विराटनगर– विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले आगामी पाँच वर्षभित्र पृथ्वीको औसत तापक्रम १.९ डिग्री सेल्सियससम्म बढ्ने प्रबल सम्भावना औंल्याएको छ । यो पूर्वानुमान सन् १८५० देखि १९०० सम्मको औसत तापक्रमको तुलनामा गरिएको हो ।
डब्ल्यूएमओद्वारा बुधबार सार्वजनिक गरिएको रिपोर्ट अनुसार सन् २०२५ देखि २०२९ सम्मको अवधिमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष ठहरिएको सन् २०२४लाई समेत पार गर्ने ८० प्रतिशत सम्भावना छ । त्यस्तै कम्तीमा एक वर्षमा तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ८६ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
संगठनले पाँच वर्षको औसत तापमान नै १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत रहेको बताएको छ । यो अघिल्लो वर्षको रिपोर्टभन्दा २६ प्रतिशतले बढी हो ।
रिपोर्टमा भनिएको छ, ‘प्रत्येक वर्ष तापमानमा थोरै भए पनि वृद्धि हुनु नै खतराको संकेत हो ।’ वैज्ञानिकहरुका अनुसार यस्तो वृद्धिले गर्मीको लहर, अत्यधिक वर्षा, खडेरी, हिमनदी पग्लन र समुद्री सतह वृद्धि जस्ता चरम मौसमी घटना थप उग्र बनाउँछ ।
विशेषगरी आर्कटिक क्षेत्रमा तापमान वृद्धि विश्व औसतको तुलनामा ३.५ गुणासम्म हुने सम्भावना रहेको छ । यसले समुद्री बरफ पग्लाइलाई तीव्र बनाउँदै समुद्री सतह बढाउने खतरा निम्त्याउने डब्ल्यूएमओको चेतावनी छ ।
सन् २०२५ देखि २०२९ को अवधिमा बारेन्ट्स सागर, बेरिङ सागर र ओखोत्स्क सागर क्षेत्रमा समुद्री बरफको मात्रा घट्ने उल्लेख गरिएको छ । अमेजन क्षेत्रमा गम्भीर खडेरी आउने सम्भावना उच्च रहेको छ भने दक्षिण एशिया र उत्तरी युरोपमा औसतभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
नेपालमा प्रभाव कस्तो ?
डब्ल्यूएमओको रिपोर्टमा नेपाललाई पृथक रूपमा उल्लेख नगरिए पनि दक्षिण एशियाका लागि गरिएको विश्लेषण नेपालमा पनि लागू हुने विज्ञहरू बताउँछन् । विगत केही वर्ष यता नेपालमा औसतभन्दा बढी वर्षा भइरहेको छ, जुन सन् २०२५–२०२९ को अवधिमा पनि दोहोरिन सक्ने सम्भावना रहेको छ ।
हिमाली मुलुक नेपालमा तापमान वृद्धिको असरले हिमनदीहरू पग्लने, बाढीपहिरोको जोखिम बढ्ने, कृषि उत्पादनमा गिरावट आउने, जलस्रोत अस्थिर बन्ने र जैविक विविधतामा क्षति पुर्याउने खतरा रहेको छ । इसिमोडको एक रिपोर्ट अनुसार तापक्रम यस्तै बढिरहेमा नेपाल र भुटानले हिमालय क्षेत्रको ७५ देखि ८० प्रतिशतसम्म बरफ गुमाउने छन् ।
गरिब, श्रमिक र वृद्ध बढी प्रभावित
डब्ल्यूएमओले जलवायु परिवर्तनको असर सबैमा समान नपर्ने उल्लेख गरेको छ । शीतल ठाउँमा बस्न नपाउने गरिब, मजदुर, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिहरू बढी प्रभावित हुने उल्लेख छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार संसारभरका झन्डै ७० प्रतिशत शारीरिक श्रमिक अत्यधिक गर्मीको जोखिममा छन् । अफ्रिका, अरब, एसिया र प्रशान्त क्षेत्रमा यो संख्या अझै बढी छ ।
निर्णायक वर्ष : सन् २०२५
डब्ल्यूएमओका अनुसार सन् २०२५ जलवायु कार्यका लागि निर्णायक वर्ष हो । पेरिस सम्झौतामा उल्लेख गरिएअनुसार विश्वको तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्न प्रत्येक देशले थप प्रयास गर्नु पर्नेछ ।
त्यसका लागि जीवाश्म इन्धनको प्रयोग कटौती, नवीकरणीय ऊर्जाको प्रवद्र्धन, पूर्वतयारी तथा दीर्घकालीन अनुकूलन रणनीतिमा लगानी अपरिहार्य भएको डब्ल्यूएमओले स्पष्ट पारेको छ ।
समाचार
दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददातारेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares