३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

कोशी क्रिकेट फेस्टिवल सम्पन्न

द नेप्लिज संवाददाता
१५ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउन्डेशनको आयोजनामा, एमसिसि फाउन्डेशन र क्रिकेट विदाउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट फेस्टिवल २०२५ विराटनगर ६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको छ ।

भूइँ तहमा क्रिकेटको विकास र प्रवद्र्धनका साथै विद्यालयस्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा उदीयमान क्रिकेट क्षेत्रका प्रतिभा पहिचान गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको फाउन्डेशनका कार्यक्रम संयोजक मन्दिप साहले बताएका छन् । ‘विद्यालय क्रिकेटलाई सशक्त बनाउन, केटी खेलाडीहरूलाई क्रिकेटमा समान अवसर दिन र युवा खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्ने यो फेस्टिवलको मुख्य लक्ष्य रहेको छ,’ उनले भने, ‘फेस्टिवलमा विराटनगरका ६ वटा विद्यालयका छात्र र त्राछा गरी १२ वटा टोलीले १०/१० ओभरको खेल खेलेका थिए ।’

फेस्टिवलमा आदर्श बालिका, आदर्श मावि, जनपथ मावि, श्री माध्यमिक मावि, विराट बहिरा मावि र सुशिक्षा निकुञ्जका छात्र र छात्राको टिम सहभागी रहेको संयोजक साहले बताए । विद्यालयस्तरीय प्रतियोगिताअन्तर्गत छात्र र छात्रा दुवै तर्फका प्रतियोगिता स१चालन गर्न क्रिकेट विदाउट बाउन्ड्रिजका स्वयंसेवकहरूले उल्लेख्यनीय भूमिका निर्वाह गरेका थिए । 

छात्रतर्फको प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी आदर्श माविका एमडी अनिश, सर्वश्रेष्ठ ब्याटर विराट बहिरा माविका ओमप्रकाश मण्डल, सर्वश्रेष्ठ बलर आदर्श माविका मानस सरदार, र सर्वश्रेष्ठ विकेटकिपरको उपाधी विराट बहिरा माविका उज्ज्वल लिम्बुले जितेका छन् । छात्रातर्फको प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी विराट बहिरा माविका लोचना बोगटी, सर्वश्रेष्ठ ब्याटर आदर्श माविका शकुन्तला सहनी, सर्वश्रेष्ठ बलर आदर्श बालिका विद्यालयका सम्झना सहनी र सर्वश्रेष्ठ विकेटकिपरको उपाधी विराट बहिरा माविका फुलमाया तामाङले जितिन् ।

नेपाल क्रिकेट फाउन्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठ र बोर्ड सदस्य स्नेहा गुभाजु र क्रिकेट विदाउट बाउन्ड्रिजका सारा बेगले छात्र र छात्रातर्फको उपविजेता टिम विराट बाहिरा माविलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् । कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डे र क्रिकेट विदाउट बाउन्ड्रिजकी सारा बेगले छात्रतर्फको विजेता टिम आदर्श मावि र छात्रातर्फको टिम आदर्श बालिका माविलाई ट्रफी प्रदान गरेका हुन् । 

यसैबीच, नेपाल क्रिकेट फाउन्डेशनले कोशी प्रदेश क्रिकेट संघ र क्रिकेट विदाउट बाउन्डरीजको सहकार्यमा दुई दिने आईसीसी फाउन्डेशन कोचिङ कोर्स तथा पोजिटिभ युथ डेभलपमेन्ट कोर्ससमेत सञ्चालन गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूलाई कोचिङमार्फत क्रिकेट खेल्ने सीप सिकाएर भुइँ तहका क्रिकेटलाई सशक्त बनाउने उद्देश्यका साथ सञ्चालन गरेको कार्यक्रम संयोजक साहले बताए ।

‘तल्लो तहमा क्रिेकेट खेललाई मजबुत बनाउन, दक्ष प्रशिक्षकहरू विकास गरेर युवा क्रिकेट खेलाडीहरूको सही मार्गदर्शन सुनिश्चित गर्न, कोशी प्रदेशमा कोचिङको गुणस्तरलाई अभिवृद्धि गर्न यो कार्यक्रम सम्पन्न गरिएको हो,’ उनले भने, ‘यसले प्रदेशमा दिगो क्रिकेट प्रणाली निर्माण गर्न मद्दत पुर्याउँदै नेपालको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिनेछ ।’

क्रिकेट विदाउट बाउन्डरीजसँग आबद्ध आईसीसी मास्टर ट्यूटर, सारा बेगले कोचिङ सञ्चालन गरिन् । कोचिङमा झापा, उदयपुर, खोटाङ, मोरङ, पाँचथर, इलाम, र सुनसरीका २१ जनाको सहभागिता रहेको थियो । सिमा राई, सृजना राजबंशी, र प्रतिभा मण्डलले क्रिकेट फर इक्वालिटी परियोजनाबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । उनीहरुको सहभागिताले क्रिकेट कोचिङ समावेशी भएको उनले सुनाए । नेतृत्व, टिम निर्माण, र खेलकुदको माध्यमबाट अनुशासित र सकारात्मक सोचका युवा जनशक्ति विकास गर्न कोचिङ सार्थक भएको साहको भनाइ थियो । आईसीसी फाउन्डेसन कोचिङ् कोर्स र पोजिटिभ युथ डेभलपमेन्ट कोर्सका सहभागीहरुलाई सारा बेगले प्रमाण पत्र प्रदान गरिन् । 

प्रकाशित : १५ फागुन २०८१, बिहीबार 18:52
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved