९ वैशाख २०८२, मङ्गलबार 22 Apr 2025, Tuesday

दुर्गा प्रसाईंमाथि बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दा

द नेप्लिज संवाददाता
८ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर — विवादास्पद व्यवसायी तथा राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी गम्भीर मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । ब्युरोले चैत्र १७ मा उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

ब्युरोकाका अनुसार उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर उनीविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ । प्रसाईं र उनका परिवारको स्वामित्वमा रहेका विभिन्न फर्म तथा कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा उल्लेखित प्रयोजन विपरीत प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले भनेको छ ।

ब्युरोका अनुसार उनको खातामा गरिएको शंकास्पद कारोबार र केही रकमको स्रोत अस्पष्ट रहेको पाइयो । यसै विषयमा नेपाल राष्ट्र बैंकले माघ २३ मा सीआईबीलाई पत्राचार गर्दै प्रसाईंमाथि गम्भीर प्रकृतिका बैंकिङ अनियमितता रहेको भन्दै अनुसन्धान र कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले प्रसाईंमाथि लगाएको आरोपहरुमा कर्जाको रकम अन्य प्रयोजनमा खर्च गर्ने, नयाँ कर्जा उठाएर पुराना कर्जा तिर्ने, भुक्तानी भाखा नाघेर साँवा–ब्याज तिर्न असफल हुने र परियोजनाको आवश्यकताभन्दा बढी कर्जा लिने र एकै व्यक्ति वा समूहद्वारा नियन्त्रित धेरै फर्ममार्फत लेनदेन गर्ने लगायत छन् ।

दुर्गा प्रसाईंले चैत १५ मा राजधानीको तीनकुने क्षेत्रमा आयोजित राजावादी प्रदर्शनमा सक्रिय भूमिका खेलेका थिए । उनले निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीलाई गाडीले ठक्कर दिइ भाग्ने प्रयास गरेका थिए भने भीडलाई हिंसक बन्न पनि उत्तेजित पारेको आरोप लागेको छ ।

त्यसपछि उनी भारतको आसाम राज्य पुगेर नेपाली भाषीको घरमा लुकेर बसेका थिए । प्रहरीले भारत सरकारसँगको समन्वयमा उनलाई नेपाल ल्याइ नियन्त्रणमा लिएको हो । हाल उनी प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । जिल्ला प्रहरी परिसरले उनीमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाइरहेको छ । सीआईबीले पनि काठमाडौँ प्रहरीसँग सहकार्य गर्दै उनीसँग बयान लिने र आर्थिक पक्षको विस्तृत अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित : ८ वैशाख २०८२, सोमबार 22:41

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved