विराटनगर– भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङको खोटेहाङ र जन्तेढुङ्गा जोड्ने सावा खोलाको सडक पुल शनिबार उद्घाटन गरेका छन् ।
खोटेहाङ गाउँपालिका–७ र जन्तेढुंगा गाउँपालिका–५ जोड्ने उक्त पुलको निर्माण भएपछि दुबै पालिकाबीचको प्राकृतिक नाकाबन्दी तोडिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा उक्त पुलको निर्माण सम्पन्न गर्न प्रादेशिक सडकपुल सहयोग एकाई इटहरीको प्राविधिक सहयोग रहेको मन्त्रालयका सचिव अशोक साहले बताएका छन् ।
निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्का लिएको थियो । पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको मन्त्रालयले जनाएको छ । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१.४० मिटर लामो उक्त पुलको चौडाई ८.४० मिटर रहेको छ भने फुटपाथको चौडाई १.२० मिटर दुवैतर्फ रहेको छ ।
पुल उद्घाटनपछि मन्त्री राईले नागरिकलाई तथा खोटाङलाई पछि पार्ने छुट अब कसैलाई नरहेको भन्ने सबैले प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् । उनले अब अधुरा योजनाहरु जहिलेको चुनावी मुद्दा नबन्ने उनले प्रतिबद्धता जनाएका हुन् ।
‘धाप्लाङघाट र बङ्शिलाघाटको मुद्दा पनि टुग्याउनु पर्छ र ठूल्ठूला योजनाहरु मात्रै अब राजनीतिक मुद्दा बन्नुपर्छ नागरिककोबीचमा भोट माग्दै गर्दा,’ उनले भने, ‘अब वर्षौँ एउटै मुद्दा देखाएर भोट माग्ने, मन्त्री, सांसद, जनप्रतिनिधि हुने अनि नागरिकले कहिल्यै पनि त्यसको अनुभूति नगर्ने व्यवस्था हो र यो ? लोकतान्त्रिक व्यवस्था मञ्चमा बस्नेहरु होइन, नागरिक बलियो हुने व्यवस्था हो । मतदान गर्ने मान्छे बलियो हुन्छ तर त्यो यहाँ देखिएन । जहिल्यै एउटै मान्छे चुनाव जित्ने तर भोट हाल्ने नागरिक पराजित भइरहने अवस्था आयो, खोटाङले कहिल्यै जितेन तर खोटाङबाट थुप्रै मान्छे जित्यो ।’
अब ठूला–ठूला नयाँ आयोजना बनाउने मुद्दा बन्नुपर्ने मन्त्री राईको भनाइ थियो । ‘जहिल्यै बन्न नसकेका विकास निर्माणका आयोजनाहरु चुनावी मुद्दा बन्नु हुँदैन,’ उनले भने, ‘चुनावको बेलामा आएको विकासको बाढी अरुबेला आयो कि आएन भनेर जनताले सोध्नुपर्ने व्यवस्था हो अहिलेको र अब त्यो सोध्नु पर्छ ।’
प्रदेश
प्रदेश सरकारप्रति कांग्रेस प्रमुख सचेतक तामाङको आक्रोशः यो एकलौटी सरकारमा बस्नु भन्दा प्रतिपक्षमा नै गर्व हुन्छ
द नेप्लिज संवाददाताकोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदै
द नेप्लिज संवाददाताअबैध असुलीमा लागेका मधेश प्रदेशका वन तथा वातावरणमन्त्री साह फिर्ता, यादवलाई जिम्मेवारी
द नेप्लिज संवाददातामन्त्री राईद्वारा कोशीका उत्कृष्ट १० जना महिला उद्यमी पुरस्कृत
द नेप्लिज संवाददाताराइड सेयरिङ नीतिमा पछि नहट्ने गण्डकी सरकार, वार्षिक नीति तथा कार्यक्रममा नियमन र व्यवस्थापनको अडान
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares