२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

शिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीबाट अस्पताल उद्घाटन गराएर सञ्चालनमा ल्याउने तयारी
द नेप्लिज संवाददाता
१९ जेठ २०८२, सोमबार

Advertisement

विराटनगर– जीवन विकास समाजले कटहरी गाउँपालिका–२ हल्दीबारीमा आम नागरिकलाई सहज र सुलभ रुपमा विश्व स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २ अर्बको लागतमा दुई सय शय्याको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशन निर्माण गरी सञ्चालनको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २४ गते औपचारिक रुपमा अस्पतालको उद्घाटन गरेपछि सञ्चालनमा ल्याउने सञ्चालकले जनाएको हो । 

जीवन विकासले २० विघा क्षेत्रफलमा निर्माण गरेको उक्त अस्पताल मुनाफा रहित अस्पतालको रुपमा सञ्चालन गरिने अस्पताल अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले बताएका छन् । 

स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताएका हुन् । ‘‘जीवन विकास समाजले २०५४ सालमा मोरङको अमाहीबरियातीमा सञ्चालन गरेको २४ घण्टे क्लिनिकलाई जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै आज अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रूपमा परिणत गर्न सफल भएका छौं,’ अध्यक्ष मण्डलले भने, ‘अब यो अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्दै आम नागरिकलाई सुलभ र सहज रुपमा विश्व स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्य छ ।’

‘जीवन विकास सामुदायिक अस्पताल एउटा बिरामीको उपचार गर्ने अस्पताल मात्र नभई सामाजिक न्याय र समानताको प्रतीक पनि भएको उनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका छन् । विपन्न गरीव वर्गका साथै ग्रामिण क्षेत्रवासीलाई सहज रुपमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेको उनको भनाइ थियो । 

अस्पतालमा उपचारका लागि आउने प्रत्येक नेपाली बिरामीलाई १० प्रतिशत छुट, विपन्न गरीव तथा जीवन विकास समाजको स्थापनाकालदेखि योगदान पुर्‍याउनेलाई विशेष छुटको व्यवस्थाका साथै सुलभ औषधी पसलसमेत अस्पतालले नै सञ्चालन गरेर गुणस्तरीय सेवा प्रदान गर्ने प्रण लिएको अध्यक्ष मण्डलले बताएका छन् । भारतीय सीमासँग ५ किलोमिटरको दुरीमा रहेको अस्पतालमा भारतीय बिरामीलाई गुणस्तरी स्वास्थ्य सेवा प्रदान गर्दै क्रमिक रुपमा नेपाली बिरामीलाई सहज रुपमा थप सुलभ सेवाको विस्तार गर्ने योजना रहेको अध्यक्ष मण्डलले बताएका हुन् । 

अस्पतालमा २४ घण्टे आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट अन्तरंग र बहिरंग सेवा, सामान्य तथा पेनलेस डेलिभरी सेवा, सामान्य तथा लेप्रोस्कोपिक शल्यक्रिया, विशेषज्ञ बाल चिकित्सा सेवा, एक्स–रे, अल्ट्रासाउन्ड, अत्याधुनिक प्रविधिबाट ल्यावमा विभिन्न जाँच गर्नेलगायत सबै प्रकारका सेवा प्रवाह गर्ने अध्यक्ष मण्डलले बताए ।

सात तले आधुनिक भवनमा सञ्चालित अस्पतालको भुइँतलामा आकस्मिक सेवा, पहिलो तलामा ओपीडी, रेडियोलोजी र प्याथोलोजी, दोस्रो तलामा एनआईसियू, पीआईसीयु, पेडियाट्रिक र गाइनोकोलोजी वार्ड, तेस्रोमा जनरल वार्ड, चौथो तलामा २५ शैय्याको आईसीयू, १० शैय्याको सीसीयु र एचडियु, पाँचौं तलामा ओटी र पोस्ट–अप्रेशन सेवा रहेको छ।

यस क्षेत्रमा पहिलो पटक मुनाफारहित दुई सय शय्याको सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो । विराटनगरसँगै जोडिएको यो अस्पतालले विराटनगरस्थित दुई वटा शिक्षणलगायत एक दर्जन बढी गुणस्तरी अस्पतालका साथै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, झापाको बी एण्ड सीलगायतका अस्पतालसँग प्रतिस्पद्र्धा गर्दै विश्व स्तरको गुणस्तरीय सेवा सुलभ दरमा आम नागरिकलाई प्रदान गर्ने लक्ष्य लिएको छ । 

२०५४ सालमा गरिवीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएकोमा अब गुणस्तरीय स्वास्थ्य सेवा सुरु गर्ने तयारीमा छ ।

प्रकाशित : १९ जेठ २०८२, सोमबार 20:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved