५ वैशाख २०८२, शुक्रबार 18 Apr 2025, Friday

श्रीमतीको साटो श्रीमानले पद तथा गोपनीयताको शपथ लिए पछि...

२३ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– भारतको छत्तिसगढको कबिरधाम जिल्लाको परसवारा गाउँमा चुनाव जितेर आएका ६ महिला पञ्चायत सदस्य (पञ्च) को सट्टामा उनीहरुका श्रीमानलाई पद तथा गोपनीयताको शपथ गराउने पञ्चायत सचिवलाई निलम्बन गरिएको छ । यो पञ्चायत जिल्ला सदरमुकामदेखि ३५ किमी मात्र टाढा छ ।

पञ्चायतमा यस खाले शपथको प्रावधान नरहेकोले यस बारेमा कलेक्टरसँग पूर्ण रिपोर्ट मागेको छत्तिसगढको पञ्चायत एवं ग्रामीण विकास प्रमुख सचिव निहारिका बारिकले बीबीसीलाई बताएकी छन । कबिरधाम जिल्ला पञ्चायतका मुख्य कार्यपालन अधिकारी अजयकुमार त्रिपाठीले यस सम्बन्धमा सार्वजनिक भिडियो अनुसार पहिलो नजरमै सचिव दोषी देखिएकाले निलम्बन गरिएको हो ।

भारतको सर्वोच्च अदालतद्वारा गठित समितिले गत साता मात्रै पञ्चायतमा निर्वाचित महिलाको ठाउँमा उनीहरुका श्रीमान वा आफन्तको भूमिका समाप्त गर्नुपर्ने सम्बन्धमा रिपोर्ट पेस गरेको छ  । भारतको सर्वोच्च अदालतले ६ जुलाई २०२३ मा ‘पञ्च पती’ र ‘प्रधान पती’ जस्तो व्यवस्थामा रोक लगाउन आदेश दिएको थियो । समितिले पनि महिला जनप्रतिनिधिको साटो श्रीमान वा अन्य आफन्तलाई काम गरेको पाइएमा कठोर दण्डको सुझाव दिएको छ ।

गत महिनामात्र छत्तिसगढ राज्यमा पञ्चायत चुनाव सम्पन्न भएको छ । यो राज्यमा सन २००८ देखि पञ्चायतमा महिलाका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था छ । यो प्रावधानले राज्यमा ठूलो संख्यामा महिला निर्वाचित भएका छन् । यस पछि पंचायत विभागको आदेशमा राज्यभरि ३ मार्चमा गरिएको ग्राम पञ्चायतको प्रथम विशेष सम्मेलनमा नवनिर्वाचित सदस्य र सरपञ्च (पालिका प्रमुख) को पदभार सुम्पिएको थियो । परसवारामा पञ्चायत कार्यालयमा पनि ६ महिला सहित १२ निर्वाचित सदस्यले पदभार ग्रहण गर्नुपर्ने कार्यक्रम थियो । तर यस कार्यक्रमको भाइरल भिडियोमा एक जना पनि महिला जनप्रतिनिधि नदेखिए पछि विवाद सुरु भयो ।

निर्वाचित महिला पञ्चको ठाउँमा उनीहरुका श्रीमान माला र अबिर लगाएका देखिएका थिए । सुरुवातमा यो विवादबाट जिल्ला पञ्चायतका अधिकारीहरु उम्किन खोजेका थिए । तर राजधानी सम्मै कुरा पुगे पछि सरकारले पूरा मामिलाको जाँचको आदेश दियो । लगतै बुधबार पञ्चायतका सचिव रणवीर सिंह ठाकुरलाई निलम्बित गरियो । उनले आफूले यस्तो नगरेको दाबी गरेका छन् । ‘हामीले महिला पञ्चका श्रीमानलाई शपथ गराएका छैनौँ , कसले र के भिडियो बनायो बारेमा थाहा छैन,’ उनले भने ।

परसवारा पंचायतका नवनिर्वाचित सरपंच (गाउँपालिका प्रमुख) रतन चंद्रवंशीले महिला अधिकारीको हनन भएको स्वीकार्दै महिला पञ्चहरुलाई ८ मार्च (शनिबार) शपथ गराउने बताए । भारतमा ग्रामपञ्चायतदेखि संसद सम्म निर्वाचित महिलाको आडमा श्रीमान, छोरा वा परिवारका अन्य सदस्यले राजनीति गर्दै आएको पटकपटक खुलासा भएको छ ।
यो गतिविधिमा लगाम लगाउन भारतको सर्वोेच्च अदालतका ६ जुलाई २०२३ को आदेशमा पञ्चायती राज्य मन्त्रालयले १९ सेप्टेम्बरमा एक समिति बनाएको थियो । यस ‘प्रक्सी’ व्यवस्था माथि सुझाव दिनु समितिको उद्देश्य थियो । यो समितिले गत साता ‘पंचायती राज प्रणाली र संस्थाहरुमा महिलाको प्रतिनिधित्व र भूमिका परिवर्तन : प्रॉक्सी भागीदारी प्रयासको समापन’ विषयमा सरकारलाई रिपोर्ट बुझाइ सकेको छ ।

यो रिपोर्टमा महिला जनप्रतिनिधिको आडमा श्रीमान वा कुनै अन्य पुरुष आफन्तले काम गरिरहेको पाइएमा कठोर दण्डको सुझाव दिएको छ । साथै राम्रो काम गर्नेलाई पुरस्कारको पनि सिफारिस गरेको छ । समितिको अनुसार आफ्नो भूमिका र जिम्मेबारीलाई प्रभावकारी ढंगले निर्वाह गर्ने सम्बन्धमा पर्याप्त जानकारी एवं अनुभवको कमीले महिलाहरु घरकै पुरुषको टालाटुली बाटुली बनिरहेका छन् । 

महिला जनप्रतिनिधिसँग हुने विभेदको पनि समितिले उजागर गरेको छ । उ बेलादेखिको पितृसत्तात्मक मानसिकता र कठोर सामाजिक–सांस्कृतिक मापदण्डले पुरुष हाबी भइरहेको समितिले भनेको छ ।  सामाजिक–सांस्कृतिक शिष्टाचार भन्दै महिलालाई पुरुषको सभामा बोल्नबाट समेत रोकिने गरिएको र यो प्रवृत्ति पंचायत एवं ग्रामसभाको बैठकमा समेत देखिएको समितिले भनेको छ । 

समितिको रिपोर्ट अनुसार सामाजिक–सांस्कृतिक कारण, शिक्षा र अनुभवको कमीले महिलाले स्वतन्त्र रुपमा वित्तिय निर्णय लिनमा संकोच मान्छन् । यसको लागि उनीहरु श्रीमान वा अन्य पुरुष नातेदारको भर पर्छन् । ‘यीनै कारणले स्वतंत्र मानसिकता विकसित गर्न र  स्वतंत्र कारवाहीमा केही हद सम्म स्वायत्तता प्राप्त गर्नमा अवरोध उत्पन्न हुन्छ,’रिपोर्टले भनेको छ ।
 

प्रकाशित : २३ फागुन २०८१, शुक्रबार 14:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved