विराटनगर— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई समर्थन गर्दै आएका जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीले माफी माग्न निर्देशन दिएपनि तामाङले अस्वीकार गरेपछि बर्खास्त गर्ने निर्णयमा पुगेका हुन् ।
प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजू राणा देउवामार्फत तामाङलाई बालुवाटार बोलाई माफी माग्न आग्रह गरेका थिए । तर, आफूले कुनै गल्ती नगरेको दाबी गर्दै तामाङले प्रधानमन्त्रीसँग माफी नमाग्ने अडान राखेका थिए ।
गृहमन्त्रीमार्फत बुधबार साँझ पुनः बालुवाटार आउन भनिए पनि तामाङले अस्वीकार गरेपछि गृहमन्त्रीले राजीनामा दिन सुझाव दिएका थिए । तर तामाङले आफू पार्टी सभापति शेरबहादुर देउवाको सिफारिसमा सरकारमा गएको भन्दै राजीनामा दिन अस्वीकार गरे ।
तामाङको बर्खास्तीको मूल कारण नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङप्रति उनको समर्थन रहेको बताइएको छ । तामाङले घिसिङलाई हटाउनु नपर्ने अडान राख्दै आएका थिए । यही विषयमा ऊर्जामन्त्री दीपक खड्कासँग तामाङबीच मतभेद चुलिँदो थियो । मन्त्री खड्काले तामाङलाई हटाउन सभापति देउवासँग पटक–पटक आग्रह गरेका थिए ।
कांग्रेसकै अर्का एक मन्त्रीले समेत घिसिङको पक्षमा वकालत गरेको र सचिव सुरेश आचार्यलाई स्पष्टिकरण सोधिएको थियो । प्रधानमन्त्री ओली यस विषयमा असन्तुष्ट रहेको र तामाङलाई एकपटक माफी माग्न आग्रह गरिएको स्रोतले जनाएको छ ।
तामाङले भने आफू बर्खास्त भएको जानकारी बुधबार साँझ ५ बजे गृहमन्त्रीको फोनमार्फत थाहा पाएको बताए । ‘गृहमन्त्रीले राजीनामा माग्नुभयो, मैले पार्टीले पठाएको हुँ, पार्टीले फिर्ता बोलाउनु पर्छ भनेँ,’ तामाङले प्रतिक्रिया दिँदै भने । उनले थपे, ‘बर्खास्त गर्ने प्रधानमन्त्रीको अधिकार हो । तर उनीहरू पनि सधैं पदमा बस्दैनन् । केही महिनाको कुरा हो ।’
यसअघि चैत २८ मा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्न आयोजना गरेको बैठकमा पनि तामाङले रामेछापका साना आयोजना आवश्यक रहेको विषय उठाएका थिए । प्रधानमन्त्रीले ३ करोडभन्दा कमका योजना नल्याउन निर्देशन दिएपछि उक्त प्रस्तावले पनि ओलीलाई असन्तुष्ट बनाएको स्रोतले जनाएको छ ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares