विराटनगर– नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापाको कचनकवलबाट सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेर सुरु गरेका हुन् ।
संविधानको रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले भनेका छन् । दाहालले हिजो क्रान्तिको केन्द्र रहेको झापा आज प्रतिक्रान्तिको केन्द्र बन्ने खतरोन्मुख रहेको टिप्पणी गरेका थिए । ‘हिजो क्रान्तिको केन्द्र भएको र आज प्रतिक्रान्तिको केन्द्र हुने खतरा रहेको झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि यहाँको जनतासँग अपिल गर्न आएका छौँ,’ दाहालले भने । झापाबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिनिधित्व गर्छन् । पछिल्लो समय दाहाल उनको कटु आलोचक बनेका छन् ।
दाहालले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र लोकतन्त्र विरोधी शक्तिका रूपमा आलोचना गर्दै आएका छन् । राजसंस्था फर्काउने भन्दै हिँडेका पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पनि झापाबाटै प्रतिनिधित्व गर्छन्। पछिल्लो समय राप्रपाले राजा फर्काउने भन्दै वर्तमान व्यवस्थाका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ । यही परिप्रेक्ष्यमा दाहालले झापा पुगेर क्रान्तिको केन्द्र प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा रहेको भन्दै टिप्पणी गरेको देखिन्छ ।
यस्तै, दाहालले झापा विद्रोहका नेताहरूले पछिल्लो समय क्रान्तिको धार छाडिसकेको अर्को टिप्पणी गरेका छन् । दाहाल बोल्नुअघि झापाका पुराना कम्युनिस्ट नेता वेदनिधि निरौलाले झापा विद्रोहको समय सम्झिएका थिए । उनी आफै त्यसका एक पात्र थिए ।
‘त्यति बेला तपाइँहरू लाग्नु बेठिक भो भन्ने होइन, त्यति बेला तपाइँहरूले क्रान्तिकारी धारको खोजी गर्ने क्रममा नै लाग्नुभएको हो,’ वेदनिधिका कुरालाई सम्बोधन गर्दै दाहालले भने, ‘तर अहिले त्यो धारका नेताहरू वा त्यो संगठनका नेतृत्व चाहिँ अहिले पुँजीवादी धारतिर गइसकेको छ । क्रान्तिको धार छोडिसकेको छ।’ अब हामीले फेरि नयाँ समाजवादी क्रान्तिको निम्ति फेरि नयाँ ढंगले सोच्नुपर्ने बेला भएको दाहालले बताए ।
विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधान तथा अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत सामेल छन् ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares