२७ वैशाख २०८२, शनिबार 10 May 2025, Saturday

बारुदको साटो संवाद र कट्टरताको साटो करुणाको मार्ग

जितेन्द्र साह
२५ वैशाख २०८२, बिहीबार

Advertisement

मोरङ–  विराटनगरको हाटखोला चोकस्थित गीता मन्दिरमा बुधबार दिउँसो भेटिएका एक मित्रले जब भारतले पाकिस्तानमाथि आक्रमण गरेको भनाइ राखे, मैले मुस्कानसाथ भनेँ, ‘भारतले आक्रमण गरेको होइन, जवाफ दिएको हो।’ मेरा ती शब्दले मित्रलाई केही छक्क पार्यो । तर यथार्थ के हो भने अप्रिल २२ मा भारतको पहलगामस्थित पर्यटकीय क्षेत्रमा हिन्दु श्रद्धालुमाथि भएको आतंकवादी आक्रमणले भारतमात्र होइन, सम्पूर्ण विश्व हिन्दु समाजको मन रोएको छ।

बुटवलका सुदीप न्यौपानेसहित २८ जना निहत्था पर्यटकहरुको आतंककारीको गोलीबाट ज्यान जानु कुनै सानो घटना होइन। यसले एकपटक फेरि देखायो—आतंकवादले धर्म, भूगोल वा देश हेर्दैन। पाकिस्तान समर्थित आतंकी समूहहरुले भारतलाई जिस्क्याउने, अस्थिर बनाउने र धार्मिक विभाजनलाई चर्काउने रणनीति पछिल्लो दशकभरि दोहोर्याउँदै आएका छन्। भारतले यसपटक ढिलो प्रतिक्रिया दियो—तर कूटनीतिक संयमता र रणनीतिक धैर्यको कारणले, कमजोरीले गर्दा होइन।

यसबीच भारतले कश्मीर विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा समाधान गर्ने बाटो रोजेको देखिन्छ। पाकिस्तान भने कूटनीतिक वार्ता र प्रमाणमा भन्दा पनि भावनात्मक उथलपुथल, धार्मिक उन्माद र आतंकको सहारामा अडिएको देखिन्छ। उसले कश्मीरमा इस्लामको नाममा आतंक फैलाउने कार्यलाई निरन्तरता दिएको छ, जसले कश्मीरको स्थानीय जनजीवनमा भय, अस्थिरता र अराजकता मात्र फैलाएको छ। यस्तो कृत्यले इस्लामको मूल मर्मलाई पनि कलंकित बनाएको छ।

पाकिस्तानमा मौलाउँदै गइरहेको आतंकवाद केवल भारतविरुद्धको रणनीति होइन—त्यो पाकिस्तान आफैँलाई समूल नाशतिर लैजाने मार्ग पनि हो। बंगलादेश, अफगानिस्तान र पाकिस्तानका अनेक भागमा आतंकवादी गतिविधिले धार्मिक, सामाजिक र राजनीतिक संरचनामा क्षति पुर्याएको छ। कुरानका साँचो अनुयायीहरु पाकिस्तानलाई अब ‘आतंकको कारखाना’ भन्न थालेका छन्। पाकिस्तानको गरिबी, शिक्षा अभाव, बेरोजगारी र भ्रष्टाचारको मूल जरो पनि यही अतिवाद हो, जुन उसकै संरक्षणमा बढिरहेको छ।

भारत–पाकिस्तान सम्बन्ध सधैँ सीमा नियन्त्रण रेखा, एलओसी (लाइन अफ कन्ट्रोल) वरिपरि अड्किएको छ। दुवै देशले आआफ्नो हिसाबले कश्मीरलाई ‘आफ्नो’ भनी दाबी गर्छन्। भारत ऐतिहासिक दस्तावेज, संवैधानिक विधि र कूटनीतिक आधारमा कुरा राख्छ भने पाकिस्तान भावनात्मक नाराका भरमा उत्रिन्छ। यसकारण समाधान युद्ध होइन—यथार्थवादी संवाद हो। तर दुर्भाग्य, पाकिस्तान संवादको टेबुलभन्दा बन्दुक र बारुदको गन्ध चिनेको देखिन्छ।

सीमामा बस्ने नागरिक, चाहे उनी भारतीय हुन् वा पाकिस्तानी, दुवै युद्ध चाँहदैनन्। युद्धले ल्याउने पीडा, विस्थापन र मानव क्षति तिनैले भोग्नुपर्छ। पाकिस्तानका आमनागरिकले आफ्नै सरकारको युद्धमुखी नीति र अतिवाद प्रवर्द्धनको लगातार विरोध गरिरहेका छन्। तर सत्ताको शिखरमा बसेका शासकहरु अझै पनि युद्धको सपना देखिरहेका छन्—सायद सत्ता जोगाउने एक सस्तो उपायको रुपमा।

आज भारत विश्वकै एक उदीयमान आर्थिक शक्ति हो। उसले जिम्मेवार लोकतन्त्रका आधारमा कदम चाल्नु पर्ने हुन्छ। पाकिस्तान भने आतंकवादको आडमा राष्ट्रियताको भावना जागरित गराउन भनौँ वा युद्धको रेटोरिकमा फस्ने देश बनेको छ। यी दुई चरम मानसिकताको भिडन्तमा सबैभन्दा ठूलो क्षति हुने भनेको क्षेत्रीय स्थायित्व, नागरिक सुरक्षाको अनुभूति र मानवतावाद नै हो।

यस सन्दर्भमा नेपालजस्ता छिमेकी मुलुकहरुले पनि संयम, संवाद र शान्तिपूर्ण समाधानको पक्षमा आवाज उठाउनु आवश्यक छ। किनभने दक्षिण एसियाको स्थायित्व कुनै एक देशको मात्र नभइ सम्पूर्ण क्षेत्रको साझा आवश्यकता हो।

हामी सबैको चाहना हो—बच्चाहरु युद्धको आवाज होइन, विद्यालयको घण्टी सुनेर बिउँझून्, नागरिकहरु चिया–कफीको कप साथ समाचार पढून्, गोलीको डरमा ओछ्यानमा लुकेर होइन। यही सपना साकार पार्न दक्षिण एसियाका मुलुकहरुले आतंकको साटो विश्वास, बारुदको साटो संवाद र कट्टरताको साटो करुणाको मार्ग रोज्नुपर्छ।
 

प्रकाशित : २५ वैशाख २०८२, बिहीबार 07:20
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved