४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

पेटसम्बन्धी रोगका विशेषज्ञ डाक्टर खड्काको सेवा अब लाईफ गार्ड अस्पतालमा

द नेप्लिज संवाददाता
१० फागुन २०८१, शनिबार

Advertisement

विराटनगर– विराटनगरस्थित लाईफ गार्ड अस्पतालले दक्षिण एसियाका ख्याति प्राप्त ग्यासट्रोइन्टेरोलोजिष्ट चिकित्सक डा. मोहन खड्कालाई भित्र्याएर पेटसम्बन्धी रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालका अध्यक्ष डा. शिवराजा अधिकारी र कार्यकारी निर्देशक ईन्द्र भुजेलले डा. खडकालाई स्वागत गरेर अस्पतालमा भित्र्याई कलेजो, पीतथैली, प्यांक्रियाज, आन्द्रालगायत पेटसम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको हो । 

निर्देशक भुजेलले पाचन प्रणालीसँग सम्बन्धित कलेजो, आन्द्रा, पीतथैली, प्यांक्रियाज, आन्द्रालगायत पेटसम्बन्धी  रोगहरूको विशिष्टिकृत उपचार सेवा प्रदान गर्ने उद्देश्यले लाईफ गार्ड अस्पतालले अनुभवी तथा दक्षिण एसियाका ख्याति प्राप्त चिकित्सक डा. मोहन खड्कालाई यस अस्पतालमा भित्र्याएको बताए । उनले लामो समयदेखि पाचन प्रणालीको उपचारमा विशेषज्ञता हासिल गरेका डा. खड्काको आगमन अस्पताल र अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीका लागि ठूलो उपलब्धि भएको बताए । डा. खड्का २२ वर्षदेखि पाचन प्रणाली सम्बन्धी रोगहरूको उपचार सेवामा क्रियाशिल छन् । उनी यसअघि काठमाडौं त्रिवि शिक्षण अस्पताल महराजगञ्ज, माल्दिभ्सलगायत विराटनगरका केही अस्पतालमा सेवा प्रदान गरिसकेका छन् । 

विशेषज्ञ चिकित्सकको अभावमा यस क्षेत्रका सेवाग्राहीलाई पाचन प्रणालीसँग सम्बन्धित रोगको उपचारका लागि काठमाडौं तथा भारतको अस्पतालहरु धाउनु पर्ने बाध्यताको अन्त्य भएको निर्देशक भुजेलको भनाइ थियो । ‘अस्पतालमा पाचन प्रणालीसँग सम्बन्धित रोगहरुको विशिष्टिकृत उपचार सेवा प्रदान गर्नका लागि आवश्यक अत्याधुनिक उपकरणहरु इण्डोस्कोपी, कोलोनोस्कोपी, ईआरसीपीलगायत खरिद गरेर जडान गरिसकेका छौं,’ उनले भने, ‘पाचन प्रणालीसँग सम्बन्धित रोगका बिरामीहरुलाई उपचार सेवा प्रदान गर्न डा. खड्काको नेतृत्वमा अस्पतालले छुट्टै विभाग सञ्चालन गरेको छ ।’ अस्पताल प्रशासनले वास्तविक विपन्न तथा असहाय विरामीहरुलाई यो सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको भुजेलको भनाइ थियो ।

मोरङको केराबारीस्थित देबिझोडामा २०३३ सालमा जन्मेका डा. खड्काका आमाबुवा लालभित्ती हुँदै २०३८ सालमा लेटाङमा बसाँई सरेर स्थायी बसोबास थालेका हुन् । मंगलबारेको माध्यमिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी उतीर्ण गरेका डा. खड्का छात्रवृतिमा काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आईएससी उतीर्ण गरेका थिए । शिक्षा मन्त्रालयबाट प्राप्त छात्रवृति कोटामा पोखराबाट एमबीबीएस उतिर्ण गरी त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट कलेजो, प्यांक्रियाज, आन्द्रा पीतथैलीलगायत पाचन प्रणालीसम्बन्धी विषयमा डीएम उतीर्ण गरेका हुन् । लेटाङको श्री शान्ति भगवती माध्यमिक विद्यालयमा कक्षा २ मा अनुतीर्ण भएको दुःखलाई शक्तिमा बदलेर अध्ययन थालेका डा. खड्का कक्षा ५ बाट सधैं पहिलो स्थानमा आफूलाई राख्न सफल भएका छन् । 

महाराजगञ्जबाट ग्यासट्रोइन्टेरोलोजिष्ट चिकित्स बन्न सफल भएका खड्का त्यही अस्पतालमा काम गर्ने अबसरसमेत प्राप्त गरेर लामो समयसम्म कार्यरत रहेका थिए । त्यसपछि माल्दिभ्सको सबभन्दा ठूलो अस्पताल सुपरभिजन सेन्टरमा काम गर्ने अबसर प्राप्त गरेका थिए । सुकुम्वासी परिवारमा जन्मेर पैसाको महत्व बुझेका डा. खड्काले माल्दिभ्समा बसेर जीवनभरि पुग्ने पैसा कमाएको बताए । उनले जीवनभरिका लागि पुग्ने पैसा कमाइसकेपछि आफू जन्मेको, हुर्केको गाउँ, ठाउँको सेवा गर्ने उद्देश्यले स्वदेश फर्केर सेवा सुरु गरेको बताए । 

‘सधैं विदेशमा बसेर मनग्यै पैसा कमाउन कुनै समस्या थिएन,’ उनले भने, ‘तर मातृ ऋण चुकाउन र जुन समाजले दक्षिण एसियामा चिनाउने अबसर प्रदान गर्‍यो त्यो समाजप्रतिको उत्तरदायित्व सम्झेर आफ्नै गाउँ, ठाउँमा फर्केको छु । यहाँका गरीव, विपन्न, असहायको दुःख बुझेको छु त्यसैले अबको बाँकी जीवन आफ्नै गाउँ, ठाउँका बिरामीको सेवामा समर्पित गर्दछु।’ आफूले काम गर्ने स्वास्थ्य संस्थामा उपचार गराउन आउने विपन्न, गरीव, असहायलाई निःशुल्क उपचार गर्नेमा डा. खड्का प्रतिबद्ध छ । उनले लाईफ गार्ड अस्पताल सेवाग्राहीमा समर्पित भएर विशिष्टिकृत उपचार सेवा सुरु गरेर सरल र सहज रुपमा बिरामीहरुलाई सेवा प्रदान गर्नेमा विश्वस्त रहेको बताए ।

डा. खड्काले ग्यास्ट्रोइन्टेशनल अर्थात् सामान्य भाषामा भन्ने ग्यास्टिक कुनै रोग नभएको बताउँछन् । ‘कुनैपनि किसिमको खानेकुराले ग्यास्टिक नहुने तर अनावश्यक खानेकुराले पेटमा ग्यास्टिक बढाउने काम हुन्छ,’ उनले भने, ‘एक सय जनामध्ये २० जनामा मात्रै ग्यास्टिक रोगको रुपमा हुने गरेको छ र त्यो एच पाइलोरी नामको ब्याक्टेरियाबाट हुन्छ । यो ब्याक्टेरिेयाले डकार आउने, थोरै खाएपछि अघाउने, खान मन नगर्ने, वाक्वाकी लाग्ने, पेटमा अर्थात् अमाशयमा रातो हुने, सुनिने, अल्सर र क्यान्सर जस्ता रोग निम्तियाउँछ ।’ त्यसैले ‘एच पाइलोरी’ ब्याक्टेरियालाई चिकित्सकको सल्लामा एन्टिबायोटिक खाएर समयमा मार्नुपर्ने खड्काको सुझाब छ । ग्यास्टिक खानपान र ब्याक्टेरियाले मात्रै नभई दुखाई कम गर्ने लगायतका औषधी जथाभावी खाएर पनि हुने गरेकोले चिकित्सकको सल्लाहबिना कुनै किसिमको औषधी खान नहुने उनको भनाइ छ । 

जथाभावी औषधी सेवनले कलेजोमा समेत ठूलो असर हुने गरेकोले सबैलाई सचेत भएर मात्रै कुनै किसिमको औषधी खानुपर्ने डा. खड्का बताउँछन् । उनले पीतथैलीको नलीमा पथरी हुने समस्या अहिले धेरैमा देखिने गरेको बताए । ‘पीतथैलीको नलीको पथरी शल्यक्रिया गरेर निकाल्दा प्वाल परेर पीतथैलीबाट लिकेज हुने अर्को समस्या बल्झिने गरेकोले अहिले ईआरसीपी प्रविधिमार्फत पथरीलाई धकेलेर आन्द्रामा झार्नु पर्छ ।’ त्यसैले रोगको उपचार पनि अहिलेको प्रविधिको सही उपयो गरेर मात्रै गर्नुपर्ने अवस्था सृजना भएको उनले सुनाए ।  

प्रकाशित : १० फागुन २०८१, शनिबार 15:56

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved