२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

थाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन

द नेप्लिज संवाददाता
१८ जेठ २०८२, आइतबार

Advertisement

भारत, हैदराबाद (एपी) — थाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई शनिबार भारतमा सम्पन्न ७२औँ मिस वर्ल्ड २०२५ प्रतियोगितामा विजेता घोषित गरियो। यस वर्षको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको हैदराबाद सहरमा आयोजना गरिएको थियो।

ओपालले १०८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। इथियोपियाकी हैसेट डेरेजे अदम्सु पहिलो उपविजेता घोषित भइन्। गत वर्षकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ओपालको शिरमा ताज पहिर्याइदिएकी हुन्।

मिस वर्ल्ड २०१६ विजेता स्टेफानी डेल भ्याले र भारतीय प्रस्तोता सचिन कुम्भारले सह–आयोजकको रूपमा प्रतियोगिता सञ्चालन गरेका थिए। भारतले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो।

भारतकी नन्दिनी गुप्ता अन्तिम २० मा स्थान बनाउँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन्।भारतले अघिल्लो वर्षहरूमै मिस वर्ल्डको  ताज जित्ने सफलताको इतिहास राखेको छ।

भारतका ६ महिलाहरूले अहिलेसम्म मिस वल्र्डको उपाधि जितिसकेका छन्, रीता फारिया (१९६६), ऐश्वर्या राय (१९९४), डायना हेडन (१९९७), युक्ता मुखी (१९९९), प्रियंका चोपड़ा (२०००) र मानुषी छिल्लर (२०१७)।

यो वर्षको प्रतियोगितामा अन्तिम चारमा एसियाबाट थाइल्याण्ड, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र अमेरिकन–क्यारेबियन क्षेत्रबाट मार्टिनिकका सुन्दरीले स्थान बनाएका थिए। इथियोपियाकी हैसेट डेरेज पहिलो रनरअप, मार्टिनिककी अरेली योहाचिम दोस्रो रनरअप र पोल्याण्डकी माया क्लाज्दा तेस्रो रनरअप घोषित भए।नेपालबाट सृच्छा प्रधानले प्रतिस्पर्धा गरेकी थिइन् तर नेपाल अन्तिम ४० मा अटाउन असफल रह्यो।

‘सौन्दर्य क्षणिक हो, उद्देश्य स्थायी’ ओपाल सुचाताको उद्घोष
विजेता घोषित हुनु अघि नै सामाजिक सञ्जालमा ओपालको सन्देश व्यापक चर्चित बनेको थियो। उनले लेखेकी थिइन्, ‘यो केवल थाइल्याण्डको प्रतिनिधित्व गर्ने विषय होइन, यो ती महिलाहरूको लागि बोल्ने हो, जसको आवाज सुन्ने कोही छैन।’

अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरिरहेकी ओपालको लक्ष्य भविष्यमा राजदूत बन्ने रहेको छ। मनोविज्ञान र मानवशास्त्रमा गहिरो रुचि राख्ने ओपाल स्तन क्यान्सरविरुद्धको अभियानमा सक्रिय स्वयंसेवकको रूपमा पनि परिचित छिन्। उनले एक समर्थकको जीवनको कठिन लडाइँमा प्रेरणा बनेको गर्व व्यक्त गरेकी छन्।

उनीसँग १६ बिरालो र ५ कुकुर पालिएका छन्। उनको आदर्श वाक्य हो – ‘तपाईंले बाँच्नुभएको कारणले अर्को एक जीवनले सजिलोसँग सास फेरेको छ भनेर जान्नु नै सफल हुनु हो।’

सांस्कृतिक समावेशिता र सामाजिक उत्तरदायित्वमा जोड
‘ब्युटी विथ अ पर्पस’ भन्ने नारासहित सन् १९५१ देखि सञ्चालन हुँदै आएको मिस वर्ल्ड प्रतियोगिताले यसपटक पनि सामाजिक कार्यमा योगदान पुर्‍याउने प्रतिस्पर्धीहरूलाई विशेष सम्मान प्रदान गर्‍यो। इन्डोनेसियाले यसपटकको ‘ब्युटी विथ अ पर्पस’ विधाको उपाधि जित्यो।

प्रतियोगिताको एक विशेष कार्यक्रममा सहभागीहरूले हैदराबादको ऐतिहासिक स्थल चारमिनार अगाडि ‘हेरिटेज वाक’ समेत गरेका थिए। प्रतियोगिता केवल ग्ल्यामरमै सीमित नरहेको सन्देश दिन खोजिएको देखिन्छ।

सोनू सूदलाई मानवीय योगदानको सम्मान


कोभिड महामारीका बेला गरेको सहयोगका कारण भारतीय अभिनेता सोनू सूदलाई ’मिस वर्ल्ड ह्युम्यानिटेरियन अवार्ड’ प्रदान गरियो। अवार्ड साउथ सुपरस्टार राणा दगुबातीले प्रदान गरे। सूद यसपटक प्रतियोगिताका निर्णायक समेत थिए।

नेपालका लागि कहाँ चुक्यो तयारी?
नेपालले पछिल्ला वर्षहरूमा मिस वर्ल्ड जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै आए पनि निरन्तर अन्तिम चरणमा पुग्न असफल भइरहेको छ। यसपटक सृच्छा प्रधानको प्रस्तुति केही सशक्त भए तापनि प्रतिस्पर्धाको उच्चस्तर र तयारीको अभाव मुख्य कारण देखिन्छ।

सिर्जनात्मक सामाजिक परियोजना, प्रभावशाली वक्तृत्व क्षमता र अन्तर्राष्ट्रिय मञ्चमा बोल्न सक्ने परिपक्वता बिना नेपालका प्रतिनिधि पछाडि पर्ने गरेको विश्लेषकहरूको भनाइ छ।
 

#मिस #वर्ल्ड #२०२५

प्रकाशित : १८ जेठ २०८२, आइतबार 06:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved