२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

अमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव

द नेप्लिज संवाददाता
२३ जेठ २०८२, शुक्रबार

Advertisement

विराटनगर— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपाली आप्रवासीहरूलाई दिँदै आएको ‘टेम्पररी प्रोटेक्टेड स्ट्याटस’(टीपीएस) सुविधा अन्त्य गर्ने औपचारिक घोषणा गरेको छ। अमेरिकाले सन् २०१५ को भूकम्पपछि नेपालीलाई अस्थायी सुरक्षा सुविधा (टीपीएस) दिएको थियो।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस)ले बिहीबार संक्षिप्त विज्ञप्ति जारी गर्दै टीपीएसको भरमा अमेरिकामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई अमेरिका छोड्ने तयारी गर्न आग्रह गरेको हो।

यूएससीआईएसका अनुसार नेपालले सन् २०१५ मा गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय प्रगति गरेकाले अब टीपीएसको मापदण्ड पूरा नगर्ने निष्कर्ष निकालिएको छ। विभागका अनुसार ध्वस्त भएका घरमध्ये करिब ८८ प्रतिशतको पुनःनिर्माण भइसकेको छ।

टीपीएस सुविधा अमेरिका सरकारले नेपालीलाई पहिलोपटक २०१५ को जुन महिनामा दिएको थियो। सामान्यतः १८ महिनाका लागि प्रदान गरिने यो सुविधा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा २०१६ अक्टोबरमा पहिलोपटक नवीकरण गरिएको थियो।

तर ट्रम्प प्रशासनको गृह सुरक्षा विभागले सन् २०१८ मै यो सुविधा खारेज गर्ने प्रयास गरेको थियो। त्यसविरुद्ध इमिग्रेशन अधिकारकर्मीहरूले अदालतमा मुद्दा हालेपछि प्रशासन बाध्य भएर २०२० मार्च, २०२१ जनवरी र २०२२ सम्म टीपीएस निरन्तरता दिनुपरेको थियो।

पछि बाइडेन प्रशासनले यो सुविधा दुईपटक थप गर्दै सन् २०२५ को जुन २४ सम्म लम्ब्याएको थियो। तर पछिल्लो निर्णयअनुसार अब नेपालीहरूको टीपीएस सिधै २०२५ अगस्त ५ मा समाप्त हुनेछ।

अमेरिकी गृह सुरक्षा विभागले स्पष्ट पारेको छ कि नेपालले भूकम्पपछिको पुनःनिर्माण, प्राकृतिक प्रकोप तयारी र प्रतिकार क्षमतामा पर्याप्त सुधार गरिसकेकोले आफ्ना नागरिकको पुनःस्थापनाका लागि सक्षम भइसकेको ठहर गरिएको छ।

‘नेपाल अब आफ्ना नागरिकको फिर्तालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा पुगेको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘त्यसैले गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विदेश मन्त्रालयसँगको परामर्शपछि यो निर्णय लिएकी हुन्।”

हाल अमेरिका बसिरहेका करिब ७ हजार ५ सय नेपाली टीपीएसधारीहरूलाई स्वयं निर्वासन प्रक्रिया सुरु गर्न ’सीबीपी होम एप’ को प्रयोग गरी तयारी गर्न सूचित गरिएको छ।

यहीबीच अमेरिकी विदेश विभागले नेपाललाई यात्राको दृष्टिले ‘स्तर २ः बढी सतर्कता अपनाउनुहोस्’को श्रेणीमा राखेको छ, जुन राजनीतिक हिंसाको जोखिमका कारण गरिएको हो।                                                                               

अमेरिकाबाट एकैपटक सबैभन्दा ठूलो संख्यामा नेपाली डिपोर्ट

अमेरिकाले एकैपटक हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । डिपोर्ट गरिएका ती नेपाली आउँदो आइतबार (जेठ २५ ) मा काठमाडौँ आइपुग्ने भएका छन् ।

‘काठमाडौंस्थित अमेरिकी दूतावासले एकसाथ ठूलो संख्यामा अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली आइतबार काठमाडौँ आइपुग्ने जानकारी गराएको छ । उनीहरूलाई बुझ्नका लागि आवश्यक तयारी गर्न सूचित गरिएको अध्यागमन विभागले जनाएको छ । 

डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएपछि हालसम्म अमेरिकाले १ सय ४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । ती सबै नेपाल फर्किसकेका छन् । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ ।

अमेरिकाबाट नेपाली डिपोर्ट हुने प्रक्रिया अघि बढ्दा काठमाडौँस्थित अमेरिकी दूतावासले त्यसबारे जानकारी दिने चलन छ । डिपोर्ट गरिएकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मामा बुझाइन्छ । प्रहरीले उनीहरूसँग प्रारम्भिक सोधपुछ गर्छ । विशेषतः उनीहरूलाई अमेरिका पुर्‍याउने मानव तस्करहरूको पहिचानका लागि जानकारी संकलन गरिन्छ ।

प्रायः अवैध बाटोबाट अमेरिका पुगेका, बिना भिसा बसोबास गरेका वा गलत उद्देश्यले प्रवेश गरेका व्यक्तिहरूलाई डिपोर्ट गरिएको हो ।

ट्रम्पले राष्ट्रपतिको निर्वाचन अभियानमै आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । शपथ लिएलगत्तै उनले अवैध आप्रवासी निष्कासनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरे । त्यसपछि ट्रम्प प्रशासनले निष्कासनको सूची सार्वजनिक गरेको थियो, जसमा एक हजार ३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीको नाम थियो ।

सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । जो बाइडेनको राष्ट्रपति कालमा एक वर्षमा डिपोर्ट भएका जति नेपाली ट्रम्पको कार्यकालमा झन्डै त्यति नै संख्यामा महिनैपिच्छे डिपोर्ट भइरहेका छन् ।

#नेपाली #आप्रवासी

प्रकाशित : २३ जेठ २०८२, शुक्रबार 07:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved