२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

कांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान

२१ जेठ २०८२, बुधबार

तस्बिर साभार : मदानी विट

Advertisement

विराटनगर — २०८१ को असोज १०–१२ मा परेको अविरल वर्षासँगै आएको बाढीले काभ्रेको रोशी खोलामा रहेको पुल बगाएपछि सडक यातायात अस्तव्यस्त बन्यो। रोशी खोलाले नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ लाई जोड्ने पुल बगाएपछि हाल डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको छ। तर खोलामा बगेका पुलका सामग्रीहरू सार्वजनिक लिलामीबिना कवाडीलाई निजी रूपमा बिक्री गरिएको खुल्न आएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुई जना भारतीय नागरिक हुन् भने दुई जना ट्रक चालक र बाँकी एक जना स्थानीय हुन्।

बिना प्रतिस्पर्धा सार्वजनिक सम्पत्ति बिक्री, वडाध्यक्षकै सिफारिसमा ट्रकमा ढुवानी

प्रहरीका अनुसार नमोबुद्ध नगरपालिका–६ का वडाध्यक्ष टिकाबहादुर केसी (नेपाली कांग्रेस) र रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम (माओवादी केन्द्र) को सिफारिसका आधारमा पुलका सामान प्रतिस्पर्धाविहीन रूपमा कवाडीलाई बेचिएको हो। उनीहरूले सम्बन्धित निकायको निर्णय विना वडास्तरबाटै सिफारिस पत्र जारी गरी सरकारी सम्पत्ति निजी व्यक्तिलाई बेचेको खुलेको छ।

मंगलबार राति बा २ ख ४००१ र बा ५ ख ४६२६ नम्बरका दुई वटा टिपरमा लोड गरेर लैजाँदै गरेका पुलका सामान कटुन्जे प्रहरी चौकीबाट नियन्त्रणमा लिइएको हो। चौकीका इन्चार्ज सई मनु सापकोटाको नेतृत्वमा खटिएको टोलीले रातिको समयमा पुलका सामान चोरीसरी लैजाँदै गरिएको सूचना पाएपछि कारबाही गरेको हो।

कवाडी व्यवसायी र ट्रक चालक पक्राउ, वडाध्यक्षमाथि अनुसन्धान

पक्राउ पर्नेमा कवाडी व्यवसायी जितेन्द्र पासवान र मन्टुकुमार (दुवै भारतीय नागरिक) तथा ट्रक चालक मनबहादुर तामाङ र रमेश लामा रहेका छन्। अनुसन्धानको क्रममा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतमलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

नमोबुद्ध–६ का वडाध्यक्ष केसीमाथि पनि अनुसन्धान भइरहेको काभ्रे प्रहरीका डीएसपी मिमबहादुर घलेले जानकारी दिए। उनी सम्कर्पविहीन भएको प्रहरीले भनेको छ । प्रहरीले पक्राउ अनुमति लिइसकेको छ ।

वडाध्यक्ष केसीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ :

‘नगरपालिका–७ र गाउँपालिका–६ मा पर्ने पुल बाढीका कारण क्षति पुगेको र पुनः प्रयोगमा आउन नसक्ने पत्रु सामान ढुवानी गर्न सहजीकरण गर्न सरोकारवालालाई अनुरोध छ।’

पालिका प्रमुखहरू पन्छिए, वडाध्यक्ष एकल निर्णयमा अघि बढेको दाबी

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले यसबारे स्पष्ट गर्दै भने, ‘कार्यपालिकाको निर्णय नभइ वडाध्यक्ष आफैंले व्यक्तिगत रूपमा सिफारिस गरेका हुन्। दुवै पालिकाका सिफारिसविना यस्तो काम गर्न मिल्दैन।’

नमोबुद्ध नगरपालिकाका मेयर कुङसाङ लामाले पनि घटनाप्रति अनविज्ञता प्रकट गर्दै भने, ‘नगरस्तरबाट कुनै निर्णय भएको छैन। वडाध्यक्षले व्यक्तिगत रूपमा पत्र काटेको देखिन्छ। कानुनी प्रक्रिया अनुसार कारबाही होला।’

स्थानीय जनता मारमा, सरकारी सम्पत्तिमा लापरबाही

पुल बगेको झण्डै आठ महिना बितिसक्दा पनि स्थायी निर्माण नहुँदा स्थानीय यात्रुहरूले अस्थायी डाइभर्सन प्रयोग गर्दै जोखिमपूर्ण यात्रा गरिरहेका छन्। यता भने स्थानीय जनप्रतिनिधि भने सरकारी सम्पत्तिलाई आफ्नै सम्पत्ति झैँ गर्दै कवाडीमा बिक्री गरी मोजमस्तीमा रमाइरहेको देखिएको छ।

प्रहरीले यो घटनालाई ‘सार्वजनिक सम्पत्ति चोरी’ अन्तर्गत कानुनी कारबाही अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार सार्वजनिक सम्पत्ति व्यक्तिका नाममा प्रतिस्पर्धाविना बिक्री गर्नु कानुन विपरीत कार्य हो र दोषीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान जारी छ।

#पुल#बिक्री

प्रकाशित : २१ जेठ २०८२, बुधबार 19:32
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved