सुख शान्त होइजाउ देश नेपालमा,
रोजगारी आइजाउ आगनमा,
कति राम्रो होली फागुनमा,
हे पशुपति, हे बैजनाथ,
युवा फर्काइदेउ आगनमा,
कति राम्रो होली फागुनमा ।
यो सुदुरपश्चिमेली भाकाको सन्देशमूलक होली गीत हो । यीनै लोक गायन धार्मिक, सांस्कृतिक र सामाजिक पर्व होलीको सबैभन्दा सुन्दर पक्ष हो । यसले रंगको पर्वमा माहोल बनाउँछ । मिठास थप्छ । फागुमा लोक गायन विशेष महत्वको सांस्कृतिक परम्परा हो ।
नेपाल, भारतलगायत दक्षिण एसियाली समुदायहरूमा होलीको मौकामा गाइने लोकगीतहरूले उत्सवलाई अझ रमाइलो बनाउँछ । पहाडी र मधेशी क्षेत्रमा फरक–फरक शैलीका होली गीत गाइन्छन् । विशेष गरी भोजपुरी, मैथिली, अवधी र बज्जिका (मैथिली र भोजपुरी मिश्रित) भाषामा होली गीत गाइन्छ ।
यी गीतहरूमा प्रेम, हास्य–व्यंग्य, रंग–अभिषेक तथा राधा–कृष्ण सम्बन्धी प्रसंगहरू समावेश हुन्छन् । ढोल, मृदंग, हार्मोनियम, झाँझ तथा अन्य परम्परागत बाजाहरूको प्रयोग गरिन्छ । पहाडी भेगमा देउडा, टप्पा, झ्याउरे र दोहोरी गीतहरू पनि होली अवसरमा गाइन्छन् । यहाँ होलीमा मित्रता, प्रेम, सामाजिक सद्भाव र हास्य प्रधान गीतहरू प्रचलित छन् ।
होली गीतहरू खुला रुपमा गाइन्छन् । धेरैजसो गीतहरू हास्यरसले भरिपूर्ण हुन्छन् । यी गीतहरू तत्कालै बनाइने (फगुवा जोगीरा) पनि हुन सक्छन्, जसले होलीको उमंगलाई झन् बढाउँछ । सामूहिक रूपमा गाइने हुँदा समुदायको एकता झल्काउँछ । केही ठूला समूहहरू (मण्डली) बनेर घरघरमा गएर होली गीत गाउँछन् ।
लोकप्रिय होली गीतका उदाहरणहरूः
पल्लो लटके, गोरीको पल्लो लटके...(राजस्थानी)
‘फगुवा में फटता गुलाल... (भोजपुरी)
‘रंग बरसे भीगे चुनर वाली...’ (अवधी)
‘होली आयो रे कन्हाई...’ (हिन्दी)
फागुनको आगमनसँगै नेपाल र भारतका विभिन्न क्षेत्रमा होलीको उल्लास फैलिन्छ । विशेष गरी नेपालको तराई–मधेश, भारतको विहार, उत्तर प्रदेश तथा मारवाडी समुदायमा होलीसँग जोडिएका भजन, जोगिरा र लोकगीत गाउने परम्पराले यो पर्वमा स्वाद थप्छ । यी गीत–संगीतले न केवल पर्वको उत्साह बढाउँछ, समाजमा हास्य–व्यंग्यको रस भर्ने र एकआपसमा सद्भाव बढाउने भूमिका पनि खेल्छ ।
नेपालको तराई–मधेश र भारतको विहार, उत्तर प्रदेशमा होलीमा विशेष गरी ’जोगिरा’ गाउने चलन छ । जोगिरा हास्य–व्यंग्य मिश्रित लोक गायन हो, जसमा समाजका विकृतिहरूलाई रमाइलो पाराले व्यंग्य गरिन्छ । यो प्रायः समूहमा गाइन्छ, जसमा एकले गाए पछि अर्कोले थपेर गाउने शैली हुन्छ । उदाहरणका लागि
गाउँकै मुखिया ठूलो भए, जनता भइगए निचा,
अब चुनावको बेलामा, सबैलाई दिने भिक्षा ।
जोगिरा सररर...
जोगिरा हल्का मन बहलाउने माध्यम हो । यसले गाउँ–समाजमा हास्यरस ल्याउँछ । यसमा प्रेम, राजनीति, सामाजिक विसंगति र हास्यव्यंग्य मिश्रित भाव व्यक्त गरिन्छ । मधेशी समुदायमा होलीमा भगवान कृष्ण, राम र शिवका भजन गाउने परम्परा पनि छ । मृदङ्ग, झ्याली र हरमोनियमका साथ ’होली कीर्तन’ पनि गाइन्छ । कृष्णलीलासँग सम्बन्धित गीतहरू जस्तै :
‘राधासँग खेले श्याम होली,
बरसे ब्रज में गुलाल’
यी भजनहरूले धार्मिक माहोल सिर्जना गर्छन् । भक्ति रसमा सबैलाई डुबाउँछन् । नेपाल र भारतका मारवाडी समुदायमा होलीमा गीत, संगीत र नाचगानलाई महत्व दिइन्छ । होलीको बेला मारवाडी लोकगीत गाउने परम्परा छ । यसमा शास्त्रीय र राजस्थानी लोक धुन समावेश गरिन्छ । केही चर्चित मारवाडी होली गीतहरू :
‘केसरिया बालम, पधारो मारे देश !’
‘होली आई रे...१
‘रंगीलो मारवाड !
‘खेले खेले ससुर जी की पोल’
‘पल्लो लट्के गोरीको पल्लो लटके’
मारवाडी समाजमा होली विशेष रूपमा परिवार, समाजका सदस्यबीच नाचगानसहित मनाइन्छ । विभिन्न रंगको अबीर उडाउँदै, ढोल–मृदङ्गको तालमा नाच्दै होली खेल्ने परम्परा छ । नेपालको मधेश, भारतको उत्तर प्रदेश–बिहार र मारवाडी समुदायबीच होलीको सांस्कृतिक समानता देखिन्छ ।
धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा यो पर्व गीत–संगीतका माध्यमबाट अझ आकर्षक बन्छ । जोगिरा, भजन, लोकगीत र नृत्यको संगमले होलीलाई रंगीन मात्रै होइन, सांस्कृतिक रूपमा समृद्ध पनि बनाएको छ ।
कुनै बेला एक महिना अगाडिदेखि मनाइने होली अहिले दुई दिनमा सिमित भएको छ । होलीको आगमनमा पार्टी, संघ, संगठन र समाजले होली मिलन समारोह आयोजन गरे पनि सांस्कृतिक पक्षको कमै चर्चा हुने गर्छ । ‘दैनिक जीवनको धपेडी र आर्थिक संघर्षमा चाडबाड औपचारिकतामा सिमित हुँदा लोक गायन पनि लोप हुँदै गएको छ,’ विराटनगरका ज्येष्ठ नागरिक नन्दलाल कामत भन्छन् । उनले संवाद गर्दागर्दै सुनाइ हाले,
‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सररर ।
नेपालीमा यसको अनुवाद ‘कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म,’ हुन्छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म माधुर्य र प्रेम भाव भएको होली गीत गाइन्थ्यो । रुची अभाव र व्यस्तताले सिक्न नसक्दा युवा माझ होली गायन लोप हुँदै गएको कामतको बुझाइ छ ।
‘होलिको दुई दिन अगाडि सम्म पनि न ढोलक बचेको सुनिन्छ, न त जोगिराको गुञ्जन छ,’ विराटनगरका मुरारीप्रसाद उपाध्याय भन्छन् । गाउन जान्ने बुढापाका नहुनु, रोजगारीका लागि उर्जाशील जमात विदेशिंदा र उच्च प्रविधिका आगमनले युवापुस्तामा यता तिर रुची नहुँदा होलीको सबै पक्षमा असर परेको उनको बुझाइ छ ।
उनको अनुसार पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका गाइने जोगिरा (फागु गीत) हरेक वर्ष कम हुँदै गएको छ । यो सुन्दर सांस्कृतिक धरोहरको ठाउँमा ध्वनि प्रदूषणमा योगदान दिने डिजेको प्रवेश भएको छ । स्थानीय रामप्रसाद गेलाल भन्छन्,‘जोगिरा गायनले होली खेलुखेलु पार्छ, डिजको हल्लाले घरबाट निस्कन मन लाग्दैन ।’
पहिलेपहिले फागु पुर्णिमाको एक महिना अगाडिदेखि साँझपख गाउँमा भेला भएर झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगतरुपमा होली गीत जोगिरा गाइन्थ्यो । ‘खर्च धान्न गाह्रो हुने गरी महंगी बढेको छ, घरपिच्छै छोराछोरी विदेशिएका छन्,’गेलाल भन्छन्,‘घर कुर्ने मान्छे हुन्न, होली गीत गाउन कहाँ जानु ?’
होली पर्वमा ढोलक, मृदंग, झ्याली, हार्मोनियमलगायतका बाजाका साथ वाद्यवादनका साथ सवाल जवाफ शैलीमा गाइने यस्ता होली गीत र जोगिरा गाउने चलन स्वात्तै घटेको सबै वर्गको बुझाइ छ ।
पुराना पत्रकार नरेश बरालका अनुसार पारम्पारिक होली गीतको ठाउँ सहजै उपलब्ध आधुनिक हिन्दी र भोजपुरी गीतले लिएको छ । होलीको लोक गायनको मौलिक पक्षको संरक्षणका लागि नागरिकदेखि सरकार सम्म जाग्नुपर्ने अवस्था छ । ‘सबथोक यसरी हराए पछि हाम्रो मौलिकता र पहिचान के त ?,’उनी प्रश्न गर्छन् ।
बरालका अनुसार दुई दशक अगाडि सम्म होलीको आगमनमा धेरै दिन अगाडिदेखि यही विराटनगरमा चोकचोकमा भेला भएर जोगिरा गाइन्थ्यो । स्थानीय भोजबहादुर भुजेल भन्छन्, ‘केही वर्ष यता होली आए, गएको महसुस हुनै छाड्यो, गीत, संगीत बिनाको होलीमा केको रमाईलो हुनु ?’
फागु पुर्णिमाको केही दिन अगाडिदेखि मारवाडी समुदायले लोक बाजा डम्फुको तालमा पापमाथि पुण्यको विजय, देवरभाउजूबीचको ठट्टा, घोचपेच र व्यंग्य समेटिएका गीत गाउँदै घरघरै पुग्थे । आलोपालो हरेक दिन कसै न कसैको घरमा संगीतमा महफिल बस्ने गरेको मोरंग रंगेलीका राजेश अग्रवाल संझन्छन् । ‘अब न त्यो समय रह्यो, न त त्यस्तो माहोल, पहिलेको जस्तो आत्मियता पनि छैन, आवश्कयता बढेर समाज अर्थमुखी हुँदा अब रमाईलो गर्नलाई पनि मान्छेसँग समय छैन,’उनी भन्छन् ।
अढाइ दसक अगाडि सम्म निम्तोअनुरूप साताअघिदेखि दैनिक एक घरमा साँझपख सांगीतिक भेला हुन्थ्यो । घरबेटीले खाजा खुवाएपछि रंग लगाएर सबैलाई विदा गर्थे । होलिका दहनको भोलिपल्टसम्म यो क्रम चल्थ्यो । स्थानीय मधेसी समुदायले पनि धेरै दिनअघिदेखि आ–आफ्ना टोलटोलमा भेला भएर ढोलक, हार्मोनियम र झ्यालीको धुनमा ‘जोगिरा सररर...’ गाउन सुरु गर्थे । यो सब गतिविधिले फागुपूर्णिमा आउन लागेको महसुस हुन्थ्यो । अहिले होरी (होली) नजिकिँदै जाँदा पनि बजार र बस्तीमा उतिसारो रमझम छैन ।
होलीमा बजाइने वाद्ययन्त्र पनि घरमा थन्काएर राखिएको छ । उद्योग, शिक्षा र अवसरको खोजीमा अधिकांश परिवार मुलुकका प्रमुख सहर र अन्य देश पुग्दा पहिलाको जस्तै रौनक नभएको मोरङ कटहरीका नारायण भगत बताउँछन् । उनको अनुसार डिजिटल प्रविधिमा रमाउने युवा जमातको यतातिर ध्यान छैन ।
रामायण र महाभारतको कथा एवं राजनीतिक व्यंग्यमा आधारित हिन्दी, भोजपुरी, मैथिली तथा अवधी भाषाका जोगिरा गायन त अब खोजबीनको विषय बनेको भगत बताउँछन् । स्थानीयका अनुसार २०४० पछिदेखि होलीको मौलिकतामा ह्रास आउन थालेको हो । अब त फगुवा एक दिन, त्यो पनि केही घटनामा सिमित भएको स्वास्थ्यकर्मी विद्यानन्द चौधरी बताउँछन् । उनी भन्छन्,‘बिहान सुरु हुन्छ, दिउँसो समापन भइहाल्छ ।’
उ बेला चार दिन सम्म होली खेलेको उनलाई संझना छ । पहिलो दिन धुलोको होली (धुर खेल), दोस्रो दिन पानीको, तेस्रो र चौथो दिन शुद्ध अबिर एवं रंगको होली खेलिन्थ्यो । होली पर्व मात्र रङहरूको नभइ लोकसंस्कृतिको जगेर्ना गर्ने एउटा माध्यम पनि हो । ‘लोकगायनको परम्परा अझ जीवित राख्नु आवश्यक छ । होलीमा यी पुराना परम्पराहरू निरन्तरता पाइरहनु पर्छ, जोगाउने त हामीले नै हो,’ स्थानीय अशोक रौनियार भन्छन् ।
हो, तराई–मधेशमा पहिले जस्तो जोगिरा सरररको रौनक अब देखिँदैन । जोगिरा सररर मात्र गीत नभइ समाजको व्यंग्य, हास्य, व्यथा, र लोकसंस्कृतिको प्रतिविम्ब थियो । ग्रामीण भेगमा मानिसहरू होली खेल्ने क्रममा समूहमा भेला भएर ढोलक, मँजिरा, तथा अन्य लोकवाद्यसहित जोगिरा गाउँथे । तर अहिले होलीको शैली परिवर्तन भएको छ । मानिसहरू बढी आधुनिक गीत–संगीतमा रमाउने, रङ छ्यापाछ्याप गर्ने र सामाजिक सञ्जालमा फोटो÷भिडियो पोस्ट गर्नमै व्यस्त हुन्छन् । सहर तथा गाउँमा पनि होलीको परम्परागत उल्लास घट्दै गएको छ ।
यसको अन्य थुप्रै कारणहरु हुन सक्छन् :
१.सांस्कृतिक परिवर्तन : युवा पुस्ता परम्परागत जोगिराभन्दा फिल्मी वा पाश्चात्य शैलीका गीत–संगीतमा बढी आकर्षित छन् ।
२.समाजको बदलिँदो जीवनशैली : पहिले गाउँमा सामूहिकता थियो, अहिले मोबाइल, इन्टरनेटले व्यक्तिगत रमझमलाई प्राथमिकता दिएको छ ।
३.सामाजिक संजालको प्रभाव : अहिले टिकटक, फेसबुक, इन्स्टाग्राममा रमाइलो देखाउनकै लागि होली खेल्ने प्रवृति छ ।
४.पुरानो पुस्ताको सक्रियता घट्दै जानु : पहिलेका जोगिरा गाउने माहिरहरू उमेर ढल्किँदै जाँदा नयाँ पुस्ताले सिक्न चासो नदेखाउनु पनि एक कारण हो ।
५.बढ्दो शहरीकरण र नियमहरू : कतिपय ठाउँमा होलीमा उच्छृंखल गतिविधि हुन थालेपछि प्रशासनले कडाइ गरेको छ, जसले गर्दा पहिलेको जस्तो स्वतन्त्र वातावरण छैन ।
जोगिरा सररर मात्र मनोरञ्जनका लागि गाइने गीत नभइ सामाजिक सन्देश दिने माध्यम पनि थियो । अब यसको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्छ, नत्र यो पुरानो पुस्ताको सम्झनासँगै हराउनेछ ।
तपाईंको विचारमा के कारणहरूले होलीमा लोक गायन पक्ष घट्दै गएको होला ? कृपया thenepalese1@gmail.com मा प्रतिक्रिया पठाउनुहोला । हजुरहरुलाई फागुपूर्णिमाको शुभकामना !
(यो खोजमूलक फिचरमा राखिएका तस्बिरहरु राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समाचार माध्यमहरुबाट साभार गरिएका हुन् )
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares