४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

सम्पादकीय

हातेमालो गर्दै अघि बढौँ

जितेन्द्र साह
२५ माघ २०८१, शुक्रबार

Advertisement

मुलुकको पत्रकारिताको वर्तमान अवस्थालाई नियालिरहनु भएका विश्वभरिकै सचेत नेपालीलाई डिजिटल पत्रिका ‘द नेप्लिज डट कम,’को शुभारम्भ अंकमा मनैदेखि स्वागत छ । राजनीतिक आवरणमा विभाजित दलीय पत्रकारिताको आरोपले यो चौथो अंगको जग नै हल्लिएको बेला शुन्यबाट नयाँ प्रयासको थालनी गरेका छौं ।

जनभावनाको कदर गर्दै शुभारम्भ कुनै दलका नेता वा मन्त्रीबाट गराएनौं । अबोध बालकलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्यौं । उनले ल्यापटपको किबोर्ड थिचेर अनलाइनको उद्घाटन गरे । बालकले जसरी कसैसँग विभेद गर्दैन र सत्य नै बोल्छ त्यही नीति यो अनलाइनले अंगिकार गरेको छ । यो अनलाइन अब हजुरहरुको आँैलामा छ । भुइँमान्छेको चाहना अनुरुप अगाडि बढ्ने अठोट लिएका छौं । त्यसैले रत्तिभर पनि हत्तारोमा छैनौं । 

सामाजिक सद्भाव एवं एकता कायम राख्दै खबरको स्वरुपमा नागरिकलाई पूर्ण सूचना दिनु र आम मान्छेका समस्याहरु बारे अधिकार क्षेत्र अनुसार तीन तहकै सरकारलाई अवगत गराउँदै समाधानको प्रष्ट मार्ग खोज्नु हाम्रो उद्देश्य हो ।

मिथ्या समाचारको बाढीले अहिले मुख्य शीर्षक पढ्दै तथ्य हो कि कल्पना भन्ने शंका हुने अवस्था छ । केवल भाइरल हुन र सस्तो लोकप्रियताका लागि ताइँ न तुइँको खबर पोस्टयाउनु हाम्रो लक्ष्य होइन । सामाजिक स्तरमा एकताबद्ध भएर भ्रम र हल्लालाई चिर्दै सन्तुलित पत्रकारिता हाम्रो एक मात्र मिसन हो । 

अहिले सर्वत्र सूचनाको बाढी छ । तैपनि नागरिक समाजका हरेक तप्का सत्य तथा तटस्थ समाचारका भोका छन् । केवल चर्चामा रहनलाई सनसनी र उत्तेजना फैलाउने गरी राखिने समाचारले जनभरोसा गुमाएको छ । हामी यही भिडमा थपिने आएका होइनौँ । हामी यो डिजिटल मञ्चलाई हावादारी, उडन्ते कुरा विरुद्ध प्रयोग गर्दै प्रष्ट भरपर्दो समाचार र चोटिला विचारको माध्यम बनाउँछौं ।

हाम्रो हरेक खबरको उद्देश्य तथ्यांक र भनाइ, विश्व गतिविधिको स्थानीय प्रभाव तथा सबैभन्दा महत्वपूर्ण नागरिक समाज, सरकार तथा संसारबीचको पूल बन्नु हो । ब्रेकिङ र घटना प्रधान समाचार पत्रकारिताको सुरुवात मात्र हो । हामी त्यसभित्रका पाटोलाई पनि मजाले खोजेर पाठकसम्म ल्याउँछौं । 

हामी भुइँमा संघर्षरतदेखि विभिन्न क्षेत्रमा सफलहरुको कथा पनि समेट्छौं । ढिलो भए नि फरक पर्दैन तर प्रामाणिक खबर मात्र राख्छौँ । पत्रकारिता भनेको हतारको साहित्य हो । गल्ती भएमा सहर्ष भूल सुधार गर्छौँ । नेपाली आमसञ्चार क्षेत्रले गुमाइसकेको जनविश्वास हाम्रो यो अनलाइन मार्फत फर्काउने प्रयास गर्छौँ । 

समस्या मात्र देखाउँदैनौँ, नवीन समाधान र समुदाय लक्षित परिवर्तनमा जोड दिन्छौँ । जनमत वा जनसर्वेक्षणमा आधारित खबर हाम्रो अन्तिम गन्तव्य हो । हजुरहरुको कौतुहलताको जवाफ दिनु हाम्रो मुख्य कर्तव्य हो । कस्तो खबर पढ्न चाहनु हुन्छ ? हामीलाई खुलेर भन्नुहोला । आफ्नो व्यथाको कथा र अनुभव हामीलाई सुनाउनुहोस् । लेखेर, बोलेर र सामाजिक सञ्जालमा आएका कुरा एवं पत्र लेखेर पठाउनुहोस् । 

तपाईँहरुको स्वरले हाम्रो यात्रामा ऊर्जा थप्छ । यो अनलाइनले समाचारको मञ्चभन्दा माथिको जिम्मेबारीको भूमिकामा रहेर काम गर्छ । हामी मानवीय मूल्यका साथ सत्य–तथ्य–कथ्यको सन्तुलन प्रति कटिबद्ध छौं । हामी यो मञ्चलाई शक्तिको चलखेल हुने थलो बनाउँदैनौं । आम मान्छेका संघर्षका कथाहरुलाई प्राथमिकतामा राख्छौं । भनिन्छ नि,‘छिटो हिंडन चाहनु हुन्छ भने एक्लै अघि बढ्नुहोस्, टाढासम्म पुग्न चाहनु हुन्छ भने साथसाथ हिंडनुहोस् ।’ फेरि पनि दोहोर्‍याउँछु, हामीलाई हत्तारो छैन । हातेमालो गर्दै अघि बढौँ । 


जितेन्द्र साह
प्रधान सम्पादक 

प्रकाशित : २५ माघ २०८१, शुक्रबार 18:04
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved