विराटनगर– बालबिज्याइँकर्ता (बालबन्दी) हरूका बीच आपसमा कुटपिट भएपछि शुक्रबार रातिदेखि बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयन्दु बाल सुधार गृह तनावग्रस्त छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार ६ बालबन्दीहरू घाइते भएका छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये तीन जना कर्तव्य ज्यान र तीन जना बलात्कार मुद्दामा अदालतबाट सजाय पाएकाहरू रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार झडपपछि सुधार गृहकाका दुई फरार छन् । उक्त घटना पछि नियन्त्रणका लागि शनिबार बिहान गएका प्रहरीमाथि समेत इँटा प्रहार भएको थियो । तीन प्रहरी पनि घाइते छन् ।
बाल सुधार गृहमा बर्दीमा प्रहरी राख्न नमिल्ने व्यवस्था छ । बालबालिका राखिएकाले त्यहाँ खटिँदा हतियार पनि बोक्न नपाइने प्रावधान छ । यसैको फाइदा उठाएर देशभरका सुधार गृहभित्र अराजक गतिविधि हुने गरेको सुरक्षा सम्बद्ध अधिकृतहरू बताउँछन् ।
आपसमा अचानक कुटाकुट भए पछि त्यहाँ रहेका १२ जना प्रहरीले पनि भागेर ज्यान जोगाएका थिए । झडप के कारणले सुरू भएको थियो भन्ने समेत जानकारी नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवाद र झैझगडाका लागि उनीहरूलाई खासै कारण नै चाहिँदैन । कर्तव्य ज्यान, बलात्कार र लागूऔषध कारोबार लगायतको मुद्दामा सजाय भोगिरहेका उनीहरूका बीचमा सामान्य विषयमा झैझगडा र विवाद भइरहने गरेको प्रहरीहरु भन्छन् ।
उक्त सुधार गृहमा २ सय ५० बालबन्दी छन् । सुधार गृहमा आगो लगाएर उनीहरू छतमा संगठित भएर बसेको प्रहरीले जनाएको छ । सुधार गृहबाट धुँवाको मुस्लो निस्किएको छ । बालबन्दीहरू रेलिङ भत्काएर प्रहरीलाई इँटा प्रहार गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुका अनुसार आगो नियन्त्रणको लागि दमकल ल्याएर राखिएको भए पनि बालबन्दीहरूको इँटा प्रहारका कारण अघि बढ्न सक्ने अवस्था छैन ।
बालबिज्याइँ मुद्दामा अदालतबाट सजाय पाएकाहरूलाई १८ वर्ष उमेरपछि पनि कारागार चलान नगर्दा बाल सुधार गृहमा हरेक वर्ष झडप हुँदै आएको छ । जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरूका बीच गतवर्ष असोज ४ मा झडप हुँदा एक जनाको मृत्यु समेत भएको थियो । यो वर्ष पनि झडप भइ नै रहेको छ । बालकहरू भएकोले बल प्रयोग गरेर अवस्था नियन्त्रण गर्न समस्या रहेको प्रहरीले भनेको छ ।
यसै बीच स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीभित्र प्रवेश गरी थप १५ घाइतेलाई उपचारका लागि अस्पताल लगेको छ । बालबन्दीले शनिबार बिहान आफू बस्ने भवनमा आगो लगाएपछि छतमा बसेका थिए । आगो निभाउन गएको दमकललाई पनि उनीहरूले भित्र प्रवेश गर्न दिएका थिएनन् । उनीहरूले रेलिङ भत्काएर, ढुंगा र इँटाहरूले घरको छतबाट प्रहरीमाथि आक्रमण गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले आफै माइकिङ गरी शान्त बस्न र केही समस्या भए राख्न आग्रह गर्दा पनि बालबन्दीहरू शान्त भएका थिएनन् ।
बालबन्दीहरूको आक्रमणबाट तीन जना पत्रकार पनि सामान्य घाइते भएका छन् । प्रहरी भवनभित्र प्रवेश गरी छतमा बसेका बालबन्दीहरूलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको छ । प्रहरीका अनुसार घाइते वा अस्पताल पुर्याउनुपर्ने बालबन्दीको संख्या बढ्न सक्छ । प्रहरी भित्र प्रवेश गरेर स्थितिलाई लगभग नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार अब एउटा बन्द कोठामा भित्रबाट कोठा थुनेर बसेका १५ बालबन्दीहरू निकाल्न बाँकी छ ।
सुर्खेतबाट साता अघि ल्याइएकाहरूमाथि जयन्दु बाल सुधार गृहमा बस्दै आएकाहरूले गएराति कुटपिट र आक्रमण गरेका थिए । बाल सुधार गृहमा हतियार बिनाका साधा पोशाकका १२ जना प्रहरी मात्रै थिए । उनीहरूभित्र प्रवेश गर्न पाउने अधिकार नभएको हुँदा रातभर उनीहरूले केही गर्न सक्ने अवस्था थिएन । प्रहरी राति पुगे पनि बालसुधार गृहमा प्रवेश गर्न सकेको थिएन । कुटपिटबाट घाइते भएका ६ जनालाई बाल सुधार गृहका चौकीदारले गेटसम्म ल्याइदिएपछि प्रहरीले अस्पताल पुर्याएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालबन्दीको दुई समूहबीच होली मनाउने विषयमा शुक्रबार दिउँसो झडप भएको थियो । राति सुतेको बेला अर्को पक्षको खुकुरी प्रहारबाट बाल सुधार गृहका छ जना बालबालिका र तीन जना प्रहरी घाइते भएका थिए । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
रातिदेखि अशान्त बाल सुधार गृहमा शनिबार बिहान बालबन्दीहरुले तोडफोड गरे । त्यस पछि बालबन्दी बाहिर निस्केर सुधार गृह आसपासका पसलमा समेत तोडफोड र लुटपाट गरे । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक किलोमिटरसम्म लखेेटेका थिए ।
प्रहरीका अनुसार २५५ बालबन्दी सामु बिना हतियारका १२ जना सुरक्षाकर्मी टिक्न संभव थिएन । ज्यान जोगाउन भाग्नुपर्यो । पसलमा तोडफोड र लुटपाटपछि प्रहरीलाई लेखेटेको समूह पुनः सुधार गृहभित्र पसेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरूले आफैँ आगजनी गरेका थिए ।
प्रहरीकै आँखा अगाडि गाउँबस्तीमा लुटपाट हुन थालेपछि स्थानीयहरु त्रसित छन्। उनीहरुले यहाँबाट सुधार गृह हटाउनुपर्ने समेत माग गरेका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares