६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

नेविसंघकाे आधिकारिक्ता विवादले महेन्द्र माेरङ क्याम्पसमा तालाबन्दी

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी गरी तालाबन्दी गरिएको छ । स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई समूहले छुट्टाछुट्टै मनोनयन दर्ता गरेपछि विवाद चुलिएको हो । 

महेन्द्र मोरङ क्याम्पसको स्ववियू निर्वाचनमा कांग्रेस नेता शेखर कोइराला समूहको नै दुई नेता विभाजित भएपछि विवादले उग्ररूप लिँदै गएको छ । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूको भनाइ अनुसार कोइराला पक्षका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइराला दुई समूहमा बाँडिएकाले विद्यार्थीबीच विवाद बढेको हो ।

कार्की अर्थात् शेखर कोइराला समूहबाट योगराज दाहाल प्यानल र संस्थापन तथा उपसभापति कोइरालाको समर्थन रहेको प्रज्वलजंग विष्टको प्यानलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएको छ । संस्थापन अर्थात उपसभापति कोइराला पक्षलाई नेविसंघ केन्द्रीय कार्यालयले आधिकारिक्ता दिएपछि कोइराला अर्थात् कार्की पक्षको समूहलाई निर्वाचन समितिले स्वतन्त्रबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा आगजनी गर्दै तालाबन्दी गरेका हुन् ।

नेविसंघका मोरङ सभापति सरोज पोखरेलले निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयको फर्जी लेटरप्याड प्रयोग गरी बनाइएको आधिकारिताका पत्रको आधारमा मध्यरातमा स्वतन्त्र उल्लेख गरी नामावली प्रकाशन गरिदिएकोले विवाद बढेको बताए । ‘हाम्रो आधिकारिकतालाई चुनैती दिएकाले तालाबन्दी गरेका हौँ,’ उनले भने ।

कांग्रेस उपसभापति तथा महानगर प्रमुख कोइरालाले आफूलाई विद्यार्थी राजनीतिसँग कुनै सरनेकार नभएकोले यो विषयमा अनुचित र अनावश्यक विवाद झिक्नुको कुनै अ‍ौचित्य नभएको बताए । उनले आफूहरूबीच कुनै किसिमको विवाद नभएकोले विद्यार्थीहरूलाई यस्तो अफवाहको पछि नलाग्न आग्रह गरे । कोइरालाले मोरङ जिल्लाभरिका क्याम्पसहरूमा नेविसंघको आधिकारिक उम्मेदवारलाई पार्टीले सहयोग गर्ने स्पष्ट पारेका हुन् ।

पूर्वमुख्यमन्त्री कार्कीले विद्यार्थीबीचको विवादलाई नेतासँग जोड्न नमिल्ने बताए । कार्कीले संस्थापन र इत्तर पक्ष भएको अवस्थामा अन्तरपार्टी संघर्ष हुनु स्वभाविक भएको बताए । उनले निर्वाचन समितिलाई कुनै पक्ष प्रभावमा नलागी स्वतन्त्र पूर्वक निष्पक्ष निर्वाचन गराउन आग्रह गरे ।

मोरङ क्याम्पसमा यसअघि इकाइ गठनको विषयमा विवाद भएपछि नेविसंघका दुई समूहले एकआपसमा कुटाकुट गरेका थिए ।‌

नेविसंघको महेन्द्र मोरङको घटनापछि संस्थापन पक्षले जिल्ला सभापतिमा मोहम्मद तनवीरलाई चयन गरिएको केही दिनअघि घोषणा गरेको थियो ।

विराटनगरको नर्सिङ क्याम्पसमा नेविसंघकी सुजिता खत्रीले सभापतिमा उमेदवारी दिएकी छन् । त्यहाँ अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले आ–आफ्ना उमेदवार उठाएका छन् । नेविसंघ केन्द्रीय सदस्य एरिका ढकालले तोकिएको केन्द्रीय प्रतिनिधिको रोहबरमा मनोनयन दर्ता गरिएको बताइन् ।
‘केन्द्रले नतोकी मनोनयन दर्ता गराउनेलाई स्वतन्त्र मानेर नामावली प्रकाशन भएको हो,’ उनले भनिन् । विराटनगरको स्नातकोत्तर क्याम्पसमा पनि निर्वाचन समितिको कार्यालयमा विवादपछि अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

प्रकाशित : २८ फागुन २०८१, बुधबार 15:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved