विराटनगर– सरकारमा पुग्नेहरूले राजनीति सेवा र साधना पनि हो भन्ने बिर्सेका हुन्छन् । धेरैले मन्त्रालयलाई शक्ति प्रदर्शन र व्यक्तिगत स्वार्थ पूर्तिको थलो बनाइरहेका छन् । तर कहिलेकाहीँ केही अपवादहरू पनि देखिन्छन् — जसले ‘नेतृत्व’ भन्ने शब्दको अर्थलाई फेरि परिभाषित गर्न बाध्य पार्छन् । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई त्यहीँ दुर्लभ अनुहार हुन् । उनले सत्ताको स्वादमा देशलाई भुल्नेभन्दा सेवाको मार्गमा सादगीका साथ हिँडन प्रेरित गर्छिन् ।
नौ महिने कार्य अवधि पछि वैशाख ८ मा शिक्षामन्त्रीको जिम्मेवारीबाट छाडे पछि मन्त्री आवासको मोह नराखी उनी तत्काल चाबहिलस्थित निजी निवास फर्किइन् । उनी यो कार्यकालमा एक पटक पनि विदेशी भ्रमण गरिनन् । त्यो यति बेला सम्भव भयो, जब विदेशी भ्रमण मन्त्रीहरूको नियमित ’अधिकार’ जस्तै बनिसकेको छ । अझ विशेष कुरा त के भने मन्त्रीपद छाडेको चार दिन पछि उनी सार्वजनिक यातायातबाट यात्रा गर्न थालिन् ।
सांसद र मन्त्री नहुँदा पनि उनी सार्वजनिक सवारीमै आइजाइ गर्थिन् । मन्त्री पद त्यागेको केही दिन पछि नै संसद बैठक पछि टेम्पो चढेर घर तिर लागेको तस्बिर जनमनमा बस्यो । हेर्दा यो साधारण तस्बिर हो तर नेताहरूको विलासी जीवनशैलीको बीचमा एउटा मौन प्रतिवादजस्तै यो असाधारण तस्बिर हो ।
१२ वैशाखमा संसद बैठक पछि घर जानलाई टेम्पो चढेकी भट्टराईको उक्त तस्बिर एमाले सांसद तारा लामा तामाङले खिचेका थिए । ‘पठाओ’ कुरिरहेका तामाङले विद्यालाई टेम्पोमा बसेको देखे पछि अनुमति लिएर तस्बिर खिचेका थिए । दुई दिन पछि अनुमति लिएर सामाजिक सञ्जालमा पोस्टिएका थिए ।
टेम्पोभित्रको यो तस्बिरले विद्यासँगै आममान्छेको दैनिक संघर्षको पाटोलाई पनि झल्काउँछ । । तर विद्याले मन्त्री हुँदा पनि हरेक दिन जुझेर बिताइन् । शिक्षा क्षेत्रमा आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गर्न सक्यो, जसको श्रेय हालका शिक्षामन्त्री रघुजी पन्तलाई दिइँदैछ । सत्ता गठबन्धनका नेताहरू पन्तको प्रशंसा गरिरहेका छन् । एमाले सांसद सूर्य थापाले त उनलाई ‘मुखतोड जवाफ दिने मन्त्री’ समेत भनेका छन् ।
तर पूरा देशका जनता र शिक्षा मन्त्रालयकै कर्मचारीहरूले भने भट्टराईकै मेहनत एव इमानदारीलाई सम्झिरहेका छन् । उनले कोरेर गएको आधारशिलामा शिक्षक र सरकारबीचको वार्ता सफल भएको हो । विद्याले स्वास्थ्य उपचारका लागि भनेर पद नत्यागेकी भए सरकारमाथि दबाब सिर्जना हुँदैन्थ्यो र अहिले शिक्षक आन्दोलनले अर्कै रुप लिइसक्थ्यो ।
शिक्षकको माग पुरा गर्दा ठूलो आर्थिक भार पर्ने भन्दै प्रधानमन्त्री र अर्थमन्त्री पन्छिन खोजे पछि उनले नैतिकताको आधारमा राजीनामा दिएकी थिइन् । किनकी उनले गुरुगुरुमासँग जसरी पनि माग पुरा गर्ने प्रतिबद्धता जनाइसकेकी थिइन् । यसका लागि दिनहुँ प्रधानमन्त्री र मन्त्रीहरुसँग जुधिरहेकी थिइन् ।
एक उच्च अधिकृतका शब्दमा, ‘भट्टराईले आन्दोलन चर्किँदै गर्दा सात बुँदे मस्यौदा तयार पारिन्, जुन सहमतिका लागि आधार बन्यो । उहाँ बिहान ७ बजेदेखि राति साढे एघार बजेसम्म निरन्तर काम गर्नुभएको मैले आफैँ देखेको छु ।’ यस्तो समर्पण विरलै देखिन्छ ।
भट्टराईको व्यक्तिगत आचरण अझै गहिरो बनाउँछ । मन्त्री रहेकै बेला फागुनको दोस्रो साता तिर घाँटीको शल्यक्रिया गराउनु पर्यो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भइन् — सरकारी अस्पतालमा आफ्नै खर्चमा उपचार गराइन् । दुई लाख खर्च भएको थियो । त्यो पैसा आफैँले — छोरा र आफन्तसँग मिलेर — जुटाएर तिरेकी थिइन् । जब पत्रकारले सोधे, ‘तपाईंको खातामा दुई लाख थियो?’ उनले मुस्कुराउँदै भनिन्, ‘त्यति थिएन, छोरोले अलिकति खर्च गर्यो ।सबै आफैँ तिरेँ ।’
आज देशका अधिकांश मन्त्रीहरू सरकारी सुविधाको चरम उपयोग गर्दै विदेशमा उपचार गर्न हानिन्छन्, त्यसबेलामा भट्टराईको यस्तो आचरण नेपाली राजनीति र नेतृत्व संस्कृतिका लागि एउटा सन्देश हो । नेतृत्व भनेको पदको भरमा होइन, मूल्य र व्यवहारको धरातलमा नापिनु पर्छ ।
राजनीति सेवा हो भन्ने भावना ओझेलमा पर्दै गएको वर्तमानमा विद्या भट्टराईको नौ महिनाको कार्यशैलीले नेपाली जनतालाई फेरि एकपटक सम्झाइदिएको छ — जनप्रतिनिधि भनेको जनतासँगै बस्ने, उनीहरूको कष्ट बुझेको र साधारण जीवन बिताउने व्यक्तित्व हुनुपर्छ । नत्र नेताको सम्मान होइन, तिरस्कार मात्र बाँकी रहन्छ ।
उनीसँगै अहिले आम जनताले उनका स्वर्गीय श्रीमान रवीन्द्रप्रसाद अधिकारीलाई पनि सम्झिरहेका छन् । उनी पनि सरल र शालीन जीवन शैलीले गर्दा भुइँमान्छे माझ लोकप्रिय थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको १५ फागुन २०७५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
शिक्षामन्त्रीको हैसियतमा विद्याको कार्यकाल लामो नभए पनि चुनौतीले भरिएको रह्यो । गत ३१ असारमा मन्त्री पदमा नियुक्त भएकी भट्टराई कास्की क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रतिनिधिसभामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सक्रिय रहेकी उनी राजनीतिमा २०७६ सालको उपनिर्वाचनबाट औपचारिक रूपमा प्रवेश गरेकी थिइन् ।
उनको राजनीतिक यात्रा पनि श्रीमानको अकल्पित निधन पछि पीडाबाटै सुरु भएको हो । श्रीमान् अधिकारीको निधनपछि शिक्षण पेशा छाडेर राजनीतिमा होमिएको केही समयमै कास्कीबाट उनी सांसद चुनिइन् । अबको विद्याको राजनीतिक यात्राले जुन घुम्ती समाए पनि नागरिक समाजको मनमा भने उनी सधैँ मन्त्री नै रहने छिन् । लोकतन्त्रमा नागरिकको मुटुमा सप्रेम शासन गर्नु असल नेतृत्वको सबल र सुन्दर पहिचान हो ।
विचार/अन्तर्वार्ता
मुख्य दलहरूभित्र जित्दै लोकतन्त्र, परास्त हुँदै चाकरीतन्त्र
जितेन्द्र साहन्यायिक नक्कली आदेश काण्ड : जब सर्वोच्च अदालतमै न्यायमाथि चट्याङ खस्यो
जितेन्द्र साहभारत र पाकिस्तानको फोहोर भूराजनीतिमा नेपालको फुइँफाइँ
जितेन्द्र साहबौद्धिक श्रमिकको संकट : सम्मान, सुरक्षाको अभाव र पलायनको विडम्बना
डा. बालकृष्ण साहओलीको दृष्टिमा नेपाल : धार्मिक पहिचानदेखि सगरमाथा संवादसम्म
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares