२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

टर्कीलाई चोट

द नेप्लिज संवाददाता
९ जेठ २०८२, शुक्रबार

Advertisement

विराटनगर– पाकिस्तानप्रति समर्थन जनाउँदै भारतसँग निहुँ खोज्ने टर्की अहिले आफैं व्यापारिक नोक्सानीको दलदलमा फसेको छ । दक्षिण एसियाका दुई परमाणु राष्ट्रबीच चर्किएको तनावमा टर्कीले पाकिस्तानको पक्ष लिँदा भारतले एक पछि अर्को कडा प्रतिक्रिया जनाउँदै टर्कीका उत्पादन र सेवाहरूलाई बहिष्कार गर्न थालेको छ ।

यद्यपि भारतले अहिलेसम्म टर्कीमाथि आधिकारिक प्रतिबन्ध घोषणा गरेको छैन, तर प्रमुख वितरक, ई–कमर्स प्लेटफर्म, ट्राभल कम्पनीदेखि विश्वविद्यालयसम्मले टर्कीसँग सम्पर्क विच्छेद गरिरहेका छन् । ‘राष्ट्रिय हित’को नारामा सामेल हुँदै भारतीय बजारमा ३बायकटटर्की अभियान तीव्र गतिमा फैलिएको छ ।

राजनीतिक समर्थनको व्यापारिक शिकार
कश्मीरमा पर्यटकहरूमाथिको आक्रमणपछि पाकिस्तानमाथि भारतीय कारबाही चलेको थियो । त्यसको भोलिपल्टै टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले पाकिस्तानको समर्थनमा बोलेपछि भारतले प्रतिक्रिया जनाउन सुरु गर्यो ।
त्यसपछि पाकिस्तानले टर्कीका ड्रोनहरू प्रयोग गरेको खबरले भारतीय जनमतमा आगो थप्यो ।

भारतीय वायुसेनाले भने सार्वजनिकरूपमा देशको वायु सुरक्षा प्रणाली बलियो भएकाले टर्कीका ड्रोन वा अन्य कुनै खतरा प्रभावकारी हुन नसकेको दाबी गरेको छ । तथापि टर्कीका उत्पादनहरूबारे भारतमा अविश्वास झन गहिरिँदै गएको छ ।

बहिष्कारको असर : अर्बौं डलरको व्यापार संकटमा
भारतले हरेक वर्ष टर्कीबाट करिब २.७ अर्ब डलर बराबरको सामान आयात गर्छ । तर अखिल भारतीय उपभोक्ता उत्पादक वितरक महासंघले टर्कीका सम्पूर्ण उत्पादन बहिष्कार गर्ने निर्णय गरेसँगै टर्कीका खाद्य निर्यातकहरूले वार्षिक २३४ मिलियन डलरभन्दा बढी घाटा बेहोर्न सक्ने अनुमान गरिएको छ ।

ई–कमर्स कम्पनी फ्लिप्कार्टको फेसन शाखा मिन्ट्राले टर्कीका ब्रान्डहरू (जस्तै ट्रेन्डियोल, एलसी वाइकिकी, मावी) हटाइसकेको छ । रिलायन्सको अजिओ प्लेटफर्मले समेत यस्तै संकेत दिएको छ ।

यात्रा, शिक्षा र मनोरञ्जनमा टर्की बहिष्कार
मेकमाइट्रिप, क्लियरट्रिप, इक्सिगो, इजिमाइट्रिपजस्ता प्रमुख बुकिङ प्लेटफर्महरूले टर्की र अजरबैजानसम्बन्धी सेवा स्थगित गरेका छन् । इजिमाइट्रिपका अनुसार टर्की गन्तव्यका लागि बुकिङ ६० प्रतिशतले घटेको छ भने रद्द गर्ने दर २५० प्रतिशतले बढेको छ ।

भारतका प्रमुख विश्वविद्यालयहरूले समेत टर्कीसँगका शैक्षिक आदानप्रदान कार्यक्रम स्थगित गरेका छन् । आईआईटी बम्बई, जेएनयू, जामिया मिलिया, चण्डीगढ़ युनिभर्सिटीजस्ता प्रतिष्ठानहरू टर्कीबाट पूर्णरूपमा अलग भएका छन् ।

विमानस्थल सेवा पनि बन्द
भारत सरकारले टर्कीको सेलेबी कम्पनीलाई दिल्ली, मुम्बईलगायत ९ विमानस्थलमा दिइएको सेवा स्वीकृति रद्द गरेको छ । यसले भारतको सुरक्षा प्राथमिकतालाई स्पष्ट संकेत गरेको छ ।

पाकिस्तानको पक्षमा उभिनु टर्कीका लागि राजनीतिक हिसाबले समीचीन (उपयुक्त) लागे पनि व्यापारिक हिसाबले यो कदम निकै महँगो साबित हुँदै गएको छ । भारतको ‘सस्तोमा तिर्खा मेटाउने’ विशाल बजार गुमाउनु टर्कीका लागि केवल आर्थिक नभएर रणनीतिक क्षतिका रूपमा देखिँदैछ ।

# टर्की 

प्रकाशित : ९ जेठ २०८२, शुक्रबार 14:14
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved