२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

बकर ईद धूमधामसँग मनाइँदै, मस्जिदमा मुस्लिम धर्मावलम्बीको घुइँचो

द नेप्लिज संवाददाता
२४ जेठ २०८२, शनिबार

Advertisement

विराटनगर–मुस्लिम समुदायको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज मस्जिद तथा इदगाहहरूमा धार्मिक श्रद्धा र उल्लासपूर्वक मनाइँदैछ। रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरूले बिहानै स्नान गरी मस्जिद वा इदगाह पुगेर सामूहिक नमाज अदा गरेका छन्। नमाजपछि एकअर्कालाई अंकमाल गर्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिदहरूमा मुस्लिम धर्मावलम्बीहरूको घुइँचो लागेको छ। हिजरी संवतअनुसार १४४० वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेहिस्सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

मौलाना रहमत अलीका अनुसार यही इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा इस्लाम धर्मका प्रवर्तक मोहम्मद सलल्लाहु अलैहि वसल्लमको जन्म भएको थियो। उनले हदिस नामक इस्लामी धर्मग्रन्थको रचना गरी धर्मको शिक्षालाई पुस्तान्तर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

‘मक्कामा जन्मिएपछि ५३ वर्षको उमेरमा मोहम्मद सलल्लाह मदिनामा सर्नुभएको थियो। उहाँको स्मरणमा मक्का र मदिना तीर्थस्थलमा हालसमेत ठूलो मेला लाग्ने गरेको छ,’ मौलाना अलीले सुनाए।

बकर ईदको अवसरमा हज गर्न मक्का–मदिना जानुलाई शुभ मानिन्छ। नेपाल सरकारको गृह मन्त्रालयले आउने–जाने विमान टिकटको व्यवस्था गरी हज यात्रा सञ्चालन गर्दै आएको छ। त्यसका लागि मन्त्रालयअन्तर्गत हज समिति सचिवालयको स्थापना समेत गरिएको छ। तर हजमा जान नसक्नेहरूले घरमै कुर्बानी गरी पर्व मनाउने गर्छन्।

मुस्लिम धर्मअनुसार बकर ईदको मूल उद्देश्य हज यात्रासँगै अल्लाहलाई प्रसन्न पार्न ‘कुर्बानी’ गर्नु हो। धर्मले स्वीकृत गरेका जनावरलाई बलिदान दिने चलन छ। धार्मिक मान्यताअनुसार ९० वर्षको उमेरमा इब्राहिमले पत्नी हाजराबाट पाएका छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश अल्लाहबाट प्राप्त भएको थियो। आदेश पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको स्थानमा स्वर्गबाट पठाइएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ।

कुर्बानीको मासु तीन भागमा बाँड्ने धार्मिक परम्परा छ — एक भाग विपन्न र गरिबलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफैँले उपभोग गर्ने।नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार बकर ईद तीन दिनसम्म मनाइन्छ र हरेक दिन कुर्बानी गर्ने विधि रहन्छ। 

#इदुल जोहा


प्रकाशित : २४ जेठ २०८२, शनिबार 07:38
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved