६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

महायज्ञ स्थलमा डोमको घर परेपछि भत्काइयो, अछुत बसेको भन्दै २ फिट माटो खनेर फालियो

द नेप्लिज संवाददाता
७ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर– सिरहाको औरही गाउँपालिकामा चैत १७ गतेदेखि हुन गइरहेको ‘श्री श्री १०८ विष्णु महायज्ञ’ गर्न छनोट गरेको महायज्ञ स्थलमा कथित दलित डोम समुदायका दीपक मरिकको घर परेपछि भत्काएर हटाइएको छ । महायज्ञ आयोजना गर्ने स्थानमा अछुत वर्ग डोमको घर भएको यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै एक्जाभेटर लगाएर मरिकको घर भत्काउन लगाएको प्रत्यक्षदर्शीले बताए । मरिकको घर मात्र भत्काउनुका साथै उनको घर भएको स्थानको दुई फिट गहिरो माटोसमेत खनेर फालिएको छ । यसले मुलुकमा छुवाछुतको कहाली लाग्दो अवस्था देखाएको हो । 

थातथलो भत्काएर मरिक परिवारलाई सुन्दर जनता माध्यमिक विद्यालय औरहीको २ धुर जग्गामा दुई कोठाको फुसको घर बनाएर सारिएको छ । विगत ३० वर्षदेखि मरिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो । आफ्नो आवास भत्काइए पछि मरिक परिवार विलखबन्दमा परेका छन् ।

यो स्थानमा महायज्ञ गर्नु पर्ने छ , यहाँबाट तिमीहरु हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मरिकले बताइन् । गहभरी आँशु पार्दै उनले विलौना गर्दै भनिन् , ‘हामी सपरिवार त्यहाँ हसीखुशी गुजारा गर्दै थियौ, त्यो घरमा हाम्रो बालबच्चाको नाभी जोडिएको , भावना जोडिएको थियो । तर अहिले हामीलाई यो एकान्त सुनसान ठाउँमा ल्याएर बस्न बाध्य बनाएको छ ।’ घर एउटा–एउटा इटा टिपेर दुःखका साथ बनाएको घर भग्नावशेष बनाइदिएको देखाउँदै अनिताले भनिन्, ‘यज्ञ सुरु हुनु अगावै फागुन १० गते मेरो थातबास उजारियो । हामीलाई बिल्लीबाठ बनाइयो ।’

‘म र मेरा श्रीमान् काममा गएको बेला पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव जेसिभी लिएर आएर घर भत्काउन थाले, ४ दिन अघि छोराको बिबाह गरेर बुहारी भित्र्याएका थियौँ,’ उनले भनिन्, ‘नयाँ बुहारी र मेरा मसिना लालाबाला भएर सकेजति सामान झिकेछन् । झिक्न नभ्याएको सामान जति त्यही पुरियो ।’

घर भत्काएर लखेटिएकी अनिता मरिकको मुटु चिथोरिएको छ । उनी भक्कानिदै भन्छिन्, ‘डोमको कोखमा जन्मेकै कारण आज हामीले यो छुवाछुतको अपमान र भुक्तमान भोग्नु परेको छ ।’ अनिता मरिकको अहिले कान्त विजोग छ । नयाँ ठाउँमा खानेपानीको धारा छैन । अछुत भनेर कसैले आँगन टेक्न दिँदैनन् । चापाकलमा पानी भर्न दिदैनन् । चैतको चर्को घाम छ । तिर्खाले छटपटाउँछन् उनका परिवार । त्यो पुरानो घरमा बिजुली थियो , मैले आफैले जडान गराएको चापाकल भएको तर यहाँ केही नभएको अनिताले दुखेसो पोखिन् । 

‘कप्टेरा जस्ता दुई चारवटा भाटा माथि पुरानो थोत्रो जस्ता हालेर घर ठड्याइ दिएका छन् । बिजुली छैन । गर्मी बढेसँगै सर्प निस्कन्छ । अन्ध्यारोमा डराइ डराइ रात काट्छौँ’ अनिता भन्छिन्, ‘दलित भएर बाँच्नु कति कठिन छ, यहाँ बस भनेर झुप्रो हालिदिए तर यो जग्गा स्कूल को हो । स्कूलले जग्गा खली गर भनेपछि हाम्रो फेरि उठिबास हुन्छ । स्कूलको सहमति नलिई हामीलाई यहाँ जबर्जस्ती बसाइएको छ ।’

नयाँ घर बनाइ दिएका छौँ भन्दै पालिका अध्यक्ष यादवले धामधम्की समेत देखाइरहेको उनले गुनासो पोखिन् । ‘यो ठाउँ वर्षायाममा बाढी बग्ने र तलाउ हुने ठाउँ हो,’ अनिताले भनिन्, ‘लिकाको जेसिभी ल्याएर नदीबाट माटो कोपरेर अग्लो पारिदिए । वर्षायाममा यहाँ बालबच्चा लिएर कसरी बस्नु, यहाँ ठूलो भल आउँछ । हाम्रो यो झुपडी एकै दिनमा बगाउँछ । यस्तो ठाउँमा झुपडी हालेर बस भने छन्।’

गरिवीको चपेटामा परेको पती पालिकामा स्वीपरको काम गर्दै आएको र आफू स्वास्थ्य केन्द्रमा स्वीपरको काम गर्दै आएको उनले बताइन् । ‘पालिका अध्यक्षको कुरा नमान्दा हाम्रो जागिर जान्छ,’ उनले भनिन्, ‘घर भत्कादिन्छौ , पर गएर बस भन्दा हुन्छ मालिक भन्नै पर्यो,’ अनिताका छोरा अर्जुनले भने, ‘के हामी मान्छे होइनौं, हाम्रो घर त्यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो हुन्थ्यो, त्यहाँ अरु जातिहरुको घर भत्काइएन । डोम भएकै कारण हाम्रो घरमा डोजर चल्यो । अछुत भनेर त्यहाँको माटो समेत खनेर फालियो ।’

आमा अनिताको आँशु पुछ्दै ८ वर्षिय आकाश मरिकले रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई सोधे, ‘तपाइँहरुको को हुनुहुन्छ, हाम्रो घर भत्काउन आदेश दिने बाबाजीलाई समातेर जेलमा हालिदिनुहोस्, उसले मेरो घर भत्काइदियो ।’ दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीती र ७ वर्षय छोरा आकाश मरिक सहितको ७ जनाको परिवार छ ।

पालिका अध्यक्ष शिवजी यादवले मरिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे । ‘त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको र चौतर्फी बाउण्ड्री वाल लगाउनु छ । त्यसकारण भत्काएको हो,’ उनले भने, ‘घर भत्काए पनि अर्को स्थानमा पुनर्स्थापना गरिदिएका छौं र क्याम्पस बनाउन यज्ञ आयोजना गरिएको हो । सामाजिक भलाइको काम कै लागि हो ।’ आफूले अछुत भनेर घर नभत्काएको उनको कथन छ । उनले यस घटनालाई मिडियामा नचर्काउन पनि आग्रह गरे ।

त्यसैगरी पूर्व वडाध्यक्ष दिलीप यादवले आफूले घर भत्काए पनि अर्को घर बनाइ दिएकाले यसमा कुनै गल्ती नभएको दावी गरे । पूर्ववडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्ष हुन् ।

औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कवुली पासवानले त्यहाँ ५ घर दास तत्माहरुको घर भएको र उनीहरुको कसैको घर भत्काइएन तर एक घर मरिकको घर मात्र भत्काइएन त्यहाँको माटो समेत खनेर फालिनुले छुवाछुतको कहाली लाग्दो अवस्था देखाएको गुनासो पोखे ।‘ बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किएकोले पनि यो सरासर छुवाछुतको अपराध हो,’ उनले भने, ‘दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गर्छौँ । पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराउँदै घटनाको छानविन गर्न आह्वान गरेका छन् ।

प्रकाशित : ७ चैत २०८१, बिहीबार 12:09
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved