३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

इन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी

द नेप्लिज संवाददाता
२६ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर– चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा विराटनगरको होराइजन क्रिकेट क्लब र सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विजयी भएको छ । 

विराटनगरको जुट मिल्स खेल मैदानमा भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै होराइजन र भारतको सुपोल क्रिकेट क्लब (मुन)लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा अलआउट हुँदै १४२ रन बनाएको थियो । होराइजनका लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३८ रन बनाए । उनले १४ बलमा ३८ रन बनाउँदा ४ छक्का र ३ चौका प्रहार गरे । कपिल मण्डलले २६ बलमा २७ रन र अमन अलीले १६ बलमा २३ रनको महत्वपूर्ण योगदान दिए । निरज मुखियाले २० बलमा १६ रन र अभिषेक कार्कीले १९ बलमा १३ रन बनाए । आयोजक मिल्स क्रिकेट क्लबका बलरहरूमध्ये मुरली चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिन सफल भए । यसैगरी, प्रशान्त साह र अमर यादवले समान २–२ विकेट हात पारे ।

होराइजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको आयोजक टिमले १५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा सिमित भयो ।  आयोजक टिमका लागि सार्थक धितालले २२ बलमा २५ रन बनाए । यसैगरी, राहुल विकले १५ बलमा २४ रन र सन्तोष चौधरीले ९ बलमा २१ रनको योगदान दिए । पपु यादवले ११ रन बनाउँदा टिमका अन्य ब्याट्सम्यानहरू दोहोरो अंक जोड्न सकेनन् । होराइजनका दिपेश कँडेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित हुँदा नगद तीन हजार प्राप्त गरे । प्रेम कामतले ४ ओभरमा २ रन खर्चेर २ विकेट हात पारे । फिरदोस अन्सारी र अभिषेक कार्कीले समान १–१ विकेट लिए । जितसँगै होराइजनले बिहीबारको पहिलो सेमिफाइलन हाइपर क्रिकेट क्लब पटनासँग खेल्नेछ । 

दोस्रो खेलमा एनबीएससीले सुपौल क्रिकेट क्लब (मुन)लाई ६ विकेटले पराजित गरेको हो । मुनले दिएको १३२ रनको लक्ष्य पछ्याउँदै एनबीएससीले १४ओभर १ बलमा ४ विकेट गुमाएर जित सुनिश्चित गरे । उक्त टिमका पप्पु यादव (बी)ले २९ बलमा अविजित ५२ रन बनाउँदा ५ छक्का र ४ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । एनबीएससीका रोशनले ३३ बलमा ३२ रन र अभिनास करनले अविजित ८ बलमा २० रन बनाए । मुनका बलर गुलसन राजले २ ओभरमा ११ रन खर्चेर २ विकेट र प्रेम कुमारले १ विकेट लिए ।

यसअघि मुनले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । मुनका लागि कमरुद्दिनले २५ रन, प्रेम कुमारले अविजित २४ रन र रिसु कुमारले ९ बलमा २० रन बनाए । बलिङतर्फ एनबीएससीका नितेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रवण यादव, पप्पु यादव, सुमित श्रेष्ठ र सुवास रोयले समान १–१ विकेट लिएका थिए ।

प्रतियोगितामा बुधबारको खेल वाइआरसिस विराटनगर र सिराहा क्रिकेट क्लबबीच हुनेछ । 

प्रकाशित : २६ चैत २०८१, मङ्गलबार 20:03
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved