२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

‘एकैछिन भेट्न आउ है’ भन्ने आग्रहमा ज्यान गयो : पूर्वपतिको क्रूरता भोग्दै तीन जीवन समाप्त

द नेप्लिज संवाददाता
१४ जेठ २०८२, बुधबार

सामूहिक हत्या भएको सुजन निवास

Advertisement

विराटनगर– बुटवलको मिलिजुली पथ बुधबार बिहान रुवाबासीमा डुबेको थियो। एउटी आमा र उनका दुई निर्दोष छोरीहरू — ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी — अब कहिल्यै बोल्ने छैनन्। तिनको शरीर लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि लम्पसार छ, अनुहारमा अझै पनि भय र पीडाको झल्को देख्न सकिन्छ ।

यी तीन जीवन, एकजना पाशविक व्यक्तिको प्रतिशोध, अहंकार र क्रूरता कारण अन्त्य भए। प्रहरीका अनुसार हत्यारा अरू कोही नभएर दिपाका पूर्वपति सुजन कोइराला हुन्। उनले ‘एकछिन भेट्न आउ’ भनेर बोलाएपछि परिवारको दुई पुस्ता एकैचोटि समाप्त भयो। उनले भेटघाटको नाममा दिपालाई घरमा बोलाए । पाहुनाको  जस्तै सम्मान पनि गरे । तर बुधवार बिहान ४ बजे घाँटी रेटेर र टाउकोमा हतौडाको प्रहार गरेर हत्या गरे।

दिपा बस्याल ढकाल पाल्पाको तानसेनमा स्वास्थ्यकर्मी थिइन्। जीवनलाई पुनः सँगाल्दै उनले दोस्रो विवाह गरेकी थिइन्। उनका दुई छोरीहरू शंकर ढकालसँगको वैवाहिक जीवनको साक्षी थिए। शंकर हाल वैदेशिक रोजगारीका लागि दुबईमा छन्। आफ्नै भान्जीको विवाहमा सहभागी हुन बुटवल आएकी दिपाले सोचेकी थिइनन्, यही यात्रा उनको अन्तिम हुनेछ।

सुजन कोइरालाको विगत झनै डरलाग्दो छ। करिब १२ वर्षअघि आफ्नै दाजु सुदीप कोइरालाको हत्या गरेर शव टुक्राटुक्रा पारी नष्ट गर्ने प्रयास गरेका उनी केही वर्ष पछि आममाफी पाएर जेलमुक्त भए। तर मुक्तिपछि उनी सुध्रिएनन्, बरु झनै भयावह हत्यारा बने।

स्थानीयले उनलाई नम्र र मिलनसार देखेको बताउँथे। तर त्यो बाहिरी आवरणभित्र यति निर्दयी र हिंस्रक मानसिकता लुकेको थियो भन्ने कसैले कल्पना गरेको थिएन।

मंगलबार राति ‘अन्तिम पटक’ सँगै खाना खाएपछि सुजनले आफ्नै हातले तीन निर्दोष प्राणीको जीवन सधैँका लागि सिध्याए। प्रहरीका अनुसार हत्या गरिएपछि बिहान ६ बजे उनले एक कामदारलाई बोलाएर भान्साकोठा मर्मतको बहानामा घटना लुकाउने प्रयास गरे। तर त्यसबेला घरभित्र लुकेको रगतको नदी र तीन निस्सासिएका शवले उनको पाखण्डको पोल खोलिदियो।

प्रहरी अनुसन्धान जारी छ। १२ वर्ष अगाडि दीपासँग विवाह भएकै साल सुजनले माइला दाजु सुदीपको हत्या गरेर जेल गए । यो घटना पछि दीपा र सुजनबीच पनि सम्बन्ध राम्रो रहेन । विवाहको तीन वर्ष पछि २०७२ मा दीपाले सुजनसँग सम्बन्धविच्छेद गरिन् । जेल परेको कठिन समयमा श्रीमतीले एक्लो छाडेको आक्रोशमा सुजनले हत्या गरेको हुनसक्ने प्रहरीको बुझाइ छ ।

दिपाको परिवार शोकमा छ, छिमेक स्तब्ध छ। यो मुलुकको कानून प्रणाली फेरि एकचोटि कठघरामा उभिएको छ — किनभने एक पटक दाजु मारेको हत्यारा फेरि उन्मुक्त भएर तीन निर्दोष ज्यान लिने अवस्थामा कसरी पुग्यो?

यो केवल दिपा र उनका छोरीहरूको हत्या होइन। यो एउटा सभ्यताको हत्या हो। जहाँ महिलाको असुरक्षा, पितृसत्तात्मक प्रतिशोध र हत्यालाई उन्मुक्ति दिने नीतिहरू अझै जिउँदो छन्।

अब प्रश्न उठ्छ—कसले बचाउने अर्की ‘दिपा’लाई? कसले दिनेछ न्याय ती स्नेहा र हिमानीका अधूरा सपना र तुहिएका नानीबेलाका गीतहरूलाई?

#सुजन# निवास

प्रकाशित : १४ जेठ २०८२, बुधबार 16:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved