सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बा कार्यालय परिसरमा उत्पादित बिरुवाको नर्सरी । तस्बिर : देवनारायण साह/द नेप्लिज
सिरहा– मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवको गृह जिल्लामा बिरुवा उत्पादन नै नगरी भुक्तानी भएको छ । मन्त्री यादवको गृह जिल्ला सिरहामा डिभिजन वन कार्यालय लहान, सिरहाले बिरुवा उत्पादनै नगरी भुक्तानी दिएको हो ।
सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाले ३५ हजार बिरुवा उत्पादन गरेर डिभिजन वन कार्यालय लहान, सिरहाबाट कमिशनको बलमा ८० हजार बिरुवाको भूक्तानी लिएको खुलासा भएको छ । डिभिजन वन कार्यालय लहानले सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाका प्रमुख सहायक वन अधिकृत आवेद हुसेनलाई आर्थिक वर्ष २०८१/०८२ मा ४० हजार एक वर्षे र ४० हजार दुई वर्षे गरी ८० हजार बिरुवा उत्पादन कार्यक्रम दिएको हो ।
सहायक वन अधिकृत हुसेनले चोहर्बास्थित सव डिभिजन वन कार्यालय परिसरमा २५ वटा नर्सरी बेडमा र उक्त कार्यालयको उत्तरपट्टी ८ वटा नर्सरी बेडमा बिरुवा उत्पादन गरेको देखियो । कार्यालय परिसरको नर्सरी बेड एक मिटर चौडाई र करिब २० मिटर लम्बाई र उत्तरपट्टीको नर्सरीमा एक मिटर चौडाई र १० मिटर लम्बाईको बेड रहेको देखियो । २० मिटर लम्बाई भएको बेडमा एक वर्षे बिरुवा अधिकतम २३ सय र दुई वर्षे बिरुवा १८ सय उत्पादन क्षमता रहेको वन प्राविधिकको भनाइ छ ।
दुबै नर्सरीमा गरी अधिकतम ६५ हजार बिरुवा उत्पादन क्षमता रहेको तर त्यसमा पनि अधिकतम ५५ प्रतिशत मात्रै बिरुवा रहेको देखियो । सहायक वन अधिकृत हुसेनले दुबै नर्सरीमा अधिकतम ३५ हजार बिरुवा उत्पादन गरेको वन प्राविधिकको भनाइ छ । तर ती बिरुवाहरु पनि गुणस्तरी नरहेको देखियो । अहिलेसम्ममा नर्सरीको बेडमा एक फिटको बिरुवा हुनुपर्नेमा फिल्ड रिपोर्टिङ गर्ने दिनसम्ममा अधिकतम ३ इञ्चसम्मको बिरुवा रहेको देखियो ।
हुसनेले खैयर, इपिल, अमला, समी, सिसौँ, सतिसाल, सिरिस, टिक, खमारी, छतमन, गोल्डमोहर, अम्बा, बकाइन, अनार, कटहर, मसला, तेजपात, अर्जुन प्रजातिका बिरुवा उत्पादन गरेका हुन् । उनले नर्सरीमा बिरुवाको प्रुनिङ्ग र ग्रडिङ समेत नगरी त्यस वापतको रकम अनियमितता गरेको हो । सहायक वन अधिकृत हुसेनले नसरीको बेडमा बाहिर जिल्लाबाट १/२ रुपैयाँ दरमा बिरुवा खरिद गरेर ल्याई राखेको र त्यो पनि अधिकांश सुकिसकेको पाइयो ।
एक वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा १० रुपैयाँ र दुई वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा २० रुपैयाँ बजेट रहेको छ । यो हिसाबले ४० हजार एक वर्षे बिरुवा उत्पादनका लागि ४ लाख र ४० हजार दुई वर्षे बिरुवा उत्पादनका लागि ८ लाख बजेट सहायक वन अधिकृत हुसेनलाई डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले कमिशनको बलमा भुक्तानी दिएको छ ।
Shares