४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

प्राविधिक शिक्षाले गाउँको मुहार फेरियो

बाटो र बत्तीको समस्या भएको मधेसी बहुल समाजको कथा
२४ माघ २०८१, बिहीबार

Advertisement

मोरङ– विकास भन्न बितिकै फराकिला र चिल्ला सडक संझिन्छौं । तर २०५८ मा मोरङको जहदा गाउँपालिका–४ मा प्राविधिक शिक्षालयको रुपमा शैलजा आचार्य स्मृति पोलिटेक्निकको शुभारम्भ हुँदा यहाँ पूर्वाधारको विकास भएको थिएन । बिजुली र खानेपानीको राम्रो व्यवस्था थिएन ।

नहर छेउछेउ हिंडदै उक्त शिक्षालय सम्म पुगिने ग्राभेल बाटो थियो । यहाँ कालेपत्रे भएको पाँच वर्ष मात्र भएको छ । बाढी आउँदा डुबानमा पर्ने यो गाउँमा आवागमनका लागि सडक एवं पुलको समस्या हुँदा पनि देशभरिबाट पढ्नलाई त्यहाँ पुगिरहेका थिए । वर्षामा जुता–चप्पल खोलेर आइजाइ गर्नुपथ्र्यो । तर राम्रो सडक नहुँदा पनि एउटा गतिलो शैक्षिक संस्थाले गाउँकै मुहार फेर्न सक्छ भन्ने गतिलो उदाहरण यो पोलिटेक्निक हो । पोलिटेक्निकको सफलताले सबै क्षेत्रको ध्यानाकर्षण भएर बिजुली, पानी र इन्टरनेटको यहाँ कुशल प्रबन्ध भएको छ ।

मोरङको कटहरी र धनपालथान गाउँपालिका मोडको रामचोकबाट दक्षिण पश्चिम डेढ किलोमीटरको दुरीमा यो शिक्षालय छ । पढ्नकै लागि यहाँको छात्रावासमा ४० र वरपरको घरमा सय जना भाडामा बसेका छन् । 

नेपालको पहिलो महिला उपप्रधानमन्त्री एवं कांग्रेसको पहिलो महिला उपसभापति शैलजा आचार्यले यो प्राविधिक शिक्षालयको जग खडा गरेकी थिइन् । त्यतिखेरको मधेसी बहुल यो गाउँको सामाजिक संरचना एवं आर्थिक अवस्थाले गर्दा मुख्यत: छोरीचेली विद्यालय शिक्षाभन्दा माथि उक्लिन स्थिति थिएन । यो समूहलाई लक्षित गर्दै उनले आफ्नो नाउँमा यो प्राविधिक शिक्षलय खोलिन् । ‘गाउँको सिमित क्षेत्रमा मात्र बत्ती पुगेको थियो तर त्यो पनि टिकाउ थिएन, बिजुली आउने–जाने भइरहन्थ्यो,’पोलिटेक्निकका स्थापनाकालदेखिका प्राचार्य सन्तबहादुर अधिकारी भन्छन्,‘शैलजा दिदीको पहलमा यो गाउँमा बत्ती पनि व्यवस्थित भयो ।’

आचार्यले नीजि लगानी, सांसद कोष विकासको बजेट र सरकारको ८ लाख लगानीबाट २ विघामा १० कोठे भवनबाट यसको थालनी गरिन् । तीन स्थानीय विद्यार्थी सहित अनमी १८ महिनेबाट पठ्नपाठन सुरु भएको थियो । भारत सरकारको २ करोड ६० लाखको लागतमा मुख्य भवनको पछि क्षमता विकास भयो । 

यो शिक्षालयमा सरकारको केवल वार्षिक ४० लाख बजेट प्राप्त हुन्छ । स्थानीय बाहेक सुनसरी, सिराहा, सप्तरी, उदयपुर, खोटाङ लगायतका बढी पढ्न आउने यो पोलिटेक्निक ३ करोड १५ लाख परीक्षार्थी शुल्क, आर्थिक सहयोग र कृषि उत्पादनको आमदानीबाट चल्छ ।  

पोलिटेक्निकले २०५९ मा आयुर्वेद (अहेव) थप्यो । ग्रामीण क्षेत्रमा सरकारी विद्यालय पढ्ने २५ प्रतिशतलाई पोलिटेक्निकले आरक्षण दिने प्रबन्ध गर्यो । ३० जनाको कोटामा स्थानीय ४ जना अनिवार्य राखियो । ‘यो पोलिटेक्निक खुल्नु अगाडि यो गाउँका नानीबाबुले प्राविधिक शिक्षा पढ्ेका थिएनन्, प्रदेशमा यो पाठ्यक्रम थिएन,’ प्राचार्य अधिकारी भन्छन्,‘घरदैलोमा पढ्न पाउने अवसरले स्थानीय अभिभावकको आत्मविश्वास बढ्यो ।’ 

पोलिटेक्निकको भर्ना संख्या केलाउँदा २०६० मा कृषि र पशु विज्ञानमा २९ महिने जेटिए भर्ना खुल्दा ३० जनामा चार स्थानीय थिए । यहाँ २०६१ मा एसएलसी उत्तीर्णका लागि १८ महिने भेटेरिनरी (जेटीए) को पढाइ थपियो । २०६३ मा पूर्वाञ्चलमै पहिलो पटक एसएलसी उत्तीर्ण नभए पनि १८ महिने कृषि जेटिए अध्यापन थाल्यो । अनमी अपग्रेड भएर २०६० मै नर्सिंङमा प्रविणता प्रमाण पत्र सुरु भयो । 

त्यतिखेरै धेरै माग भएको जेटीए १८ महिनेलाई परिमार्जन गरेर २०७० मा ३० सिटका लागि तीन वर्षे कृषि डिप्लोमा पनि कलेजले थाल्यो । त्यतिखेर देशभरमा ११ कलेजमा मात्र यो विषय पढाइ हुन्थ्यो । माग कारण सरकारले बढाएर ४० सिट बनायो ।

२०७५/७६ मा १८ महिने भेटेरिनरी जेटीएलाई स्तरोन्नति गरी तीन वर्षे पशु विज्ञान थालियो । २०७७ देखि चिकित्सा आयोगको नयाँ नियम अनुसार मानव स्वास्थ्यका १८ महिने अनमी, आयुर्वेद, अहेब बन्द भयो  । यसको ठाउँमा प्रदेश सरकारको सहयोगमा ५ कोठे भवन तयार गरेर १८ महिने सर्भे अमिन र आईटी पाठ्यक्रम सुरु भयो । 

२०७९ मा निर्माण क्षेत्रमा रुची राख्ने विद्यार्थीका लागि डिप्लोमा इन सिभिल इन्जिनियरिंग पाठ्यक्रम सुरु भयो । स्थानीयमा औषधि व्यवसाय गरेर आत्मनिर्भर बन्ने चाहना अनुरुप यो कलेजले २०८० बाट ४० सिटका लागि तीन वर्षे डिप्लोमा इन फार्मेसी पनि पढाउन थाल्यो । ‘तय सिटभन्दा चार गुणा बढीले फार्मेसीका लागि प्रवेश परीक्षा दिएको पायौं,’अधिकारी भन्छन् । 

यो पोलिटेक्निकले शिक्षासँगै रोजगारी पनि दिएको छ । यही पढेका कृषि प्राविधिक सौरभ सिंहका अनुसार पोलिटेक्निकको स्थापना अगाडि जहदाको सात वटै वडामा कोहीले पनि प्राविधिक शिक्षा पढेका थिएनन् । ‘अहिले प्रत्येक वडामा प्राविधिक, सीएमए, अनमी, भेटेरिनरी, कृषि पढेका भेट्छौं,  बढी छोरी छन्,’उनी भन्छन् ।  

स्थानीय खगेन्द्र मण्डलले घरखेत सम्हाल्दै यही पोलिटेक्निकबाट बनस्पति विज्ञानमा स्नातक गरे । उमेरले २५ लागेका उत्कृष्ट विद्यार्थी उनी यही शिक्षालयमा जेटीए पढाउँछन् । उनको मातापिताले साढे पाँच विघामा अन्न बाली र च्याउ खेती गर्छन् । दिदी ममताले यही अनमी र कान्छी संगीताले यही वनस्पति विज्ञानमा जेटीए पढे । सिलाइबुनाइको प्रशिक्षण पनि लिंदैछन् ।

जहदा सिमासँग जोडिएको माइती कटहरी भएकी परिवारकै माहिली बुहारी २१ वर्षीया मनिषा सिंहले कृषि संकाय अन्तर्गतको वनस्पति विज्ञानमा तीन वर्षे पाठ्यक्रम पढ्दै छिन् । उनको परिवारमा सबै खेतीपाती गर्छन् । स्थानीय मात्र नभएर सिराहा सुखीपुर बलही–७ की १९ वर्षीया प्रियंका कुमारी साह कृषिमा स्नातक गर्न यहाँ आइपुगेकी छन् । बुबा खाडी मुलुकमा र आमा सौन्दर्य सामग्रीको पसल गर्ने उनी भन्छिन्,‘गाउँको माझमा कलेज छ, पढ्ने माहोल छ ।’ 

उदयपुर चौदण्डी नगरपालिका–६का २० वर्षीय विज्ञान कार्की यहाँ तीन वर्षे  बाली विज्ञान स्नातक गर्दर्ैछन् । उनी सहितको तीन जनाको टोलीले गाउँमै एउटा कोठा लिएर बसेका छन् । ‘यहाँका स्थानीयको मायाले घरबाट टाढा जस्तो लाग्दैन,’उनी भन्छन् ।
 
यो पोलिटेक्निक वरिपरि ५० पसल छ । ‘पहिले चोकमा मात्र थियो,’स्थानीय ६९ वर्षीय किशोरी गामी भन्छन्,‘ब्यापार बढिरहेको छ ।’ स्थानीय रमेश राउतले विद्यार्थी राख्नका लागि २० कोठे होस्टेल बनाएका छन् । घरमा पनि तीन कोठा भाडामा दिएका छन् ।

जहदा–४ का वडा अध्यक्ष शंकर गामीका अनुसार यही पोलिटेक्निकमा कृषि र आयूर्वेद पढेका ६० जना स्थानीय सरकारी जागिरमा छन् । ‘खाली घरमा राम्रो दाममा भाडामा लागेको छ,’उनी भन्छन्,‘ पहिले डेरा नहुँदा बाहिरबाट आएका नानीबाबु गोठ घरमा बसेर पढ्थे ।’ यो शिक्षालयले सुकेको जहदा हाटमा चहलपहलसँगै रोजगार बढ्ेको उनको बुझाइ छ ।  

स्थानीय ४१ वर्षीया दिवाली मण्डल यो पोलिटेक्निकको अनमी पहिलो ब्याचमा पढ्ने गाउँकै पहिलो छोरी थिइन् । पाँच दाजुभाइ दिदीबहिनीमध्ये एक भाइ हार्डवेयर ब्यापारी र बाँकी सबै प्राविधिक शिक्षा पढेर रोजगारमा लागेको उनले बताइन् । ‘मेरो सफलता पछि भाइ र बहिनीले विभिन्न विषयमा प्राविधिक शिक्षा पढे,’दिवाली भन्छिन् । 

विभिन्न ११ विधामा पढाइ हुने उक्त पोलिटेक्निकको निर्धारित विद्यार्थी संख्यामा ५० प्रतिशत महिलालाई गाह्यता छ । ‘पोलिटेक्निकको नीति अनुसार विद्यार्थीमा आधीउधी महिला छन्,’प्राचार्य अधिकारी भन्छन् । हालै २३ औं वार्षिकोत्सव मनाएको उक्त पोलिटेक्निबाट अहिले सम्म लामो अवधिको पाठ्यक्रममा २ हजार ८ सय ८५ जना र छोटो अवधिको पाठ्यक्रममा ५ हजार उत्तीर्ण भएको व्यवस्थापन पक्षले जनाएको छ । पोलिटेक्निकका अनुसार लामो अवधिको पाठ्यक्रममा उत्तीर्णमध्ये ८० प्रतिशत र छोटो अवधिका ६० प्रतिशत रोजगारमा छन् ।   

   
 

प्रकाशित : २४ माघ २०८१, बिहीबार 19:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved