काठमाडौं, ६ चैत – काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को मानसिक रोग विभागका दुई चिकित्सकसँग नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ। विद्यार्थीहरूलाई मानसिक दबाब दिएको आरोपपछि काउन्सिलले ‘किन कारबाही नगर्ने?’ भन्ने स्पष्टिकरण सोधेको हो।
गत ४ फागुनमा धुलिखेल अस्पतालमा अध्ययनरत एमडी प्रथम वर्षकी एक छात्राले आत्महत्याको प्रयास गरेकी थिइन् । उनलाई मानसिक दबाब दिइएको, गालीगलौज र दुर्व्यवहार गरिएको आरोप आवासीय चिकित्सकहरूले लगाएका छन् ।
यस घटनापछि काउन्सिलले मानसिक रोग विभाग प्रमुख डा. अजय रिसाल, डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई प्रारम्भिक रूपमा निलम्बन गरेको थियो। १८ फागुनमा आरोपित चिकित्सक तथा पीडित पक्षको बयान लिइएपछि अनुसन्धान अघि बढाइएको हो।
काउन्सिलको व्यावसायिक आचरण समितिले डा. अजय रिसाल र डा. दीपक कुँवरमाथि विशेष रूपमा अनुसन्धान केन्द्रित गर्दै स्पष्टीकरण मागेको छ। काउन्सिलका एक सदस्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई आंशिक रूपमा दोषी देखिएकाले स्पष्टीकरण सोधिएको हो। आत्महत्याको प्रयास गर्ने चिकित्सकले आफूमाथि निरन्तर मानसिक यातना र गालीगलौज भएको दाबी गरेकी छन्।
'सानो गल्तीलाई ठूलो बनाएर गाली गरिन्थ्यो। ‘तिमीहरू धर्तिको बोझ हौ’ जस्ता शब्द प्रयोग हुन्थे,' उनले भनिन्। 'शिक्षकहरूले बिरामीकै अगाडि फाइल फालेर हप्काउने, दिनहुँ गाली गर्ने गर्थे। यसै कारण आत्महत्याको सोच आयो।' उनका अनुसार निरन्तरको मानसिक तनावले गर्दा मानसिक रोगको औषधि सेवन गर्न बाध्य भइन्। 'बिहान उठेपछि वार्ड जानै मन लाग्दैनथ्यो। कुन डाक्टरको गाली खाइने हो भनेर डर लागिरहन्थ्यो। राउन्डमा जाँदा हातखुट्टा काम्थ्यो,' उनले भनिन्।
उनले ४ फागुनको घटनापछि आत्महत्या गर्ने निर्णय लिएको बताइन्। 'राउन्ड सकेर कोठा गएँ। फार्मेसीबाट ३० वटा ट्याबलेट किनें र एकैपटक खाएँ । शरीरमा असर गर्न थालेपछि साथीहरूलाई म्यासेज पठाएँ, ‘मलाई माफ गरिदेऊ’ भनेर,' उनले भनिन्। साथीहरू कोठामा आएर उनलाई तुरुन्तै अस्पताल लगे । घटनापछि आवासीय चिकित्सकहरू निष्पक्ष छानबिनको माग गर्दै दबाब दिइरहेका छन् । उनीहरूले विभागीय चिकित्सकहरूलाई निलम्बन गरी नयाँ शिक्षक नियुक्त गर्न माग गरेका छन्।
'यो समस्या पहिलेदेखि दोहोरिइरहेको छ। एक वर्षअघि पनि विद्यार्थीहरूले मानसिक तनाव सहन नसकेर आत्महत्याको प्रयास गरेका थिए। कलेज प्रशासनले गम्भीर रूपमा नलिएको कारण हामी मेडिकल काउन्सिलमा जान बाध्य भयौं,' एक आवासीय चिकित्सकले भने। नेपाल मेडिकल काउन्सिलले चिकित्सकमाथि अनुसन्धान गरिरहेको छ। कारबाहीको निर्णय उनीहरूको बयानपछि गरिने बताइएको छ। यसैबीच, काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूले स्वतन्त्र छानबिन समिति गठन गरी ५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेका थिए। तर हालसम्म प्रतिवेदन सार्वजनिक भइसकेको छैन। अब विद्यार्थीहरूका माग कत्तिको सम्बोधन हुन्छ र अस्पताल प्रशासनले कस्तो कदम चाल्छ भन्ने प्रश्न खुला छ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares