विराटनगर— ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदैछ।
सन् २०१८ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि प्रत्येक वर्ष जुन ७ लाई ‘विश्व खाद्य स्वच्छता दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । नेपालमा पनि सोहीअनुसार दिवस मनाउने परम्परा सुरु भएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस वर्ष जेठ १८ को आइतबारदेखि २४ जेठ, शनिबारसम्म साताव्यापी कार्यक्रम गरी दिवस मनाइरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
२०० रोग र ४ लाख २० हजारको मृत्यु
विश्व स्वास्थ्य संगठनका अनुसार अस्वच्छ तथा दूषित खाद्य पदार्थका कारण विश्वभर झाडापखालादेखि क्यान्सरसम्मका २ सय भन्दा बढी रोग लाग्छ। प्रत्येक १० जनामध्ये एक जना विषालु खानाका कारणले बिरामी पर्छन्। यस्ता खाद्यजन्य रोगका कारण विश्वमा हरेक वर्ष करिब ४ लाख २० हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ। तीमध्ये झाडापखालाबाट मात्रै ५५ करोड मानव बिरामी हुने र करिब २ लाख ३० हजारको मृत्यु हुने उल्लेख गरिएको छ।
नेपालमा भने सन् २०१९ अगावैदेखि खाद्य स्वच्छता दिवस मनाउन थालिएको हो। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार विभागले २०६५ देखि नै खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ।
विषादी, रोगनिरोधक औषधि र ढुसीजन्य विषको संकट
स्वास्थ्य संगठनकै पछिल्लो अध्ययनले तरकारी तथा फलफूलमा प्रयोग हुने जीवनाशक विषादी, पशुपन्छीजन्य खाद्य वस्तुमा रहने रोगनिरोधक औषधिको अंश तथा अन्नपातमा देखिने ढुसीजन्य विषलाई प्रमुख खाद्य संकटको कारक मानेको छ।
नेपालको संविधानले हरेक नागरिकलाई पर्याप्त, सुरक्षित र पोषणयुक्त खाद्य उपलब्ध गराउने हक सुनिश्चित गरिसकेको छ। सोहीअनुसार खाद्य स्वच्छता र गुणस्तर नियमनलाई सुदृढ बनाउने उद्देश्यसहित संघीय संसदले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ पारित गरेको छ। उक्त ऐनले खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक आधारमा स्वच्छता र गुणस्तर निर्धारण गर्दै यसको प्रभावकारी नियमन गर्न कानुनी व्यवस्था गरेको छ।
सम्बद्ध निकायको सहकार्यमा दिवस मनाइँदै
दिवसको सन्देशलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न सरकारी तथा गैरसरकारी संस्था, खाद्य उद्योग, उपभोक्ता संरक्षणसँग जोडिएका निकायहरू, पोषण तथा खाद्य क्षेत्रमा क्रियाशील सङ्घसंस्था तथा अन्तरराष्ट्रिय सहकार्य संस्थाबीच समन्वय गरिएको विभागले जनाएको छ।
स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य उपभोग नै नागरिक स्वास्थ्यका लागि आधारभूत सर्त हो भन्ने सन्देशसहित यो दिवस मनाइँदैछ। दिवसले आम उपभोक्तामा खानेकुराको स्वच्छता र सुरक्षाप्रति चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
#विश्व #खाद्य #स्वच्छता #दिवस
स्वास्थ्य
मलेरियाविरुद्धको नयाँ रणनीति : झुलमै लगाइने औषधिले लामखुट्टेलाई परजीवीमुक्त बनाउने हार्वर्डको खोज
द नेप्लिज संवाददातासात जनामा कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयले सतर्कता बढायो
पालिकाकाे अस्पतालमा राज्यले चिकित्सक उपलब्ध गराउनुपर्छ : शेखर काेइराला
द नेप्लिज संवाददाताटाउको र घाँटीको क्यान्सर पीडितका लागि आशा जगाउने खबर
द नेप्लिज संवाददाताशिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares