२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

मनसुन ‘रेकर्ड ब्रेक’ गर्दै नेपाल छिटै प्रवेश गर्ने सम्भावना

द नेप्लिज संवाददाता
१२ जेठ २०८२, सोमबार

Advertisement

विराटनगर– देशभर केही दिनयता वर्षा भइरहेको छ। सोमबार रातिसमेत कतिपय स्थानमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना भने छैन। ‘वर्षा त भइ नै रहन्छ,’ उनले भने, ‘तर तीन दिनसम्म भारी वर्षा हुने सम्भावना छैन।’

मंगलबार (जेठ १३) काठमाडौँसहित देशका कतिपय क्षेत्रमा दिउँसो र साँझपख हल्का वर्षा हुनसक्ने उनले जनाएका छन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने बुधबार रातिदेखि लुम्बिनीदेखि पूर्वसम्मका धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना औंल्याएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै मधेस र कोसी प्रदेशका केही क्षेत्रमा ‘भीषण वर्षा’ हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

यस वर्ष मनसुन औसत मितिभन्दा अगावै नेपाल प्रवेश गर्ने सम्भावना प्रबल देखिएको मौसमविद्हरूको निष्कर्ष छ। नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ (जेठ ३०) हो। तर, यसपालि त्योभन्दा अगाडि नै मनसुन भित्रिन सक्ने अवस्था देखिएको मौसमविद् डा. धर्मराज उप्रेतीले बताएका छन्।

‘अबको तीन दिनमा मनसुन सिक्किम र पश्चिम बंगाल पुग्छ,’ उनले भने, ‘त्यसपछि कोसी प्रदेशमा एक–दुई दिनमै प्रवेश गर्छ। यदि हालको गति यथावत् रह्यो भने मनसुन जेठ १८ (जुन १) भन्दा अगाडि नै नेपाल भित्रिन सक्छ।’

मौसमविद् उप्रेतीका अनुसार मनसुनको उद्गम स्थल माल्दिभ्स, श्रीलंका र हिन्द महासागर क्षेत्रमा यसपालि मई १३ मै मनसुन उत्पत्ति भइसकेको छ, जुन औसत मिति मई २३ भन्दा नौ दिन अगाडि हो। यसले केरल हुँदै भारतको महाराष्ट्रसम्म औसत मितिभन्दा १६ दिनअघि नै पुगेर ३५ वर्षको रेकर्डसमेत तोडेको छ।

‘यसको तीव्र विकासक्रम र अरब सागर तथा बंगालको खाडीमा सक्रियता देखिँदा नेपालमा पनि मनसुन रेकर्ड तोड्दै छिटै भित्रिने संकेत देखिन्छ,’ उनले भने।

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेशको अवस्था सतर्कतापूर्वक अवलोकन गरिरहेको जनाएको छ। ‘हामी मोनिटरिङ गर्दैछौं। क्राइट एरियामध्ये ८० प्रतिशतभन्दा बढी पूर्ण भएपछि मात्रै मनसुन प्रवेशको घोषणा हुन्छ,’ मौसमविद् लामिछानेले स्पष्ट पार्दै भने ।

विभागको तथ्यांक अनुसार गत वर्ष जेठ २८ मा मनसुन प्रवेश गरेको थियो भने असोज २६ मा बाहिरिएको थियो। २०८० मा जेठ ३१ देखि असोज २८ सम्म १२४ दिन, २०७९ मा जेठ २२ देखि असोज ३० सम्म १३२ दिन, र २०७८ मा जेठ २८ देखि असोज २५ सम्म १२४ दिनसम्म मनसुन कायम रहेको थियो।

सबैभन्दा चाँडो मनसुन सन् १९९६ मा मई ३१ मा नेपाल प्रवेश गरेको थियो भने सन् १९८२ मा जुन २७ मा सबैभन्दा ढिलो भित्रिएको रेकर्ड छ।

विभागले यसपाली मनसुन अवधिमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। त्यस्तै देशको तापक्रम पनि औसतभन्दा माथि रहने पूर्वानुमान गरिएको छ।

नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमा (जुन–सेप्टेम्बर) पर्ने गरेको विभागले जनाएको छ। मनसुन पूर्वबाट प्रवेश गरेर क्रमशः कोसी, मधेस, बाग्मती हुँदै देशभर फैलिन्छ। सुदूरपश्चिमसम्म पुग्न १०–१५ दिन लाग्ने अनुमान गरिएको छ।

हाल मौसम परिवर्तनशील रहेको र केही दिनसम्म हल्कादेखि मध्यम वर्षा भइरहने अनुमान छ। तर छिटो उत्पत्तिको क्रम, बंगालको खाडीमा बनिरहेको न्यून चापीय प्रणाली, भारतमा मनसुनको तीव्र प्रसार र नेपालमा अनुकूल वातावरणको विकासले गर्दा यस पटक मनसुन औसत मितिभन्दा निकै अगाडि नेपाल प्रवेश गर्न सक्ने सम्भावना उच्च देखिएको छ। सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
 

#नेपाल#मा #वार्षिक #वर्षा#को करिब #८०# प्रतिशत# हिस्सा #मनसुन

प्रकाशित : १२ जेठ २०८२, सोमबार 23:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved