ ।
शिक्षा ऐन जारी गर्नका लागि महासंघ निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ ।
शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने ऐन जारी गराउनु आन्दोलनको एक मात्र लक्ष्य भएको अडान राखेको छ । चैत १८ मा एसईई परीक्षा सकिएर उत्तरपुस्तिका संकलन भइरहेको छ । शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।
शिक्षा/प्रविधि
शिक्षकको टोली शिक्षामन्त्रीसँग भेट नगरी फर्कियो
द नेप्लिज संवाददाताशिक्षा मन्त्रालयद्वारा गुरुगुरुमालाई पुनः वार्तामा बोलाइयो
द नेप्लिज संवाददाताशनिबार देशका केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातासरकार–शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने
द नेप्लिज संवाददातावार्ता निष्कर्षविहीन, शिक्षकको आन्दोलन २५ औँ दिनमा
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares