६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

सम्पादकीय

चोली राम्रो पाल्पाली ढाकाको...

जितेन्द्र साह
६ चैत २०८१, बुधबार

Advertisement

विराटनगर-  'चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको..' ।  यो गीतले नेपाली ढाकाको सौन्दर्यको मात्र होइन, यसको सांस्कृतिक महत्वको पनि प्रतिनिधित्व गर्छ।

तर अब ढाका पाल्पा, भक्तपुर र तेह्रथुममा मात्र सीमित छैन । पाँचथरे ढाकाको चोली र अन्य सामग्री पनि गजबकै हुन्छ । अब ढाकाले स्वदेश र विदेशमा बसेका नेपालीलाई जोड्ने एवं चिनाउने पहिरन बनेको छ । यसबाट बन्ने विविध आकर्षण सामान विदेशी पाहुनाको विशेष रोजाइमा पर्छ ।

ढाका कपडा कुनै साधारण वस्त्र होइन, यो नेपालका धेरै समुदायको पहिचान हो, हस्तकला हो र अहिले विश्व बजारसम्म फैलिएको एक मौलिक ब्रान्ड हो।

नेपालको पहाडी, हिमाली र तराई भूभागलाई एउटै डोरीमा बाँध्ने ढाका कपडाले हाम्रो संस्कृति, इतिहास, र उद्यमशीलताको गहिरो कथा बोल्छ। पाल्पाली ढाका होस् वा लिम्बूनी ढाका, यसको बुट्टा, रङ, डिजाइन हाम्रा पुर्खाले सिपालु हातहरूले बुनेको पहिचान हो।

तर आज, ढाका उद्योग दुई धारबीच उभिएको छ—एकातिर यसको लोकप्रियता बढ्दै गएको छ । अर्कोतिर सस्तो, आयातित कपडाले नेपाली ढाकालाई चुनौती दिइरहेको छ। यदि सरकारले, व्यवसायीहरूले र उपभोक्ताहरूले यसको जगेर्ना गर्न सकेनन् भने ढाका भविष्यमा केवल स्मृतिमा सीमित हुनसक्छ।

एक सानो तानबाट सुरु भएको ढाका व्यवसाय अहिले हजारौं नेपालीको जीविकोपार्जनको स्रोत बनेको छ। पाँचथरकी इन्द्रकला खनालजस्तै धेरै उद्यमशील महिलाहरूले साना ढाका उद्योग चलाएर रोजगार सिर्जना गरिरहेका छन्। सरकारको सही नीति र प्रविधिको आधुनिकीकरणले यो उद्योग अझ फैलन सक्छ।

आज नेपालका होटलदेखि फेसन हाउससम्म ढाका समावेश हुन थालेको छ। युवाहरू यसलाई फेसनको रूपमा आत्मसात गर्दैछन्। यो खुसीको कुरा हो, तर यो प्रवृत्तिलाई दिगो बनाउन आवश्यक छ। नेपाल सरकारले ढाकालाई भौगोलिक संकेत (जीआई) ट्याग प्रदान गर्न पहल गर्नुपर्छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली ढाकाको मौलिकता सुरक्षित गर्छ।

नेपालबाट अमेरिका, जापान, जर्मनी, क्यानडा, नेदरल्यान्ड्ससम्म ढाका कपडा निर्यात भइरहेको छ। यो सुखद संकेत हो । तर अझ प्रतिस्पर्धी हुन गुणस्तर सुधार, उत्पादन क्षमता वृद्धि र नवीन डिजाइनको विकास आवश्यक छ।

अहिलेको चुनौती भनेको सस्तो चिनियाँ र बंगलादेशी कपडासँगको प्रतिस्पर्धा हो। ढाका उद्योगले आफ्नो पहिचान बचाइराख्न ब्रान्डिङ, डिजिटल मार्केटिङ, र अनलाइन बिक्री प्रवर्द्धन गर्नुपर्छ।

ढाका हाम्रो इतिहास मात्र होइन, हाम्रो सामूहिक पहिचान हो। विवाहदेखि विशेष समारोहसम्म ढाका अनिवार्य बन्नु, सरकारी निकायहरूमा ढाका सामग्रीको प्रयोग बढ्नु, स्कुल-कलजका पोसाकमा यसको समावेश हुनुले यसको महत्व झल्काउँछ।

ढाका महोत्सवजस्ता पहलले यसको प्रवर्द्धनलाई अझ बल पुर्‍याउँछ। यस्तो प्रयास निरन्तर हुन आवश्यक छ। नेपाली ढाका केवल कपडा होइन, यो परिश्रम, पहिचान, र नेपालकै सांस्कृतिक सम्पत्ति हो।

यदि हामीले यसको सही संरक्षण, प्रवर्द्धन, र व्यावसायिक विकास गर्न सक्यौं भने, यो नेपालकै विश्वव्यापी ब्रान्ड बन्न सक्छ। ढाकालाई केवल परम्परा होइन, सम्भावनाको रूपमा हेर्ने समय आएको छ।

'चोली राम्रो पाल्पाली ढाकाको...' गीत जस्तै नेपाली ढाकाको कथा पनि सदाबहार रहोस् ।

प्रकाशित : ६ चैत २०८१, बुधबार 08:30
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved