४ जेठ २०८२, आइतबार 18 May 2025, Sunday

विद्युत पोलमा युवा श्रमिक उपेस परियारको ज्यान कसरी गयो ?

द नेप्लिज संवाददाता
३ जेठ २०८२, शनिबार

Advertisement

विराटनगर— काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी चोकमा विद्युत पोलमा शनिबार काम गरिरहेका २८ वर्षीय उपेस परियारको करेन्ट लागेर मृत्यु भएको छ। उनी सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका बासिन्दा थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मीनबहादुर घलेका अनुसार परियार ११ केभी (किलो भोल्ट) हाइटेन्सन लाइनको पोलमा चढेर तार जोड्ने काम गरिरहेका बेला अचानक करेन्ट प्रवाह हुँदा घटनास्थलमै ज्यान गुमाएका थिए। घटनापछि उनी पोलमै झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीद्वारा उद्धार गरी धुलिखेल अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो।

स्थानीयका अनुसार परियारले काम गरिरहेको लाइन नयाँ थियो, जसलाई शनिबार चार्ज (विद्युत प्रवाह) गर्ने तयारी थियो। तर तार जडानको काम नसकिँदै काभ्रे वितरण केन्द्रबाट लाइन चार्ज गरिएको थियो, जसका कारण करेन्ट लागेर परियारको मृत्यु भएको हो। स्थानीयहरूले विद्युत प्राधिकरणको लापरवाहीप्रति आक्रोश व्यक्त गर्दै काम नसकिँदै लाइन चार्ज गर्नु अत्यन्तै गैरजिम्मेवार कदम भएको बताएका छन्।

सुरक्षा मापदण्डको बेवास्ता

नेपाल विद्युत प्राधिकरण  अन्तर्गत काम गर्ने मजदुरहरूलाई उच्च जोखिममा पार्ने घटनाहरू समय–समयमा हुँदै आएका छन्। यसअघि पनि २०८१ माघ २४ मा नवलपुरको गैंडाकोट नगरपालिका–५ मा ३३ वर्षीय आर्यन सिंह ठाकुरीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । त्यस्तै २०८१ जेठ १० मा रुकुमको सल्लेमा फ्युज जडान गर्ने क्रममा फौज बहादुर बुढाथोकीको पनि करेन्ट लागेर ज्यान गएको थियो ।

यी घटनाहरूले विद्युत प्राधिकरणको कार्यप्रणालीमा गम्भीर प्रश्न उठाउँछन्। सुरक्षा मापदण्डको पालना नगर्नु, कामदारहरूको जीवनको सुरक्षामा ध्यान नदिनु र कार्यस्थलमा आवश्यक सावधानी नअपनाउनु जस्ता कारणहरूले यस्ता दुर्घटनाहरू भइरहेका छन्।

धुलिखेलमा भएको यो घटना केवल एक युवा श्रमिकको ज्यान गएको मात्र होइन, यो सम्पूर्ण प्रणालीमा रहेको कमजोरीको संकेत हो। विद्युत प्राधिकरणले आफ्ना कर्मचारीहरूको सुरक्षामा ध्यान दिनु, आवश्यक तालिम र सुरक्षा उपकरणहरू उपलब्ध गराउनु र कार्यस्थलमा सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्नु आवश्यक छ। यस्ता घटनाहरू दोहोरिन नदिनका लागि सम्बन्धित निकायहरूले गम्भीरता देखाउनु आवश्यक छ।
 

#उपेस# परियार

प्रकाशित : ३ जेठ २०८२, शनिबार 18:33
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved