४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति

द नेप्लिज संवाददाता
१९ चैत २०८१, मङ्गलबार

Advertisement

काठमाडौं– अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएको दाबी गर्दै भुटानका राजनीतिक दल तथा संघसंस्थाले आपत्ति जनाएका छन् ।

भुटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल कांग्रेस–प्रजातान्त्रिकका अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई र भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो पक्ष राखेका हुन् ।

करिब दुई दशकअघि विकसित देशहरूले दीर्घकालीन समाधानको लागि नेपालमा शरण लिएका भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास प्रक्रियाका लागि आह्वान गरेको थियो । यसअन्तर्गत कानुनी प्रक्रिया पूरा गरी क्यानाडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, अमेरिका, डेनमार्क र बेलायतमा भुटानी शरणार्थी पुनर्वास हुनेक्रम बढेको छ ।

तीमध्ये अधिकांश भुटानी शरणार्थीले अमेरिकामा पुनर्वास हुने अवसर प्राप्त गरेको छ । केही दिनअघि मात्र अमेरिकामा पुनर्वास भएका मध्ये दश जना भुटानीलाई आपराधिक गतिविधि गरेको आरोपमा देश निकाला गरिएको थियो । उनीहरुलाई चार्टर विमानद्वारा पारो विमानास्थल पु¥याइ भुटान सरकारलाई हस्तान्तरण गरिएको थियो ।

तर अमेरिकी अधिकारी फर्किए लगत्तै भुटानले ती नागरिकलाई मध्यरातमा सरकारी साधनमा राखी भारतीय सीमापार गराएको उनीहरूको आरोप छ । ‘यसरी सीमापार गराइएकामध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगे तर अन्य सात जना सम्पर्कविहीन रहेको हुँदा स्तब्ध र चिन्तित भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

भुटानले संरक्षण गर्ने जिम्मेवारी लिएका नागरिकलाई पुनः देश निकाला गर्ने कार्यले सन १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रको प्रत्यक्ष उल्लघंन भएको र भुटानले वकालत गर्दै आएको कथित लोकतन्त्रको उपहास मात्र होइन, वास्तविकता पनि उदाङ्गो पारेको उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

‘हामी नेपाल र भारत सरकार, मानव अधिकार संगठनहरू, पत्रकार जगत, अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित पक्षहरूलाई यी पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्न सहयोगका लागि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले विश्व समुदायसँग हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीलाई स्वदेशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्न हेतु दीर्घकालीन समाधानको पहल र समर्थनका लागि पनि माग गरेका छन् ।
 

प्रकाशित : १९ चैत २०८१, मङ्गलबार 15:07

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved