हार्दिक श्रद्धा शब्दाञ्जली !
विराटनगर — वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष एवं गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक चालिसेको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
२००८ सालको असार २२ मा शुक्रबारकै दिन काठमाडौँ जोरपाटी आरुबारीमा जन्मिएका चालिसेले कथाहरू, उपन्यासहरू, नाटकहरू हुँदै विविध साहित्यिक विधामा बालबालिकालाई केन्द्रमा राखी कलम चलाएका थिए। उनले पत्रकारिता र साहित्यमा छुट्टै छाप छोडेका थिए। उनी २०६६ असार १५ देखि २०६७ फागुन अन्तिमसम्म गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष तथा २०६२ असोज ८ देखि २०६२ पुस १२ सम्म र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ सम्म गोरखापत्र दैनिकको कायम मुकायम प्रधान सम्पादक रहेका थिए।
उनको पूरा नाम विजयकुमार चालिसे हो। बेलायतबाट पत्रकारितामा डिप्लोमा हासिल गरेका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पुस्तकसमेत प्रकाशित गरेका छन्। गोरखापत्र दैनिकको १२५ औँ वर्ष प्रवेशका अवसरमा वैशाख २४ मा आयोजित विशेष समारोहमा उनलाई रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कारसहित ५० हजार रुपैयाँ राशिले सम्मानित गरिएको थियो।
वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र चालिसे नेपाली बालसाहित्यमा समर्पित स्रष्टाका रूपमा चिनिन्छन्। उनका चर्चित बालकथा सङ्ग्रहहरूमा ‘हराएको मूर्ति’ (२०५६), ‘किसानबाट शिक्षा’ (२०५८) र ‘चट्याङ्किको बाँदर’ (२०५९) उल्लेखनीय छन्। यी कृतिहरूमा उनले बालबालिकालाई जीवनका पक्षहरू सरल भाषामा बुझाउने प्रयास गरेका छन्। छोटा वाक्य, रमाइलो संवाद र परोक्ष सन्देशमार्फत ती कथा पठनीय र शिक्षाप्रद बनेका छन्।
उनका उपन्यासहरू पनि ज्ञानवर्धक र वैज्ञानिक दृष्टिकोणले उल्लेखनीय छन्। ‘मंगल ग्रहका विज्ञान’ (२०६०) मा अन्तरिक्ष र सौर्यमण्डलका वैज्ञानिक तथ्यहरू समेटिएका छन् भने ‘मुस्ताङको गुफा’ (२०६१) मा प्राकृतिक सम्पदासम्बन्धी जानकारीसहित बालबालिकाले बुद्धिमत्ता र सतर्कताबाट गलत गतिविधि गर्ने वयस्कहरूमाथि विजय सम्भव छ भन्ने सन्देश दिइएको छ।२०५२ मा प्रकाशित नाटक सङ्ग्रह ‘बादलका बुट्टाहरू’ मा समावेश चारमध्ये दुई नाटकले समयमै बाल प्रतिभाको पहिचान भएमा ती उज्वल भविष्य निर्माण गर्न सक्छन् भन्ने सन्देश दिन्छन्।
चालिसेले आमसञ्चार तथा पत्रकारिताको अध्यापन पनि गरेका थिए। पत्रकारिता, बालसाहित्य, विज्ञान आख्यान र साहित्यका अन्य विधामा उनले दर्जनौँ पुस्तक लेखेका छन्। केही समयअघि मात्र उनको नयाँ उपन्यास ‘युगसन्धि’ प्रकाशित भएको थियो।पत्रकारिता र साहित्यमा समर्पित चालिसे नेपाली सञ्चार तथा बाल साहित्य क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा सधैँ सम्झिइनेछन्।
#विजय#चालिसे#निधन
साहित्य/कला
कान्समा ९ मिनेटको ताली पाएको भारतीय चलचित्र ‘होमबाउन्ड’
असीम छाबरा, चलचित्र लेखकश्रीमानको दीर्घायुका लागि सावित्रीको श्रद्धा सम्झँदै, आज देशभर बटसावित्री पर्व मनाइँदै
द नेप्लिज संवाददाताविराटनगरमा चलचित्र निर्माण सम्बन्धी कार्यशाला
द नेप्लिज संवाददाताथाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन
द नेप्लिज संवाददातावरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares