इजरायली अधिकारीका अनुसार हालसम्म ५९ जना बन्धकहरू हमासको कब्जामा छन्, जसमध्ये करिब २४ जना जीवित रहेको बताइएको छ। सन् २०२३ मा हमास नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका करिब २ सय ५० जनामध्ये धेरैलाई युद्धविराम सम्झौताका आधारमा रिहा गरिएको थियो।
देइर अल–बालाह, गाजापट्टी (एपी) — गाजापट्टीमा १९ महिनाभन्दा बढी समयदेखि हमासद्वारा बन्धक बनाइएका इजरायली–अमेरिकी सैनिक इदान एलेक्जेन्डरलाई सोमबार रिहा गरिएको छ। हमासले यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनप्रति सद्भावको संकेतस्वरूप उठाइएको दाबी गरेको छ, जसले इजरायलसँग नयाँ युद्धविरामको आधार तयार गर्न सक्ने सम्भावना देखिएको छ।
इजरायली सेनाले एलेक्जेन्डरलाई रेडक्रसमार्फत आफ्नो सुरक्षा फौजमा ल्याइएको पुष्टि गरेको छ।एलेक्जेन्डर सन् २०२३ अक्टोबर ७ मा हमासको सीमा पार आक्रमणका क्रममा दक्षिण इजरायलस्थित आफ्नो सैन्य बेसबाट अपहरणमा परेका थिए। त्यस घटनाले गाजामा युद्धको सुरुआत गराएको थियो। उनको रिहाइ इजरायलले हमाससँगको आठ साताको युद्धविराम तोडेर पुनः आक्रमण सुरु गरेपछि पहिलोपटक हो, जसपछि सयौं मानिसको मृत्यु भइसकेको छ।
युद्धविराम सकिनु केही दिनअघि नै इजरायलले गाजामा सम्पूर्ण आयात रोक लगाएको थियो, जसले मानवीय संकटलाई गहिर्याएको छ। यदि यो नखुलाइएमा गाजामा भोकमरीको खतरा रहेको भन्दै अन्तर्राष्ट्रिय चेतावनी दिइएको छ। इजरायलले यो नाकाबन्दी हमासलाई आफ्नो सर्तमा युद्धविराम गर्न बाध्य पार्ने उपायको रूपमा लिएको दाबी गर्छ।
इजरायली अधिकारीका अनुसार हालसम्म ५९ जना बन्धकहरू हमासको कब्जामा छन्, जसमध्ये करिब २४ जना जीवित रहेको बताइएको छ। सन् २०२३ मा हमास नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका करिब २ सय ५० जनामध्ये धेरैलाई युद्धविराम सम्झौताका आधारमा रिहा गरिएको थियो।
टेलिभिजन फुटेजमा एलेक्जेन्डरको आमा याएल एलेक्जेन्डरलाई दक्षिण इजरायलको रेइम सैन्य बेस पुग्दै गरेको देखाइएको छ, जहाँ उनको छोरा ल्याइने अपेक्षा गरिएको थियो।उनकी हजुरआमा वार्दा बेन बारुखले इदानको मनपर्ने खाना बनाएर सैन्य बेसमा पठाएको बताइन्।
ट्रम्पले भने – ‘यो युद्ध अन्त्यतर्फको आशालाग्दो कदम’
हामासले आइतबार एलेक्जेन्डरको रिहाइको घोषणा गरेको केही घण्टामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको पहिलो विदेश भ्रमणमा निस्कन लागेका छन्। ट्रम्पले यो रिहाइलाई कतार र इजिप्टको मध्यस्थता प्रयास तथा युद्ध अन्त्यका प्रयासप्रति विश्वासको संकेत भनेका छन्।
‘यो हिंसात्मक युद्ध अन्त्य गर्न र सबै बन्धक तथा उनीहरूका अवशेषहरू परिवारमा फर्काउनका लागि उठाइएको आशाजनक कदम हो,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो युद्ध अन्त्य गर्ने अन्तिम कदमको सुरुवात होस् भन्ने आशा राखेको छु।’ट्रम्प साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स जाँदैछन्, तर इजरायलमा भने उनको भ्रमण तय भएको छैन।
इजरायलले अझ आक्रमण तीव्र पार्ने योजना बनाइरहेको
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीसँग भेट गरेर बाँकी बन्धकहरूको रिहाइबारे छलफल गरेका छन्।
नेतन्याहुको कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले वार्ता टोलीलाई भोलि दोहा पठाउने निर्देशन दिएका छन् । तर यस वार्ता गोली वर्षिरहेको अवस्थामै हुने स्पष्ट पारिएको छ।
बन्धक परिवारहरूको प्रतिनिधि संगठन होस्टेजेज एण्ड मिसिंग फ्यामिलिज फोरमले इजरायली टोली दोहा पठाउने निर्णयको स्वागत गर्दै भन्यो, ‘इदान एलेक्जेन्डरको रिहाइले हामीमा आशा जगाएको छ। तर हामी बाँकी ५८ प्रियजनलाई पनि सुरक्षित फर्काउनु पर्छ। समय घट्दैछ, ढिलो गर्न पाइँदैन।’संगठनले ट्रम्पको योजना सबै बन्धक तुरुन्त रिहा गर्ने सम्भावित बाटो भएको पनि जनाएको छ।
रिहाइबापत इजरायलबाट कुनै सम्झौता नभएको दाबी
नेतन्याहुको कार्यालयले एलेक्जेन्डरको रिहाइमा इजरायलले कुनै पनि सहमति वा सम्झौता नगरेको दाबी गरेको छ।इजरायलले युद्धविराम वा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति पनि नगरेको जनाइएको छ। केवल एलेक्जेन्डरको सुरक्षापूर्वक फर्काउन सुरक्षित मार्ग खुला गरिएको बताइएको छ।तर अमेरिका र इजरायलबीच भएको संवादका आधारमा यो रिहाइले बाँकी बन्धक रिहाइका लागि नयाँ सम्झौता सम्भव बनाउने देखिएको नेतन्याहुको कार्यालयले जनाएको छ।
नेतन्याहुप्रति आलोचना : अमेरिकी राष्ट्रपति नै आफ्ना नागरिक फर्काइरहेका
इदान एलेक्जेन्डरको रिहाइमा इजरायलको प्रत्यक्ष संलग्नता कति थियो भन्ने कुरा प्रस्ट नभए पनि यसले नेतन्याहुविरुद्ध भित्रि आलोचना जन्माएको छ।आफ्नै भ्रष्टाचार मुद्दामा अदालतमा बयान दिइरहेका नेतन्याहुलाई एक महिलाले प्रश्न गरिन्, ‘के तपाईंलाई लाज लाग्दैन कि अमेरिकी राष्ट्रपति आफ्ना नागरिकहरू फर्काइरहेका छन् तर तपाईं आफ्ना नागरिकहरूलाई मृत्युको मुखमा छाडिरहनुभएको छ?’
नेतन्याहुका आलोचकहरूले युद्ध लम्ब्याउन राजनीतिक कारण देखिरहेका छन्। तर नेतन्याहुले भने आफू बन्धक मुक्त गराउने र हमासलाई नष्ट गर्ने लक्ष्यमा केन्द्रित रहेको दाबी गर्छन्।
सन् २०२३ मा हमास नेतृत्वमा भएको आक्रमणमा १ हजार २ सय इजरायलीको मृत्यु भएको थियो। त्यसको प्रतिक्रियामा गरिएको इजरायली कारबाहीमा अहिलेसम्म ५२ हजार ८ सयभन्दा बढी प्यालेस्टिनीहरू मारिइसकेका छन्, जसमा धेरैजसो महिला र बालबालिका छन्।यस आक्रमणले गाजाको शहरी भूभाग ध्वस्त बनाएको छ र ९० प्रतिशतभन्दा बढी जनसंख्या विस्थापित भइसकेको अन्तर्राष्ट्रिय रिपोर्टहरू बताउँछन्।
#इदान एलेक्जेन्डर
विश्व/प्रवास
हमासले अमेरिकी–इजरायली बन्धक रिहा गर्ने तयारी
द नेप्लिज संवाददातादक्षिण अफ्रिकी गोरालाई अमेरिकामा विशेष स्वागत
द नेप्लिज संवाददाताअष्ट्रेलियाको नयाँ मन्त्रिमण्डलमा आधी महिला
द नेप्लिज संवाददाताअमेरिका–चीन सम्बन्ध सुध्रिने संकेतसँगै डलर र युआनको मूल्य उकालो
द नेप्लिज संवाददातायुद्धविराममा अमेरिकाको भूमिकामा मोदी मौन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares