२५ करोड विदेशी मुद्राका साहु सिन्धुपाल्चोकका नारायण पौडेल
विराटनगर– काठमाडौंको टोखा नगरपालिकास्थित झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका साहु सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेल भएको खुलेको छ । उनी टोखा–१० महादेवटार हाइटमा बस्दै आएका थिए । एक प्रमुख राजनीतिक दल निकट पौडेलले उक्त मुद्रा चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ ।
फरार पौडेल विरुद्ध पक्राउ पूर्जी वारेन्ट जारी गरिएको उक्त विभागले जनाएको छ । गत चैत ४ को राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोरबाट एक ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो । गाडीको जाँच गर्दा फल्सबटम बनाएर लुकाइएको २५ करोड बराबरको विदेशी मुद्रा बरामद भएको थियो ।
१३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको घटनामा अनुसन्धान जारी छ । चालक लामाले रकम लैजानुअघि फोनमा पौडेलसँग कुराकानी गरेको पुष्टि भएको विभागले जनाएको छ ।
विभागले पौडेलका घर, कारोबारस्थल र गोदामहरूमा तलासी लिएको छ । पौडेल सिन्धुपाल्चोकका विवादास्पद व्यक्ति हुन् । उनका चार दाजुभाइमा केही राजनीतिक सक्रिय छन् तर उनीहरूको आपराधिक पृष्ठभूमि पनि उजागर भएको छ ।
पौडेललाई यसअघि पनि विदेशी मुद्रा अपचलनको कसुरमा पक्राउ गरिएको थियो । उनी धरौटीमा रिहा भएका थिए । पौडेलको आपराधिक गतिविधिको शुरूआत खासाको व्यापारबाट भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी रक्तचन्दन तस्करीमा संलग्न भएको प्रहरी स्रोतको भनाइ छ ।
प्रहरीका अनुसार यो धन्दाबाट राम्रो आम्दानी गरेका पौडेलले खासाको व्यापार सेलाउँदै गएपछि सुन तस्करीलाई आफ्नो मुख्य पेसा बनाए । ट्रक चालक कुसाङ लामासँगको उनको फोन सम्पर्क र सीडीआर विश्लेषणले यो प्रकरणमा उनको प्रत्यक्ष हात रहेको देखाएको विभागको दाबी छ ।
यसअघि पनि पौडेल २०५९ मा हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा उनी राजस्व अनुसन्धान विभागबाट पक्राउ परेका थिए । ऊन आयातको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकबाट एलसी खोल्ने तर ऊन आयात नगरी डलर तस्करी गर्ने उनको धन्दा त्यतिबेलै पर्दाफास भएको थियो ।
सोलु र पर्साका विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर उनले यो गैरकानूनी कारोबार सञ्चालन गरेका थिए । पक्राउपछि जेल बसेका पौडेलले ‘अदालतलाई मिलाएर’ छुटेको समाचार स्रोतले जनाएको छ ।
प्रहरीले पहिल्यै ने उनको तस्करीको सञ्जालमा अन्य व्यापारीको ठूलो समूह पनि संलग्न रहेको भनिसकेको छ । यसबाहेक २०८० को असार २ मा महाराजगञ्जस्थित एक घरमा जुवा अखडा चलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार प्रहरी वृत्त महाराजगञ्जले उनलाई १ लाख ९० हजार नगदसहित पक्राउ गरेको थियो । तर त्यतिबेला भाइ राजकुमार पौडेल र अन्य माओवादी नेताहरूको दबाबमा उनी छुटेका थिए । पौडेलका भाइ राजकुमार २०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए भने अर्का भाइ बच्चु पौडेल हिमालय सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष छन् । भाइ पालिका अध्यक्ष भएदेखिनै नारायण पनि माओवादीमा खुलेर लागेको स्थानीय बताउँछन् ।
राजनीतिक पहुँच र प्रभावका कारण पटक–पटक पक्राउ परे पनि उनलाई कानुनी कारवाही हुन सकेको छैन । हाल २५ करोड विदेशी मुद्रा प्रकरणमा पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिए पनि पौडेल अहिलेसम्म फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
उनका जेठा दाइ ध्रुव पौडेल भने २०५४ सालमा नेकपा एमालेबाट तत्कालीन वडाध्यक्षमा निर्वाचित भएका थिए । साइला भाइ बच्चु पौडेललाई कांग्रेस निकट भनिए पनि पार्टीको आधिकारीक पदमा भने छैनन् । यसअघि ७ किलो सुनसहित यीनै चालकलाई प्रहरीले पक्राउ गरेपछि पनि राजकुमार केही समय सम्पर्कबिहिन भएका थिए । उनलाई पक्राउ गर्न अदालतले अनुमति समेत दिइसकेको छ । राजस्व अनुसन्धान विभागले टोखास्थित निवासमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिइसकेको छ । पौडेल भने ट्रक चालक पक्राउ परेलगतै फरार भएको विभागले जनाएको छ। प्रहरीले भने यो रकम सुन तस्करीको भएको सुरुमै अनुमान गरेको थियो।
उक्त ट्रकमा १०० दरका अमेरिकी डलर ३ हजार ११९ थान, ५० दरका १७९ थान र ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान बरामद गरेको प्रहरीले जनाएको थियो । यसको नेपालीमा विनियम गर्दा करिब २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ हुन आउँछ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares