विराटनगर- उनी आफैंलाई चमत्कारी बताउँछिन्। उनका भक्तहरू उनलाई ‘देवी माँ’ को रूपमा पूज्छन् । ‘राधे माँ’ का नामले चर्चित सुखविन्दर कौर भारतमा मौलाउँदै गएको बाबाहरूको दुनियामा ठाउँ बनाउन सफल केही महिलामध्ये एक हुन्।
भक्ति, डर, अन्धविश्वास र रहस्यमयताले भरिएको यो दुनियाँमा प्रवेश पाउन सजिलो छैन। बीबीसीले यो संसारको गहिराइमा पुगेर राधे माँको जीवनको प्रत्येक पाटो खोतलेको छ।
रात्रीकालीन दर्शन र राधे माँको विलासी जीवनशैली
लुई भिटन र गुच्चीका महँगा ब्रान्डेड पर्सहरू बोकेका, सुन-हीराले जडित गहना र फैशनेबल पहिरन लगाएका महिला भक्तजनहरू रातिको समयमा राधे माँको दर्शन गर्न भेला भएका छन्। साधारण बाबाहरूझैं उनी सादा जीवन जिउँदिनन्, न त लामो प्रवचन दिन्छिन्, न बिहान सबेरै भक्तहरूसँग भेट्छिन्।
बीबीसीसँगको कुराकानीमा उनले खुलेर भनिन्, 'चमत्कारलाई नमस्कार छ। म कसैबाट एक रुपैयाँ पनि लिँदिन, तर जब मानिसहरूका काम बन्न थाल्छन्, उनीहरू आफैं चढाउँछन्।'
राधे माँका भक्तहरूले उनीबाट चमत्कारको अनुभूति गर्ने दाबी गर्छन्। कोही भन्छन्, उनको आशीर्वादले सन्तान प्राप्त भयो, कसैको व्यापार फस्टायो, त कसैको स्वास्थ्य सुधार भयो।
विवाद, आरोप र राधे माँ
भारतमा राधे माँजस्ता स्वयंघोषित बाबाहरूको संख्या दिन प्रतिदिन बढ्दैछ। केहीमाथि भ्रष्टाचारदेखि यौन दुर्व्यवहारसम्मका आरोप लागेका छन्। राधे माँमाथि ‘कालो जादू’ तथा दाइजोको लागि परिवारलाई उक्साएको आरोप पनि लाग्यो, यद्यपि अदालतमा ती सबै आरोप खारेज भए।
तर यस्ता घटनाले पनि मानिसहरूको अन्धभक्ति रोक्न सकेको छैन। सन् २०२४ मा उत्तर प्रदेशको हातरसमा भएको एक बाबाको सत्संगमा भागदौड मच्चिँदा १२० भन्दा बढी मानिसले ज्यान गुमाए।
नागपुरमा अखिल भारतीय अन्धविश्वास निर्मूलन समितिका संस्थापक प्रोफेसर श्याम मानव भन्छन्, 'भारतीय समाजमा जीवनको उद्देश्य नै भगवान प्राप्ति हो भन्ने संस्कार गहिरो छ। ध्यान, भजन-कीर्तन गरेर सिद्धि प्राप्त गर्न सकिन्छ भन्ने सोच रहिआएको छ। जब कसैले आफूलाई सिद्ध पुरुष ठान्छ, उनीलाई चमत्कारी मानिन्छ।'
राधे माँका भक्तहरू को हुन्?
धेरैले अन्धविश्वासमा गरिब वा अशिक्षितहरू फस्छन् भन्ने सोच राख्छन्। तर, राधे माँका भक्तहरूमा धनाढ्य र शिक्षित वर्गका मानिसहरू पनि छन्।
अक्सफोर्ड युनिभर्सिटीको सैद बिजनेस स्कूलबाट अध्ययन गरेका पुष्पिन्दर भाटिया शिक्षण परामर्श कम्पनी चलाउँछन्। उनी पनि त्यो रात राधे माँको दर्शनका लागि लाममा थिए।
उनले भने, 'सुरुमा मलाई शंका थियो। साँच्चै भगवान मानवरूपमा आउँछन्? के यी चमत्कारहरू वास्तविक हुन्?' तर उनले भने, आफ्नो परिवार गम्भीर संकटमा परेको बेला राधे माँसँगको भेटले उनलाई शान्ति दिएको अनुभव गरे।
पञ्जाबबाट मुम्बईसम्मको यात्रा
सुखविन्दर कौर अर्थात् राधे माँको जन्म पञ्जाबको गुरदासपुर जिल्लाको दोरांग्ला गाउँमा एक मध्यमवर्गीय परिवारमा भएको थियो। २० वर्षको उमेरमा उनी मोहन सिंहसँग विवाह गरेर मुकेरियाँ शहरमा बस्न थालिन्।
उनका पति वैदेशिक रोजगारीमा गएपछि उनी साधनामा लागिन्। उनी भन्छिन्, 'मलाई देवी माँका दर्शन भए, त्यसपछि म चर्चित भएँ।'
राधे माँ मुम्बई एक व्यापारी परिवारसँग बस्न थालिन्। उनी जहाँ बसिन्, त्यहाँ ती घरका सदस्यहरू उनको कट्टर भक्त बने।
राधे माँको भौतिक संसार
राधे माँ अहिले आफ्ना व्यापारी छोराहरूको आलिशान हवेलीको एउटा तल्लामा बस्छिन्। उनका सार्वजनिक कार्यक्रमहरू बुहारी मेघा सिंहले व्यवस्थापन गर्छिन्। मेघा भन्छिन्, 'हामीलाई गर्व छ कि हामी उनीसँग छौं।'
राधे माँको नाममा आउने दानको व्यवस्थापन परिवार र नजिकका भक्तहरूले गर्छन् । यद्यपि, उनी आफैं विलासी जीवनशैली अपनाउँछिन्। उनले भनिन्, 'मलाई राम्रो कपडा र रातो लिपस्टिक मनपर्छ।'
चमत्कार र त्यसको यथार्थता
मुकेरियाँ निवासी सन्तोष कुमारीको अनुसार, राधे माँको आशीर्वादले उनको पतिलाई हृदयाघातपछि जीवनदान मिल्यो । उनले भनिन्, 'उहाँको मुखबाट रगत आयो र उहाँले मेरो सिन्दूर भर्नुभयो। त्यसपछि मेरा श्रीमान् बाँच्नुभयो।'
तर, धेरै भक्तहरू भयको कारणले पनि राधे माँलाई पूज्ने गर्छन्। भक्तनी सुरजीत कौर भन्छिन्, ' मैंले दीप जलाइन भने मेरो अनिष्ट हुन्छ। म बिरामी पर्छु।'
प्रोफेसर मानवका अनुसार, 'भक्तहरू चमत्कारलाई प्रमाण मान्छन्, तर असफल भविष्यवाणीलाई बाबालाई दोष नदिई आफैंलाई कमजोर ठान्छन्।'
भक्ति कि अन्धविश्वास?
राधे माँका निकट भक्तहरू उनलाई पूज्न आत्मसमर्पण नै आवश्यक मान्छन्। एक दिन राधे माँले भक्तहरूलाई जनावरझैं आवाज निकाल्न भनेकी थिइन्, जसलाई भक्तहरूले खुशीसाथ पालन गरे।
राधे माँकी बुहारी मेघा भन्छिन्, 'उनी दर्शनबाहेक आफ्नो कोठामै रहन्छिन्। यो नै उनको मनोरञ्जनको माध्यम हो।'
प्रोफेसर मानव भन्छन्, 'गुरुमा अटल श्रद्धा राख्नुपर्छ भन्ने धारणा नै मानिसलाई अन्धविश्वासी बनाउँछ।' तर, राधे माँलाई आलोचनाको कुनै चिन्ता छैन। उनले भनेकी थिइन्, 'मलाई केही फरक पर्दैन... किनकि भगवान् मेरो साथमा छन्।'
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares