विराटनगर– पाकिस्तानको संघीय राजधानी इस्लामाबादस्थित आफ्नै निवासमा १७ वर्षीया सामाजिक सञ्जाल स्टार/सेलिब्रेटी सना युसुफको गोली हानी हत्या भएपछि प्रहरीको टोलीले घटनाबारे हत्या अनुसन्धान सुरु गरेको छ।यो घटनाले विशेषगरी सार्वजनिक व्यक्तित्व भएकाहरूको सुरक्षाप्रति पुनः गम्भीर चिन्ता व्यक्त गराएको छ। महिला सुरक्षा र सम्मानजनक अभिव्यक्तिप्रतिको बहस फेरि चर्किएको छ ।
इस्लामाबादको सेक्टर जी–१३ मा सोमबार साँझ करिब ५ बजे भएको यो घटनामा युसुफलाई नजिकबाट दुई राउन्ड गोली हानिएको थियो। प्रहरीका अनुसार घटनास्थलमै गम्भीर घाइते भएकी उनलाई तत्काल अस्पताल पुर्याइए पनि मृत्यु भइसकेको थियो।
प्रहरी अधिकृत मलिक आसिफले दिएको जानकारी अनुसार हत्या पीडितकै घरभित्र भएको हो र अपराधी पहिचानको दायरामा पर्ने, चिनेजानेको व्यक्ति हुनसक्छ भन्ने देखिन्छ।सनाको स्थायी घर खैबर पख्तूनख्वा प्रान्तको चित्राल जिल्ला हो तर उनी केही समयदेखि परिवारसँग इस्लामाबादमै बस्दै आएकी थिइन् । टिकटकमा मात्रै उनलाई ८१ हजारले पछ्याउँछन् । सोमबार मात्र उनले आफ्नो जन्मदिनको भिडियो इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।
सनाकी आमाको जाहेरीका आधारमा हाल अज्ञात अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिएको छ। उनका अनुसार शंकास्पद ‘स्मार्ट देखिने, सामान्य शरीर बनावट र उचाइको’ व्यक्ति थिए, जसले कालो सर्ट र पाइन्ट लगाएका थिए। घटनाको बेला उनी र उनकी भिनाजुको श्रीमती दुवै घरमै थिए र अपराधीलाई पहिचान गर्न सक्ने स्थिति रहेको बताएका छन्।
चित्रालकी सना टिकटक र इन्स्टाग्राममा गरी झण्डै १३ लाख फलोअर भएकी लोकप्रिय किशोरी थिइन्। उनले सांस्कृतिक सामग्री, महिलाको अधिकार, युवा सशक्तिकरण, जीवनशैली र प्रेरणादायक सन्देशहरूका कारण व्यापक जनसमर्थन पाएकी थिइन्।
घटनापछि सामाजिक सञ्जालमा #JusticeForSanaYousuf ट्रेन्ड भइरहेको छ। प्रशंसक र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष अनुसन्धान र न्यायको माग गरिरहेका छन्।
प्रहरीले हत्या पछाडि विभिन्न सम्भावित कारणहरूमा अनुसन्धान गरिरहेको जनाएका छन्, जसमा ‘अनर किलिङ’ (इज्जतको नाममा हत्या) पनि एक प्रमुख आशंका हो। पाकिस्तानमा विगतमा पनि सामाजिक सञ्जाल प्रयोग गर्ने युवतीहरूसँग यस्ता अपराधहरू दोहोरिएका छन्।
यसै वर्ष जनवरीमा अमेरिकाबाट फर्किएको एक पुरुषले आफ्नी १५ वर्षीया छोरीलाई टिकटक सामग्री बनाएको भन्दै गोली हानी हत्या गरेको घटना सार्वजनिक भएको थियो। यसअघि पाकिस्तानको पञ्जाबमा टिकटकर इकरा आजमको आफन्तले नै हत्या गरेको समाचार सार्वजनिक भएको थियो ।
पाकिस्तानमा हाल ५ करोड ४० लाखभन्दा बढी मानिस टिकटक प्रयोग गर्ने बताइन्छ। यद्यपि सरकारले आपत्तिजनक सामग्री भन्दै पटक–पटक यो एपमा प्रतिबन्ध लगाउँदै आएको छ। सन् २०२१ मा मात्र चार पटक प्रतिबन्ध लगाइएको थियो। अहिले टिकटक सीमित निगरानी र कडा नियमनसहित सञ्चालनमा रहेको छ।
सनाको हत्याले पाकिस्तानमा महिला अभिव्यक्ति, सामाजिक स्वतन्त्रता र डिजिटल सुरक्षासम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ। सामाजिक सञ्जालमा हजारौँ प्रयोगकर्ताहरू शोक, आक्रोश र न्यायको मागसहित आवाज उठाइरहेका छन्। यस घटनाले पाकिस्तानमा महिला स्रष्टाहरूको जीवन कति असुरक्षित हुनसक्छ भन्ने पीडादायक यथार्थ उजागर गरेको छ।
#सना# युसुफ
विश्व/प्रवास
२५ करोड मौरी भागेपछि अमेरिकी प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताभारतीय विश्वविद्यालयमा नेपाली छात्राको रहस्यमय मृत्यु, पाँच जनाविरुद्ध जाहेरी, मुख्य आरोपित फरार
द नेप्लिज संवाददाताआजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares