कहिलेकाहिँ सँगै भएर पनि हामीले खुशी महसुस गर्दैनौंं।अब समय आएको छ—फेरि आफूभित्र फर्केर हेर्नुहोस्। साँचै अभाव नै दुःख हो? कि जीवनका ती साना क्षणहरू नै तृप्ति वा सन्तुष्टिको असली उपहारहरु हुन् ?
विराटनगर– एक दशकअघिको कुरा हो। काठमाडौँमा एक राष्ट्रिय दैनिकमा काम गर्दा पाएको तलबले कोठा भाडा, बाबुको पढाइ र दैनिकी चलाउन मुस्किल पर्थ्यो। ऋणको भार बढ्दो थियो। अतिरिक्त आम्दानीको स्रोत थिएन। मुद्रा अभावकै कारण मेरो स्नातकोत्तर पढाइ अधुरो बन्ने स्थितिमा थियो।
त्यही बेला पत्रकारिताबाट पलायन हुने विचारमा थिएँ। तर मेरो समर्पण देखेर श्रीमतीले आफ्नो मंगलसुत्रसहित सबै गहना बेचिन्। मुस्कुराउँदै भनिन्, ‘सधैँभरि यस्तै अवस्था रहँदैन नि, हजुरले पछि कमाएर किन्दिनु होला।’
आजसम्म पनि ती गहना फर्काउन सकेको छैन। श्रीमतीजीको आफ्नो भए पनि चार कोठे घर होस् भन्ने चाहना छ । बहालमा बसेको तीन दशक बढी भयो । छोरा पनि भाडा घरमै हुर्कियो । चिटिक्क परेको आफ्नै घर बनाउन सक्नु हाम्रो लागि अझै एउटा सुन्दर सपना नै हो । कहिल्यै पूरा हुने हो, थाहा छैन । यो प्रसँग निस्कँदा उनी फेरि मुस्कुराउँदै भन्छिन्, ‘केको हतारो? छोरा पनि दिनरात खटिरहेको छ, मैले पनि व्यापार थालेको छु। विस्तारै मंगलसुत्र–गहना किनौंला, सानो घर पनि बनाउँला।’
२६ माघमा हाम्रो २५औँ वैवाहिक वर्षगाँठ थियो। त्यसभन्दा अघि उनलाई उपहारमा मोबाइल र मंगलसुत्र दिने मन थियो। तर सीमित आम्दानीमा घर र पसलको भाडा, दैनिक खर्च धान्नै मुस्किल छ। उनले गुनासो गरिनन्।
महँगी बढेसँगै पत्रकारिताबाट आउने आम्दानीले गुजारा गर्न हम्मे भएपछि एक वर्षअघि मेरी श्रीमतीले पूजाको सामग्रीको सानो पसल खोलिन्। २५ वर्ष गृहिणी रहेकी उनी आज आर्थिक मोर्चामा अगाडि छन्। म सहयोगी भूमिकामा छु। व्यापार हाम्रो पहिलो अनुभव भए पनि श्रीमतीको सकारात्मक सोच र सन्तोषी मनले मलाई पनि जीवन्त राखेको छ।
एक दिन बिहानदेखि झरी परिरहेको थियो। श्रीमती पसल खोल्न निस्किन्। साँझ फर्किँदा हर्षित हुँदै भनिन्, ‘आज त बोहनी पनि नहोला जस्तो लाग्थ्यो, तर अलिअलि भए पनि बिक्री भयो। व्यापार हो, आज नभए भोलि हुन्छ।’
उनी भविष्यप्रति बेपरवाह भएर वर्तमानसँग रमाउँछिन्। म अचेल अक्सर सोच्ने गर्छु—मान्छे खुशी किन र कसरी हुन्छ?
हामी धन, पद, प्रतिष्ठा, घर, गाडी, बैंकको मौज्दातबाट खुशी खोज्छौं। तर किसान, मजदुर, सामान्य कर्मचारी जसले दिनभर संघर्ष गर्छन्—तिनीहरूका अनुहारमा मुस्कान देखिन्छ। किन?
केही दिन अघि म पूजा पसलमा श्रीमतीलाई पालो दिने क्रममा बसेको थिएँ। कार्यालयले उपलब्ध गराएको ल्यापटपमा ‘द नेप्लिज डट कम’ का लागि समाचार सम्पादन गर्दै थिएँ। एक सम्पन्न मित्र अचानक आइपुगे। मलाई अबीर, सिन्दुर, टीका, माटाका भाँडाकुँडा बेच्दै देख्दा छक्क परे। ‘हामीलाई यही दिन देखाउन पत्रकारिता गरेका थियौ?’ ठट्याउँदै भने।
मैले भनेँ, ‘जे भए नि छोराको पढाइ, घर खर्च थाम्न सकियो, आफैंले छानेको बाटो हो, पछुतो छैन। कसैले हेप्ला, बेइज्जत गर्ला भन्ने चिन्ता पनि छैन।’
ति मित्रसँग ठाउँठाउँमा सम्पत्ति छ, तर चिन्ता पनि छ—शेयर बजारमा आउने समस्या, देशको अवस्थाले अस्थिर व्यापार, राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न समूहलाई आर्थिक सहयोग वितरण, अथाह सम्पतिकै कारणले अनावश्यक ढंगले विस्तारित सम्बन्धले निजी जीवन तहसनहस । उनी प्रायः तनावमा देखिन्छन्। बेलाबेलामा भेट्न आउँछन् र छुट्ने बेलामा भन्छन्, ‘आर्थिक अभावमा पनि तिमीलाई मभन्दा बढी खुशी देख्दा डाहा लाग्छ।’
पूर्णरुपले पत्रकारिताको दलीयकरण भइसकेको अहिलेको बेलामा मजस्ता सञ्चारकर्मीका लागि यो पेसामा टिक्न वा बाँच्न सहज छैन । तर पत्रकारिता मेरो रोजाइ हो, धन्दा होइन। राजनीतिक समूहमा कहिल्यै सामेल भइनँ।
पत्रकारिताबाटै कमाउँछु भन्ने मोह पनि कहिल्यै थिएन। तर ढिलो बुझेँ—यो पेसाले जीवन गुजार्न गाह्रो छ। योसँगै जानेबुझेको अन्य कर्म उहिले थाल्नु पर्थ्यो । चार कोठाको भए पनि बेलामा कम्तिमा एउटा घर र आइजाइका लागि स्कुटी सम्म त हुन्थ्यो । छोराको अध्ययन मार्ग सहज हुन्थ्यो ।
तर यो यथार्थ भनिरहँदा दुखी भने छैन। श्रीमतीको पसलबाट आएको आम्दानीले जेनतेन घर चलिरहेको छ। पत्रकारितालाई निरन्तरता दिन सकिरहेको छु। ‘तिमीलाई मेरो भित्री मन र स्थिति थाहा छ,’ त्यो मित्रलाई भनेँ, ‘म खुशी छु, किनकि म यथार्थसँग सामञ्जस्यमा छु। स्वाभिमान मरेको छैन। तिमीहरूजस्ता मित्र छन्, मलाई अरू के चाहियो?’
मित्रले अँगालो हाल्दै भने, ‘साँझको खाना सँगै खाउँला।’उनी गएपछि फेरि त्यो प्रश्न मनमा आयो—खुशीको जरा कहाँ गाडिएको छ?खुशी किनबेच हुने वस्तु होइन। त्यो अनुभूति हो। आत्मस्वीकृति, सम्बन्धको मर्म, उद्देश्य र योगदानमा आधारित अनुभव हो।
हामीले धन, पद, इज्जत खोज्यौं। तर यी सबै भइसकेपछि पनि भित्र कताकता खालीपन बाँकी रहन्छ।किन? किनभने मन तृप्त तब मात्र हुन्छ, जब उसले आफैंलाई चिन्छ, अरूलाई बुझ्छ र जीवनमा साँचो उद्देश्य भेट्छ।
मेरा एक साथी छन्, विराटनगरमा चिया–पसल चलाउँछन्। विगतमा जमिनदारका छोरा थिए। तर भन्छन्, ‘अब म चिया पसले हुँ, यही मेरो वर्तमान हो। यहीमा रमाउन सिकेको छु।’
मलाई लाग्छ, उनीजस्ता सयौँ अनुहार अभावबीच पनि मुस्कुराइरहेका छन्। गाउँमा पानी लिन दुई घण्टा हिँड्नुपर्ने आमाहरू, ज्यालादारी काम गरेर सन्तान पढाउने मातापिताहरू—यी सब अभावका कथा हुन्। तर यही कथामा जीवनको संगीत छ।
उनीहरूसँग विलासिता छैन, तर छ—सन्तोष, सहिष्णुता र मानवीयता।हामीले सुख र समृद्धिलाई एउटै लक्ष्य मानेर दौडियौं, सन्तोष हरायो। अब त धेरै छ तर मनमा खालीपन छ। गिफ्ट, उपाहर दिन जानेका छौं, तर समय दिन बिर्सियौं।
केले जन्माउँछ साँचो खुशी?
आफूलाई स्वीकार्ने साहस,
परिवारसँग बिताएको समय,
अरूलाई केही दिन सक्ने सामर्थ्य,
दुःखमा पनि उद्देश्यसहित बाँच्ने संकल्प,
यी आधारमा हेर्दा थाहा हुन्छ—खुशी पैसा भएर होइन, मनमा उज्यालो हुँदा प्राप्त हुन्छ ।
खुशी खोज्नु पर्दैन, सम्झनु मात्र पर्छ। बुबाले पढ्न बोलाउँदा, आमाले हात समाउँदै बजार लैजाँदा, छोराछोरी निस्फिक्री हाँस्दा, कसैले सम्मानपूर्वक मिठो बोलिदिंदा, चियाको चुस्को लिंदै आत्मियजनसँग मनका कुरा गर्न पाउँदा, अप्ठेरामा साथ दिएर कसैको मुहारमा हाँसो ल्याउँदा, निराशामा पथ प्रदर्शक भइदिँदा, मिहिनेतका उपलब्धि र आत्मसम्मानका साथ बाँच्न पाउँदा...यस्तैयस्तैमा खुशी लुकेको हुन्छ।
कहिलेकाहिँ सँगै भएर पनि हामीले खुशी महसुस गर्दैनौंं।अब समय आएको छ—फेरि आफूभित्र फर्केर हेर्नुहोस्। साँचै अभाव नै दुःख हो? कि जीवनका ती साना क्षणहरू नै तृप्ति वा सन्तुष्टिको असली उपहारहरु हुन् ?
#खुशी# पैसा
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares