३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

प्रकाशकीय

‘द नेप्लिज डट कम’ अनलाइन पत्रिकाको शुभारम्भ !

आदरणीय एवं स्नेही !
देव नारायण साह
२४ माघ २०८१, बिहीबार

Advertisement

झण्डै दुई दशक कान्तिपुर राष्ट्रिय दैनिकमा रिपोर्टर भएर सक्रीय रहँदा विभिन्न स्वार्थ समूहले समाचार लेखेकै कारण तीन पटक हत्या योजना बनाए पनि तपाइँहरुको असीम माया, स्नेह, भरोसा, साथ, समर्थन र हौसलाले निर्भिक र निष्पक्ष पत्रकारितालाई निरन्तरता दिन सफल भएको सर्वविदितै छ । पत्रकारिता कर्मलाई निरन्तरता दिन अब नयाँ युग अनुरुप डिजिटल खबरको यात्रामा एक कदम अघि बढेर ‘द नेप्लिज डट कम’ अनलाइन पत्रिकाको शुभारम्भ गरेको छु । यो यात्रामा पुन: सशक्त साथ र सहयोगको अपेक्षा छ । 

एक क्लिकमा खुल्ने यो डिजिटल चौतारीले खबर मात्र होइन, भुइँमान्छेको उत्सुकतालाई उहाँहरुकै स्वर, विचार र रचनात्मक गतिविधि प्रस्तुत गरेर समेट्ने छ । द्रुत गतिमा अघि बढिरहेको अहिलेको प्रविधि युगमा बढ्दो समाजिक सञ्जालको प्रभावले पत्रकारिता जगत नै छायाँमा परेको अवस्थामा यो अनलाइन पत्रिका लिएर आएको छु । पत्रकारिता सहर केन्द्रित हुनुका साथै राजनीतिक, नेता, संभ्रान्त वर्ग, उद्योगी, व्यवसायीको सेरोफेरामा रमाउन थालेपछि सर्वसाधारण नागरिकले दैनिक जीवनमा सामना गर्दै आएको समस्या सामाजिक सञ्जालमा मुखरित हुन थालेको हो । जसले सामाजिक सञ्जालको प्रभाव बढ्दै गएर पत्रकारित क्षेत्र नै धर्मराएको छ । त्यसैले पत्रकारिता क्षेत्रको प्रभाव कायम राख्न र आवाज बिहिनको आवाज बनिरहन हरेक वर्ग, धर्म, समुदाय र क्षेत्रको समस्यालाई सञ्चारमाध्यममार्फत मुखरित गर्नै पर्ने मेरो बुझाइ हो । 

त्यसैले डिजिटल पत्रिकाको भिडमा थप नयाँ अनलाइन लिएर आउनुलाई चूनौतिसँगै अवसर पनि मानेको छु । समाजलाई सूचनासँगै प्रेरणा दिने अर्थपूर्ण सामग्री प्रति प्रतिबद्ध छु । जनसरोकारसँग जोडिएका समाचार कथा पस्किनु हाम्रो एक मात्र लक्ष्य हो । समसामयिक विषय, दैनिक घटना, उदाउँदो नयाँ प्रविधि, नेपालीको अदभुत साँस्कृतिक पक्ष, कला, खेल अविष्कार, परम्परासँगै परिवर्तनशील समाज, राजनीति, कृषि, स्वास्थ्य, शिक्षा, अर्थ व्यवस्थालगायत विविध विषयको अन्तरकुन्तर हाम्रो प्राथमिकता हो । 

यो एउटा अनलाइन पत्रिका मात्रै होइन, विचारक, सपना बोकेका आँखाहरु र संभावनाका ढोका खोल्नेहरुको समुदाय पनि हो । गहन र रमाईला विषयवस्तुमा फिचर, झकझक्याउने समाचार साक्षात्कार, मत–अभिमत, तपाईँहरुको कथा–तपाईँहरुकै शब्दमा भन्ने उद्देश्यका साथ मूलाधारसँग अलगथलग नागरिकको यो विचारको घर हुनेछ ।

म एक्लैले यो दायित्व निर्वाह गर्न सक्दिन । समाचार खोज्ने यो साहसिक यात्रामा हजुरहरुको सल्लाह, सुझाव, मार्गदर्शन र खरो आलोचनाको हरपल प्रतिक्षा रहने छ । यो अनलाइन खबर तपाईँहरुकै भएकोले खबरदारी गरिरहनु पर्ने दायित्व पनि छ । हामी त मध्यस्थकर्ता मात्रै हौं । अहिले सुस्तरी सुरुवात गरेका छौं । हाम्रो एकलकाँटे सोचले होइन, हजुरहरुले तय गर्नु भएको प्राथमिकता अनुसारको खबरलाई ठाउँ दिन्छौं । विश्वको जुनसुकै कुनामा रहनु भए पनि भरपुर उत्साहका साथ सम्पर्क एवं संवादमा रहँदै साथ, सहयोग, सुझाब र समर्थनको अपेक्षा छ । 

देवनारायण साह
प्रबन्धक

 


 

प्रकाशित : २४ माघ २०८१, बिहीबार 20:47
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved